आइपिएलस् फाइनल प्रवेशका लागि चेन्नई र दिल्ली भिड्दै

इन्डियन प्रिमियर लिग (आइपिएल) को जारी संस्करणमा आजबाट प्ले अफ चरणका खेल सुरु हुँदै छन् । जहाँ पहिलो क्वालिफायर भिडन्त अर्थात् फाइनल प्रवेशको पहिलो भिडन्तमा चेन्नई सुपर किङ्सले साविक फाइनलिस्ट दिल्ली क्यापिटल्सको सामना गर्नेछ ।

यो भिडन्तमा जित्ने टोलीले फाइनलमा स्थान बनाउँदा पराजित टोलीले अर्को एक मौका पाउनेछ । इलिमिनेटर चरणमा बेङलोर र कोलकाताबीचको विजेतासँग आज पराजित टोलीले फाइनल प्रवेशका लागि पुनः प्रतिस्पर्धा गर्ने पाउनेछ ।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले लिग चरणमा दिल्लीसँग पराजित भएको थियो । लिग चरणका पछिल्ला तीन खेलमा चेन्नई राजस्थान, दिल्ली र पञ्जावसँग पराजित भएको थियो । दिल्लीसँग भने चेन्नई पछिल्लो चार खेलमा लगातार पराजित छ ।

जारी सिजनमा दिल्ली राम्रो फर्ममा रहेको छ। यद्यपि अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेङलोरसँग दिल्ली पराजित भएको थियो। दिल्लीले मार्कस स्टोइनिसको फिटनेसमा अझै पनि सस्पेन्स कायमै छ । यद्यपि उनी फिट भएमा भने टोलीमा रहनेछन् । यस्तो अवस्थामा उनले रिपल पटेलको स्थानमा प्लेइङ ११ मा स्थान बनाउनेछन् ।

चेन्नईका लागि भने जारी सिजन सुरेश रैना फ्लप सावित भएका छन्। चेन्नईले उनको स्थानमा पछिल्ला दुई खेलमा रोबिन उथप्पालाई मैदानमा उतारेको थियो। यद्यपि उनी पनि प्रभावकारी भएनन् । फाइनल प्रवेशको महत्वपूर्ण स्पर्धामा कुन टोलीले कस्तो प्रदर्शन गर्छन् त्यो भने प्रतीक्षाको विषय बनेको छ ।

तपाईको प्रतिक्रिया