कर्णालीका १० जिल्लामा कमान्ड सेन्टर स्थापना गर्दैै

१४४ स्थानमा क्यूआरटी, १२९ स्थानमा नियमित जाँच र ४६ स्थानमा ट्राफिक जाँच केन्द्र राखिने

असोज २०,सुर्खेत । दसैंतिहार नजिकिएसँगै प्रदेश प्रहरी कार्यालयले १० वटै जिल्लामा कमान्ड सेन्टर स्थापना गर्ने भएको छ । जसमा ४ हजार ३ सय ५१ जना प्रहरी जनशक्ति खटाइनेछ ।

बढ्दो सुरक्षा जोखिमलाई ध्यानमा राखी सबै जिल्लाका नाकामा प्रहरी परिचालन गर्ने प्रदेश प्रहरीको योजना छ । चाडपर्वमा हुने चोरी, लुटपाट तथा अन्य अपराधजन्य घटनाहरू हुन नदिन सबै वडा र टोलमा प्रहरी परिचालन गर्न लागिएको प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले बताए । ‘ग्रामीण क्षेत्र र हाइवेमा गस्तीलगायतलाई निरन्तरता दिइनेछ,’ उनले भने, ‘कर्णाली प्रदेश भित्रने मुख्य नामा बबईमा विशेष टिम परिचालन गरिएको छ ।’ कुइनेलगायतका केही सम्वेदनशील नाकामा प्रहरी निरीक्षकको नेतृत्वमा क्विक रेस्पोन्स टिम (क्यूआरटी)समेत परिचालन गरिने उनले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्था र धेरै भीडभाड हुने क्षेत्रमा २४ सैं घण्टा निगरानी गर्ने प्रदेश प्रहरीको तयारी छ । सबै बसपार्कमा नागरिक सहायता कक्षको स्थापना र यात्रु सहायता कक्ष स्थापना गरिएको कार्यालयले जनाएको छ । वीरेन्द्रनगर बसपार्कसहित छिञ्चु र बड्डीचौरमा पनि यात्रु सहायता कक्षको स्थापना गरिएको सुर्खेत प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले बताए । उनका अनुसार दसैंतिहारजस्ता पर्वका बेला ट्राफिक नियम उल्लंघन गर्ने, यातायात व्यवसायीले यात्रु तानातान गर्ने, तोकिएको भन्दा बढी भाडा असुल्ने, सिट क्षमताभन्दा धेरै यात्रु राख्ने र तीव्र गतिमा सवारी चलाउने भएकाले यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

चाडपर्वको अवसरमा हुन सक्ने अवाञ्च्छित र आपराधिक गतिविधि नियन्त्रण तथा सडक सुशासन कायम गर्न कर्णाली प्रदेश प्रहरीले विभिन्न रणनीतिहरू अपनाएको छ । चाडपर्वमा जुवातास, डाइस (लङगुरबुर्जा) र कौडा खेल्न रोक्ने गरी सादा पोसाकमा प्रहरीहरू परिचालन हुनेछन् । त्यस्तै १ सय ४४ स्थानमा क्यूआटी, १ सय २९ स्थानमा नियमित जाँच र ४६ स्थानमा ट्राफिक जाँच केन्द्र स्थापना गरिनेछ । सीमा नाकामा चोरीतस्करी नियन्त्रणका लागि मुख्य ३ सहित ९ स्थानमा विशेष प्रहरी युनिट स्थापना गर्ने प्रदेश प्रहरीको तयारी छ । ‘लुटपाट र अन्य अपराध रोक्न पिकेट राजमार्गमा स्कर्टिङ मोबाइल गस्ती, पैदल गस्तीलाई तीव्र बनाइनेछ,’ डीआईजी ऐरले भने, ‘कुनै पनि घटना भएको खण्डमा १५ मिनेटमा प्रहरी पुग्ने गरी उद्धार टोलीलाई पनि तयारी अवस्थामा राखिनेछ ।’ (इकान्तिपुर)

तपाईको प्रतिक्रिया