खाद्यले प्रतिकिलो ६४० रुपैयाँमा खसी बोका बिक्री गर्दै

काठमाडौं । दशैं, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि जिउँदो खसी र बोकाको मूल्य प्रतिकिलो ६४० रुपैयाँ तोकेको छ ।

कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा बिक्रीका लागि राखेका खसी, बोकाको उक्त मूल्य प्रतिकिलो ६५० रुपैयाँ तोकेको छ । तर‚ दशैंका लागि प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकलाई आग्रह गरे । उनले खसी, बोकाको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए ।

कम्पनीले हाल दुई हजार खसी, बोका बिक्रीका लागि ल्याएको छ । तर‚ ग्राहकको चाप बढेकाले आवश्यकताअनुसार फेरि थप गरेर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको कम्पनी बागमती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन् । उनले दैनिक ५०० वटा खसी, बोका बिक्री वितरण हुने अनुमान गरिएको समेत बताइन् ।
यता ग्राहकहरुले पनि बजारमा भन्दा सस्तोमा खसी, बोका उपलब्ध भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले खसी, बोका स्वस्थ रहेको र बिक्री वितरणको व्यवस्था पनि गत वर्षभन्दा सहज भएको प्रतिक्रिया दिएका छन ।

कम्पनीले बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म खसी, बोका बिक्री वितरणको व्यवस्था मिलाएको छ। कम्पनीले यस वर्ष कोरोनाका कारण चीनबाट च्याङ्ग्रा भने भित्र्याउन नसकिएको स्पष्ट पारेको छ । कम्पनीले यस वर्ष दाङ र मकवानपुरबाट खरिद गरेर खसी, बोका ल्याइएको छ ।

तपाईको प्रतिक्रिया