सडक सुरक्षामा ध्यान देऊ

प्रदेश राजधानी बनेपछि वीरेन्द्रनगरमा पूर्वाधारको अभाव खड्कीन थालेको छ । राजधानी भएपछि स्वभाविक रुपमा मानिसहरुको चहलपहल बढ्ने भयो । मानिसहरुको आगमनसँगै भौतिक पूर्वाधारको आवश्यकता थप आवश्यक हुने नै भयो । वीरेन्द्रनगरमा पनि यस्तै अभाव महशुस हुन थालेको छ ।
साँघुरा र स्तरोन्नति नभएका सडकले राजधानीलाई नै गिज्याइरहेको अवस्था छ । साँघुरा सडकले मुख्य बजार क्षेत्रमा सवारी साधनको व्यवस्थापन र मानिसहरुको भीडले समस्या पैदा गरिरहेको छ । बजार क्षेत्रमा मानिसहरुको भीडका कारण सवारी साधनको जाम नै हुने गरेको छ । यद्यपी स्थानीय सरकार र प्रशासनले यसलाई सामान्य रुपमा लिएको देखिन्छ ।

बढ्दो जनघनत्व र सवारी साधनको चापका कारण वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र अस्तव्यस्त नै बनेको अवस्था छ । यसले एकातिर राजधानी सहरको सडक सुरक्षा र दुर्घटनाको अवस्थालाई संकेत गरिरहेको छ भने अर्कोतर्फ सहरको सुन्दरतालाई पनि कुरुप बनाएको छ । तर यसको व्यवस्थापनमा भने सरोकारवाला निकायको ध्यान पुगेको अवस्था छैन ।

नीति बनाएर वा भएर मात्र पुग्दैन । त्यसलाई कार्यान्वयन गर्ने सक्षम नेतृत्व पनि आवश्यक पर्दछ । वीरेन्द्रनगरको सवारी साधनको चाप व्यवस्थापनमा पनि यस्तै भएको छ । कारण नगरभित्रको सवारी साधनको चापलाई व्यवस्थापन गर्न र सडकमा हुने सवारी साधनको दुर्घटनालाई न्यूनिकरण गर्नका लागि बनाइएका कतिपय योजनाहरु कार्यान्वयन हुन सकेका छैनन् ।

जसले नीति बनाएको हो, उसैको नेतृत्व नहुँदा यस्ता समस्याहरु हरेक क्षेत्रमा देखिने गरेका छन् । वीरेन्द्रनगरको बढ्दो सवारी साधनको चापलाई व्यवस्थापन गर्ने धेरै उपाय मध्ये एउटा को व्यस्त सडकलाई वान वे अर्थात एकतर्फी मात्र सवारी साधनको संचालन गर्ने नीति । यो योजना एकवर्ष अघि नै लागू गर्ने भनिएको थियो ।


नगरभित्र व्यस्त रहेका सडकमा एकतर्फी मात्र सवारी साधन संचालन गर्ने योजना कार्यान्वयन भएको खण्डमा पनि सडकमा सवारी जाम हुने, मानिसहरु दुर्घटनामा पर्ने र सडक तथा बजार क्षेत्र नै अस्तव्यस्त हुने अहिलेको समस्या समाधान हुन सक्छ । तर यो योजना हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

वीरेन्द्रनगर अब एउटा नगर मात्र होइन । यो त सिंगा प्रदेशको राजधानी सहर हो । तसर्थ यसलाई हिजोकै नजरबाट हेर्नु उपयुक्त हुन्न । यसकारण अब स्थानीय र प्रदेश सरकारले यहाँको सडक सुरक्षा र सवारी साधनको उचित व्यवस्थापनमा अब चासो दिनै पर्दछ । सडकहरु सुरक्षित र व्यवस्थित भएको खण्डमा यसले प्रदेश राजधानीको गरिमालाई अझ उचो बनाउनेछ।

त्यतिमात्र होइन, यहाँको बढ्दो सवारी साधनको चापलाई पनि यसले केही हदसम्म थेग्न सक्छ । यसका लागि अब वीरेन्द्रनगर नगरपालिका, स्थानीय प्रशासन र प्रदेश सरकारले चाँडै व्यस्त सडकहरुलाई वान वे बनाउने, मुख्य चोकमा आकासे पुल बनाउने र सडकमा सवारी साधनलाई सहज रुपमा गुड्न सक्ने वातावरण निर्माण गर्नु पर्दछ । तबमात्र प्रदेश राजधानी र वीरेन्द्रनगरको सवारी साधनको व्यवस्थापनलाई लयमा ल्याउन सकिने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार