मिल्ने साथी थिए परिवारले विहे गरिदिए

पार्वती लामिछाने / विन्दुलाल रेग्मी

भनिन्छ नी, जन्म, मृत्यु र विहे व्यक्तिले चाहेर हुँदैन । अर्थात यी तीन विषय व्यक्ति आफ्नो नियन्त्रणमा हुँदैनन् । चाहेको मान्छेसँग विहे नहुन सक्छ । अथवा चिनजान नै नभएको मान्छेसँग जीवन विताउने गरी विहे गर्नुपर्ने अवस्था पनि आउन सक्छ । तर कतिपय अवस्थामा भने क्याम्पसमा पढ् दा साथीको रुपमा मात्र रहेकाहरु आफन्तको प्रयासमा विहे गर्न पनि सक्छन् । यस्तै भयो सुर्खेतका विन्दुलाल रेग्मी र सल्यानकी पावर्ती लामिछानेको पनि । जो क्याम्पसमा मिल्ने साथी थिए । आफन्तले विहे गराइदिए । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको शारासं :

क्याम्पसमा पढ्दा भेट

विन्दुलाल रेग्मी आईएड पढ्न भन्दै साविकको साटाखानी गाविस वडा नम्बर ४ बाट वीरेन्द्रनगरमा रहेको शिक्षा क्याम्पसमा आए । उनी आफ्नो पढाइलाई निरन्तरता दिइरहेका थिए । पार्वती लामिछाने पनि सल्यानबाट शिक्षा क्याम्पसमा नै आईएड पढ्न भन्दै आएकी थिइन् । संयोगले उनीहरु दुबै जनाको कक्षा एउटै भयो । उनीहरुबिच शुरुको दिनमा परिचय मात्र भयो ।

त्यो परिचय भएको दिन क्याम्पस गएको दोस्रो दिन थियो । शुरुमा विन्दुलालले नै बोलाएका थिए । उनीहरु साथीको रुपमा व्यवहार गर्थे । पढाइको कु्रा मात्र नभएर उनीहरु दुबैजना विद्यार्थी राजनीतिमा समेत सक्रिय भए । उतिबेला विद्यार्थी राजनीतिमा सक्रिए भइरहँदा समेत उनीहरु दुबैजना केही न केही पदमा रहन्थे । सांगठनिक र शैक्षिक रुपमा एकअर्काबिचमा सहकार्य भइरहन्थ्यो । उनीहरु दुबै जनाले एकअर्कालाई सहयोग पनि गर्दथे ।

परिवारले चलाए विहेको कुरा

उनीहरु दुबैजना सधै साथीको रपमा मात्र व्यवहार गर्थे । कतै जाँदा पनि सँगै जान्थे । अधिकांश समय पढाइमा ध्यान दिने उनीहरु क्याम्पसमा विद्यार्थीको हकहितमासमेत आवाज उठाउँथे । उनीहरुबिचमा माया पिरतीको कुरा कहिल्यै भएको थिएन । पार्वतीको घर सल्यान भए पनि उनी सुर्खेतको घोरेटामा रहेको आफ्नो मामाको घरमा बसेर पढेकी हुन् । पार्वतीको मामाहरु विन्दुलालको आफन्त थिए । विन्दुलाललाई पछि मात्रै थाहा भयो । जब यो कुरा थाहा भयो, आफन्तहरुबिचमा उनीहरुको विवाहको चर्चा चल्न थाल्यो ।

पार्वतीको मामा र विन्दुलालको बुवाबिचमा यस विषयमा कुराकानी भएपछि उनीहरुको विवाह गरिदिने कुरा चलेछ । तर विन्दुलाल र पार्वतीलाई पछि मात्रै थाहा भयो । जब दुबैको विवाहको चर्चा चल्यो । त्यो कुरा उनीहरुले पनि थाहा पाए । दुबै परिवारको सहमतीमा उनिहरुबिचमा विवाह गरिदिने टुंगो भएपछि पनि उनीहरु पढ्दै गरेको आफ्नो साथित्व र सांगठिक काम र पढाइमा सहकार्य गरिरहेका थिए ।

उनीहरु पनि घरपरिवारले गरेको निर्णयमा सहमती जनाउँदै अब भावी दिनहरुलाई कसरी सहज बनाउने भनेर विवाह नहुँदै आफ्नो योजना बनाउन थालिसकेका थिए । उनीहरुबिचमा अझै धेरै माया र मित्रता बढ्यो । एकअर्काको सुखदुखमा त्यतीबेलादेखि नै साथ र सहयोग गर्थथे ।

अनि विवाह

उनीहरुबिचमा साथीको रुपमा पहिलेदेखि नै सम्बन्ध भए पनि विवाहको कुरा भने हुने गरेको थिएन । परिवारले नै विवाह गराउने चाँजोपाँजो मिलाइ दिएपछि उनीहरुले पनि यो कुरालाई स्वीकार गर्दै आत्मियता अगाडी बढाउनसमेत थाले । अनि घरपरिवारकै सल्लाहमा चिनजान भएको पाँच बर्षपछि २०६१ सालमा उनीहरुको विवाह भयो ।
विवाह हुने समयमा उनीहरु दुबै जनाको उमेर २५÷२५ बर्षको थियो । विवाह भएर जाँदा पार्वतीलाई केही फरक अनुभुती त भएको थियो । तर बिन्दुलाल र पार्वती धेरै घुलमिल भइसकेको हुँदा उनले घरमा त्यती धेरै समस्या भोग्नु परेन ।

जीवनमा संघर्ष

दुबैजनआफन्तकोमा बसेर आफ्नो पढाइ र काममा मेहेनत गरे । उनीहरुबिचमा काम गर्दा सल्लाह र सहकार्य भने सानोसानो कुरामासमेत हुने गथ्र्यो । उनीहरु दुबैजनाले सबै जिम्मेवारी पुरा गनुृपर्ने । आफ्नो पढाइलाई निरन्तरता दिनुपर्ने, जागिरलाई पनि अगाडी बढाउनुपर्ने थियो । उनीहरुले छोराछोरी स्याहार गर्नसमेत फुर्सद पाउँदैन्थे । उनीहरु धेरै संघर्ष गरे । आर्थिक अभाव पनि झेल्नुपर्यो ।

घरपरिवारमा विभिन्न उतारचढावहरु आइरहे । तर उनीहरु डटेर सामाना गरे । लामो मेहनेत र संघर्षपछि पढाइसँगै सामाजिक क्षेत्रमा काम गर्ने अवसर पाए । त्यसपछि उनीहरुको जीवनमा सहजता आयो । यता पार्वतीले पनि मेहेनत गरेर पढिन् । बिन्दुलालको साथ र सहयोगले उनले पनि उच्च शिक्षा हासिल गर्दै अहिले प्रावि तहको शिक्षकको रुपमा पढाउछिन् । उनीहरु अहिले सन्तुष्ट छन् । जीवनलाई सहज बनाउन संघर्ष गर्न आवश्यक रहेको उनीहरु बताउँछन् ।

कस्तो थियो बाल्यकाल ?

बुवा जनकराज शर्मा र आमा सावित्रा शर्माको कोखबाट विस २०३७ साल बैशाख ११ गते दैलेखको साविकको कट्टी गाविसमा विन्दुलाल रेग्मीको जन्म भएको हो । उनको बाल्यकाल भने सुर्खेतको साटाखानीमा वितेको हो । उनी घरको माइलो छोरा हुन् ।
उनले सानो कक्षा चन्द्रज्योति माविमा पढेका हुन् । उनको बाल्यकाल सामान्य नै वितेको हो । उनी साथीहरुसँग खेल्दै घरमा सहयोग पुर्याउदै विद्यालय शिक्षा लिएका हुन् । उनको स्वभाव सबैसँग मिल्ने र सहयोगी छ । उनले स्नातक शिक्षा क्याम्पसबाट गरेका हुन् भने उनले २०७५ मा मध्यपश्चिम विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन । उनले कानुन विषयसमेत पढेका छन् ।

यस्तै बुवा यामलाल शर्मा र आमा ऋषीदेवी शर्माको कोखबाट २०३७ सालमा पार्वती लामिछानेको सल्यान जिल्लामा जन्म भएको हो । उनको बाल्यकाल सामान्य नै वित्यो । उनी सानैछँदा उनको बुवा स्वर्गीय भए । उनी सल्यानमा जन्मिए पनि उनको बाल्यकाल मामा घर सुर्खेतको घोरेटामा वितेको हो । सबैसँग मिलनसार स्वभावकी उनले सानो कक्षा घोरेटामा प्राविमा पढेकी हुन् ।

निमावि तह भने उनले काफलकोटमा पढिन् । अनि मावि तह भने अमरज्योती मावि नेवारेमा पढेकी उनले एसएलसी पनि त्यहीँबाट गरिन् । स्नातक शिक्षा क्याम्पसबाट गरेकी हुन् । सानैदेखि उनले मामा घरको मायाले बढेकी उनी सहि र सत्य कुरामा कहिले पनि डराउँदिनन् ।

सल्लाह र सहकार्य

यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । र काम बाँडफाँड गरेर अगाडी बढाउने गर्दछन् ।उनीहरुको योजना जहिले पनि समझदारीमा हुने गर्दछन् । सानो कुरामा पनि सल्लाह गरेर काम गर्छन् । दुबै जना हरेक काम गर्दा एकअर्काको सहकार्य र सहयोग विना कुनै काम गर्दैनन् । यो जोडी कहिलेकाँही फुर्सद मिलाएर रमाइला ठाउँहरुमा घुम्न पनि जान्छन् ।

घरको खाना बनाउने काम पनि बाँडफाँड गरेर दुबै जनाले काम गर्छन् । सहयोगी स्वभाव र राम्रा ठाउँ घुम्न पनि जान्छन् । आपसी विश्वास र सहकार्यले नै सम्बन्धमा खटपट नल्याउने उनीहरुको बुझाइ छ । त्यही भएर नै उनीहरु सफल जोडी बन्न सफल भएका छन् । उनीहरुले सम्बन्ध टिकाउन एकअर्कालाई विश्वास गर्नुपर्ने र जुनसुकै काममा पनि सल्लाह गर्नुपर्ने सुझाव दिन्छन् ।

तपाईको प्रतिक्रिया