सुरु हुँदै रोकिएका प्रतियोगिता तयार हुँदै खेलकुदका पूर्वाधार

सुर्खेत, २२ असोज । कर्णाली प्रदेशमा खेलकुदको क्षेत्रमा विकासको ग्रीन सिंगल (सकारात्मक संकेत) देखिन थालेको छ । खेलकुदको क्षेत्रमा यो आर्थिक वर्षमा ५६ करोड बजेट छुट्याएको प्रदेश सरकारले पूर्वाधार निर्माण थालेको छ । सँगै कोरोना महामारीका कारण बर्षदेखि ठप्प रहेका प्रतियोगिताहरु पनि सञ्चालनको तयारी थालिएको छ । यसले पनि खेलकुद क्षेत्रमा ग्रीन सिंगल देखिएको हो ।

खेलकुद क्षेत्रलाई चलायमान बनाउन संक्रमणको त्रासका कारण दुई बर्षदेखि रोकिएका प्रतियोगिताहरु सञ्चालन र पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । संक्रमण कम भएपछि विभिन्न खेलकुद प्रतियोगिताको घोषणा गरिन थालेका छन् भने पूर्वाधारहरु निर्माणले पनि गति लिन थालेको हो । कर्णालीमा खेलकुद क्षेत्रको विकास लागि कर्णाली प्रदेश खेलकुद परिषदले पूर्वाधार निर्माण थालेको छ । हिलो र धुलोमा खेलकुद प्रतियोगिता गर्नुपर्ने समस्याको अन्त्य गर्ने उद्देश्यले पूर्वाधार निर्माण थालेको हो ।

जसअन्तरगत प्रदेशका दश वटै जिल्लामा पूर्वाधारहरु निर्माणको प्रक्रिया सुरु भएको छ । आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला स्तरिय प्रतियोगिता गर्न मिल्नेगरी पूर्वाधारहरु निर्माण हुन थालेका हुन् । जसमध्ये जुम्ला, सुर्खेत र रुकुमपश्चिममा सबैभन्दा ठूला पूर्वाधारहरु निर्माण हुनेछन् ।

जुम्लामापाताराशी गाउँपालिकाको छुमचौरमा नेपालकै ठूलो क्षमताको ‘हाइअल्टिच्यूट ट्रेनिङ सेन्टर’ निर्माणाधिन छ । यस्तै रुकुमपश्चिमको चौरजहारीमा क्षेत्रिय रंगशाला र प्रदेश राजधानी वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय स्तरको प्रादेशिक रंगशाला निर्माण हुनेछन् ।

चौरजहारीमा रंगशाला निर्माणको लागि जग्गा प्राप्तिको प्रक्रिया थालिएको छ भने प्रादेशिक रंगशालाको लागि निर्माण कम्पनीको छनौट प्रक्रिया सुरु भएको छ । ३० महिनाभित्र निर्माण सम्पन्न भइसक्ने प्रादेशिक रंगशाला आउँदो मंसिरदेखि निर्माण सुरु हुने प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले बताए ।
‘तिहारभित्र ठेक्का प्रक्रिया टुंगो लगाएर आउँदो मंसिरदेखि प्रादेशिक रंगशाला निर्माण हुन्छ’ हमाललले भने, ‘प्रादेशिक रंगशाला कर्णालीको खेलकुद क्षेत्रका लागि कोषेढुङ्गा सावित हुनेछ ।’ प्रादेशिक रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण हुने हमालले बताए ।

वीरेन्द्रनगरको कुइनेपानी नजिक नौ विगाह क्षेत्रफलमा प्रादेशिक रंगशाला निर्माण गरिनेछ । रंगशाला निर्माण भएपछि स्टेडियम, फुटवल मैदान र एथलेक्टिस ट्रयाक, स्वीमिङ पुल, १५ सय दर्शक अट्ने कबर्डहल, ह्याण्ड बल, बास्केट बल लगायतका आउटडोरका प्रतियोगिताहरु गर्न सकिनेछ । रंगशालाको पूर्व र दक्षिणतर्फ व्यावसायिक प्रयोजनका लागि एकसय २० वटा सटरहरु रहेन रंगसशालाभित्र १० हजार दर्शक अट्नेछन् ।

रंगशाला निर्माण भएपछि कर्णालीमा राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरु आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ । पुर्वाधारमात्रै होइन, कोरोना महामारी कम भएसँगै खेलकुद् गतिविधिहरु घोषणा हुन थालेका छन् । विभिन्न जिल्लामा वडास्तरदेखि जिल्लास्तरिय सम्मका खेलकुद् प्रतियोगिताहरु घोषणा हुन थालेका छन् ।

कालिङचौक मैदानलाई अस्थायी रंगशाला बनाइन

वीरेन्द्रनगरको कालिङचौक मैदानलाई अब स्थायी रंगशाला बनाइने भएको छ । कुइनेपानीमा रहेको फुटबल मैदानमा प्रादेशिक रंगशाला निर्माण हुने भएपछि सो मैदानलाई अस्थायी रंगशालाका रुपमा प्रयोग गरिने भएको हो । प्रादेशिक रंगशाला निर्माण नहुँदा सम्मका यो मैदानलाई अस्थायी रंगशालाका रुपमा प्रयोग गर्न दिने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिए । । नगर प्रमुख सुवेदीले यो मैदानलाई रंगशालाका रुपमा प्रयोग गर्ने अनुमति मागका लागि आउन जिल्ला फुटबल संघलाई आग्रह गरेका छन् । हालः प्रयोगविहीन अवस्थामा रहेको यो मैदान क्रिकेट प्रतियोगिताका रुपमा प्रयोग हुँदै आएको छ ।

रंगशाला क्षेत्रमा फ्रि–वाईफाई

वीरेन्द्रनगरको रंगशाला क्षेत्रलाई फ्रि–वाईफाई जोन बनाइने भएको छ । वीरन्द्रनगर नगरपालिकाले खेलकुद विकास समितिदेखि प्रादेशिक रंगशाला क्षेत्रमा फ्रि–वाईफाई जोन बनाइने भएको हो । वीरेन्द्रनगर प्रदेशको राजधानी भएका हिसावले यहाँ आयोजना हुने विभिन्न प्रादेशिक तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताको प्रचार–प्रसारमा सहयोग पु¥याउने उद्देश्यले प्रादेशिक रंगशाला क्षेत्रलाई फ्रि–वाईफाई जोन बनाउने नगर प्रमुख सुवेदीले बताए ।

सुर्खेत उपत्यका नगरविकास समितिका अध्यक्षसमेत रहेका सुवेदीले कर्णालीको खेलकुद क्षेत्रको विकासको लागि समितिले प्रादेशिक रंगशालालाई जग्गा उपलब्ध गराएको बताए । तोकिएकै समयमै रंगशाला निर्माणका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरे ।

कार्तिकमा जिल्ला लिग मंसिरमा मेयरकप

कोरोनाका कारण रोकिएको सुर्खेत लिग (जिल्ला स्तरिय फुटबल प्रतियोगिता) कात्तिकदेखि सुरु हुने भएका छन् । अघिल्लो बर्ष नै सम्पन्न हुनुपर्ने लिग कात्र्तिक २४ गतेदेखि सुरु हुने जिल्ला फुटबल संघ सुर्खेतका अध्यक्ष जनकबहादुर रावलले जानकारी दिए । प्रतियोगितामा सुर्खेतका विभिन्न १६ वटा टिमको सहभागिता रहनेछ ।

त्यस्तै मंसिरको दोस्रो सातादेखि वीरेन्द्रनगरमा मेयर तथा उपमेयर फुटबल प्रतियोगिता सुरु हुने भएका छन् । पुरुषतर्फको मेयरकप र महिलातर्फको उपमेयरकप मंसिंरको दोस्रो सातादेखि हुने रावलले बताए । प्रतियोगिताको तयारीका लागि मंगलबार जिल्ला फुटबल संघले वीरेन्द्रनगरका क्रियाशिल फुटबल क्लवहरुलाई खेलकुद् सामग्रीसमेत हस्तान्तरण गरेको छ ।

गुरुङको सम्झनामा अक्षयकोष

सुर्खेत जिल्ला खेलकद विकास समितिका भूतपूर्व अध्यक्ष एवम् फुटलफल खेलाडी स्वर्गीय यज्ञ गुरुङको सम्झनामा अक्षयकोष स्थापना हुने भएको छ । वीरेन्द्रनगर नगरपालिकामा प्रमुख देवकुमार सुवेदी, जिल्ला फुटबल संघ सुर्खेत र संघका अध्यक्ष जनकबहादुर रावलले संयुक्त रुपमा अक्षयकोष स्थापना गर्ने भएका हुन् ।

संघले बुधबार विजया दशमी, शुभ दिपावली तथा छटपर्व र नेपाल सम्मवतको असरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उक्त अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको हो । खेलाडीको सम्मान र गुरुङको सम्झनामा स्थापना गरिने अक्षयकोषमा नगर प्रमुख सुवेदीले व्यक्तिगत रुपमा एकलाख, फुटवल संघले ५१ हजार र संघका अध्यक्ष रावलले २५ हजार पाँचसय रुपैयाँ सहयोग गर्ने घोषणा गरे । अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट हरेक बर्ष उत्कृष्ट फुटवल खेलाडीलाई छात्रबृत्ति एवम् सम्मान दिइने छ ।

तपाईको प्रतिक्रिया