चुनौतीसँग लड्दै सफलतातिर

चन्द्रा बुढा
सामाजिक अभियान्ता

सफलता चाहेर मात्र हुँदैन । अनि यो असम्भव पनि छैन । जसले जीवनमा मेहनत गर्छन्, उनीहरु सफल बनेका पनि धेरै उदारण पनि छन् । यस्तै सफलता प्राप्त गरेकी व्यक्ति हुन् सुर्खेतको बराहताल निवासी चन्द्रा बुढा । आजको जम्काभेटमा उनै बुढासँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

बाल्यकालमा अभावै अभाव

बुवा कुलबहादुर बुढा र आमा कालु बुढाको कोखबाट २०३६ बैशाख १३ गते सुर्खेतको वराहताल गाउँपालिका वडा नम्बर ३ राजकाँडामा चन्द्रा बुढाको जन्म भएको हो । उनका पाँच भाईबहिनी छन् । सामान्य र निम्न आयस्रोत भएको परिवारमा जन्मिएकी उनका बुवाले गाईभैंसी पाल्थे । घरको मुख्य आम्दानीको स्रोत भनेको कृषि र पशुपालन थियो ।

उनको बाल्यकाल अरुको जस्तो सहज भने थिएन । सानैदेखि नै उनले विभिन्न उतारचडावहरु भोग्दै आइन् । उनको घर परिवार आर्थिक रुपले निकै विपन्न थियो । बिहानसाँझ छाक टार्न र एकसरो कपडा फेर्नसमेत हम्मेहम्मे हुन्थ्यो ।
उत्पादित वस्तुहरुको बजाकिरण समेत हुन सक्थेन । उनले पढाइ त टाढैको कुरा हो, विद्यालयसमेत देखेकी थिइनन् । उनको बुवाले गाईभैसी पालन गरेका थिए । उनी विद्यालय जानुको साटो गोठालो जानुपथ्र्यो । तर चन्द्रा सानैदेखि मिलनसार थिइन् । चन्चले र ठट्यौली स्वभाव भए पनि उनी सानैदेखि आफुभन्दा पाका उमेरका व्यक्तीहरुसँग संगत गर्थिन् ।

पाका उमेरका अनुभवी मानिसहरुका कुरा सुन्दा उनलाई आनन्द त आउथ्यो नै । उनले धेरै कुरा सिक्ने अवसर पाइन् । उनी सानैदेखि सहयोगी पनि थिइन् ।

पालैपालो स्कुल

चन्द्राले सानोमा पढाइ त टाढाको कुरा हो, विद्यालयसमेत देखेकी थिइनन् । गाउँमा प्रोढ शिक्षा शुरु भयो । सबै नपढेका व्यक्तिहरु पढ्न जान थालेपछि उनी र उनको बहिनीले त्यही शिक्षा लिने निर्णय गरे । चन्द्रा र उनको बहिनी पालो गरेर पढ्न जान थाले ।
बहिनी गोठालो गएको दिन चन्द्रा पढ्न जाने र चन्द्रा गोठालो गएको दिन उनको बहिनी पढ्न जाने । त्यसरी नै उनीहरुले प्राढ शिक्षा लिए । त्यहाँ पढेपछि अक्षरसम्म चिन्ने भएकी चन्द्राले त्यसपछि भने विद्यालय लेवलका कितावहरु ल्याएर घरमै स्वयअध्यन गर्न थालिन् । लामो समय घरमै पढेकी उनले २० बर्षको उमेरमा ८ कक्षामा नाम लेखाइन् ।

अनि उनले विद्यालय शिक्षा शुरु गरिन् । जुनसुकै काममासमेत मेहेनत गर्ने उनी विद्यालय जाँदा अनौठो लाग्थ्यो । किनकी एकैपटक ८ कक्षाबाट विद्यालय शिक्षा शुरु गरेकी उनले एकदिन बिराएर विद्यालय जान्थिन् । एकदिन घरको काम र एकदिन विद्यालय । उनी त्यसरी पनि पहिलो कक्षा पास गरेर ९ मा गइन् ।

९ कक्षा पनि सहजसँग पास भएकी उनी १० कक्षा पढ्दा भने फेल भइन् । उनले एकपटक त पढाइ छोड्छु भनेर सोचिन् । तर उनका केही जानकार आफन्तको सहयोगमा फेरी पढाइमा निरन्तरता दिइन अनि एसएलसी पास भइन् । उनी एसएलसी पासपछि पनि पढाइलाई निरन्तरता दिने निर्णय गर्दै प्लसटु पढ्न भारतको बहराइच पुगिन् । उनले प्लसटु बहराइचबाट गरिन् । उनको घरको आर्थिक अवस्थामा भने कुनै सुधार हुन सकेको थिएन ।

अनि समाजसेवामा

प्रोढ शिक्षाबाट शुरु गरेको पढाइ उनले इन्टर लेवलसम्म पुरा गरिन् । गाउँमा उमेर गइसकेको विवाह गर्नुपर्छ भन्थे । तर उनले आफ्नो पढाइलाई निरन्तरता दिँदै जाँदा समाजमा रहेका हरेक समस्याहरु देख्न थालिन् । सानैदेखि सहयोगी र समाजसेवामा रुची राख्ने उनी समाजमा रहेका ती समस्या समाधान गर्नपर्छ भनेर वकालत गर्न थालिन् ।


शुरुमा त उनलाई गाउका मानिसहरुले कुनै वास्ता नै गरेनन् । बरु कुरा काट्न थाले । तर उनले ति कुरालाई प्रवाह नै नगरेर आफ्नो काममा लागि रहिन् । शुरुमा उनी अन्तरनिर्भर समाजले गाउँमा संचालन गरेको एउटा समुहको सदस्य भएर काम गर्न थालिन् । अनि उनी गाउँका हरेक क्रियाकलापमा अगाडी बढ्दै गइन् ।

विभिन्न संघसंस्थामा काम गर्दै गएपछि उनी साविकका गाविस परिषदहरुमासमेत महिला र पछाडी पारिएको वर्गहरुको उत्थानका लागि बजेट विनियोजन गर्न लागिन् । उनको गाउँ जंगल भएको क्षेत्रमा भएको हुँदा त्यस ठाउँमा मानिसहरु जंगली जनावरहरुको शिकार गर्थे । त्यस्तो काम बन्द हुनुपर्छ भनेर उनी वकालत गर्न थालिन् ।

त्यही अभियानलाई साथ दियो बर्दिया राष्ट्रिय निकुञ्जले । त्यही निकुञ्ज अन्तरगत त्यहाँ सिद्धचुली उपभोक्ता समिति गठन गरियो । त्यसमा उनलाई कोषाध्यक्ष बनाइयो । उनले त्यसमार्फत शिकार गर्न नपाउने र घरमा राखिएका बन्दुकहरुलाई प्रशासनलाई बुझाउन पहल गरिन् ।
त्यो काम सफल पनि बनाएकी चन्द्राले शुरुमा त धेरै चुनौतीहरुको सामना गर्नुपर्यो । उनी डटेर ति समस्याको समाधानमा लागिन् । उनले विभिन्न नीकायमा चोरी शिकारी गर्नेलाई रोजगारीको पहलसमेत गरिन् ।

राजनीतिमा पनि सक्रिय

उनी सामाजिक क्षेत्रमा सक्रिय हुँदै राजनीतिमा पनि उत्तिकै सक्रिय हुँदै गइन् । उनी अखिल नेपाल महिला संघ सुर्खेतको सदस्य हुँदै साविक तरङ्गा गाउँ विकास समितिमा नेकपा एमालेको उपाध्यक्षसमेत भइन् । शुरुमा उनलाई गाउँका मानिसहरुले महिला पनि यसरी सामाजिक क्षेत्रमा काम गर्ने सुहाँउछ ? भनेर भन्ने गरे पनि पछि उनी विभिन्न क्षेत्रबाट सम्मानित र सफल हुँदै गएपछि गाउँका जुनसुकै समस्यामा पनि उनलाई अगाडी बढाउन थालियो । उनलाई राजनीतिमा नेतृत्व गर्नसमेत जनताबाट नै अगाडी सारियो । उनी अहिले पनि सामाजिक क्षेत्रसँगै राजनीतिमासमेत सक्रिय छन् ।

संघर्षै संघर्ष

सानैदेखि संघर्ष गर्दै आएकी उनले विभिन्न अभावहरु झेल्न त पर्यो नै । जुनसुकै काम गर्न पनि धेरै संघर्ष गर्नुपर्यो । उनको घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले अभावमा बाच्नु परेको थियो । अर्कोतर्फ गाउँका मानिसहरुको चेतनाको स्तर माथि उठिसकेको थिएन । महिलाहरुलाई कुनै पनि बाहिरको काम गर्न दिइन्थेन् ।

त्यस्तो बेलामा उनी सामाजिक काममा लाग्दा विभिन्न आरोप प्रत्यारोप त खेप्नु पर्यो नै । पुरुषहरुसँग प्रतिस्पर्धा गर्न उनी गाउँकी एक्ली महिला थिइन् । उनले गाउँका मानिसहरुको आरोप प्रत्यारोपलाई वास्ता नगरी आफ्नो काममा अगाडी बढिरहिन् ।

उनका संघर्षका पाइलाहरु रोकिएनन् । सानैदेखि दुख गरेर आएकी उनले संघर्षमा बाँच्न सिकीसकेकी थिइन् । जब उनी गाउँका महिला र पछाडी पारिएका व्यक्तीहरुको चेतनाको स्तर उठाउन विभिन्न क्रियाकलापहरु चालाइन् । त्यसपछि गाउँको हरेक समस्या समाधानमा उनको भुभिका हुनथाल्यो ।

गाउँका मानिसहरु पनि उनलाई हरेक समस्यामा साथ दिन आग्रह गर्न थाले । उनी संघर्षबाटै सफलतातिर लम्किन् । अहिले उनी बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगतको सिद्धचुली उपभोक्ता समितिको अध्यक्ष, क्षेत्रगत संयोजक, अन्तरनिभर समाजको सचिवसँगै नेकपा एमाले जिल्ला कमिटी सुर्खेत सदस्यसमेत छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार