‘जनताका अधिकांश आवश्यकता पूरा गरेका छौं’

लालबहादुर महतारा मेयर, छेडागाड नगरपालिका, जाजरकोट

नेपालको संविधान अनुसार देशमा तीन तहका सरकार गठन भएका छन् । ति मध्ये जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार नै हो । यो सरकारलाई पनि प्रसस्त अधिकारहरु प्रदान गरिएको छ । संघीयतापछि गठन भएका स्थानीय सरकारले काम गर्न थालेको पनि चारबर्ष भन्दा बढी भइसकेको छ । यो अवधिमा जाजरकोटको छेडागाड नगरपालिकाले के कस्ता काम गर्यो ? जनप्रतिनिधिले जनताको बिचमा गरेका प्रतिवद्धता पुरा भए त ? बजेट कार्यान्वयनको अवस्था के कस्तो छ ? लगायतका विषयमा हाम्रा सहकर्मी टेकराज केसीले छेडागाड नगरपालिका मेयर लालबहादुर महतारासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ;

हिजोआज के गर्दै हुनुहुन्छ ?

अहिले हाम्रो पार्टीको विधान महाधिवेशनको क्रममा काठमाडौं आएको छु । पार्टीको जिम्मेवारी पनि पुरा गर्नुपर्ने भएकाले केही दिन यसैमा व्यस्त भइयो । जनताका सवालहरुसँग सम्बन्धित कामहरु पनि यहाँ आएर गरिरहेको छु । अब केहीदिनमा पालिकाकै काममा फर्किदै छु ।

नगरमा विकासका काम के भइरहेका छन् ?

निर्वाचनपछि हामीले चारवटा कामहरुलाई प्रथामिकता राखेर योजनाबद्ध ढङ्गले काम गर्न शुरु गरेका थियौं । हाम्रा जनताको पहुँचमा सडकको पहुँच थिएन । त्यसलाई पहिलो प्राथमिकतामा राख्यौं । त्यसैगरी शैक्षिक क्षेत्रको व्यवस्थापन, स्वास्थ्यको पहुँच एकदमै न्युन थियो ।

सबैको पहुँचमा स्वास्थ्य पुर्याउने योजना बनायौं ।सँगै पर्यटन र कृषिलाई पनि हामीले अगाडी बढाउनेगरी योजना कार्यान्वयनमा लियौं । हामी निर्वाचित भएको करिब चारबर्ष भएको छ । यो अवधीमा त्यहाँ मैले भनेका यी आधारभुत आवश्यकता सबै जनताको पहुँचमा पुगेको छ । यसलाई व्यवस्थापन र दिगो बनाउँदै हामी अगाडी बढिरहेको अवस्था छ ।

विद्यालयको शैक्षिक वातावरण अस्तव्यस्त थियो ।त्यसलाई व्यवस्थित गर्न सकेका छौं । यी चारवटा कुरालाई हामीले शुरुदेखि नै प्राथमिकतामा राखेर अगाडी बढ् यौं । ति कामहरुलाई निरन्तरता अहिले पनि दिइएको छ । मलाइ लाग्छ हाम्रो कार्यकाल सकिने बेलासम्ममा जनताका आधारभुत आवश्यकताहरु पुरा गर्ने विकास भइसक्ने छ ।

यसपालीको बजेटका प्राथमिकता के के छन् ?

हामीले यो आर्थिक बर्षको बजेट स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर ल्याएका छौं । अब लागु पनि भइसकेको अवस्था छ । पछिल्ला दुईबर्ष विश्वलाई नै आक्रान्त बनाउने कोरोना भाइरसले गर्दा यसको प्रभाव कम गर्न र आगामी दिनमा पार्न सक्ने प्रभाव रोक्न बजेट केन्द्रीत गरिएको छ । यससँगै मैले अघि भनेजस्तै विकासका अन्य काममा पनि बजेट विनियोजन गरिएको छ । हामीले शुरुका बर्षमा बनाएका योजनाहरु मध्ये तेस्रो र चौथो नम्बरमा पर्यटन र कृषि, स्वरोजगार थियो ।

सबै वडामा सडक, स्वास्थ्य चौकी, शैक्षिक व्यवस्थापन लगायतमा शुरुका बर्षहरुमा हामीले कार्यक्रम केन्द्रीत गर्यौ । अहिले पर्यटन र कृषि स्वरोजगारलाई अलि महत्व दिएका छौं । हामी कृषकहरुको उत्पादनलाई बढाउँदै बजारिकरण समेतको व्यवस्था गर्नेगरी काम गरिरहेका छौं । भने यहाँका पर्यटकीय क्षेत्रहरुको पहिचान र सम्बद्र्धन, प्रवद्र्धन पनि गरिने छ ।

गत बर्षको बजेट कार्यान्वयन भयो त ?

गत आर्थिक बर्षमा कोभिड १९ को प्रभावले बजेट कार्यान्वयनमा प्रभाव पारेको पक्कै हो । धेरै पालिकाको बजेट फ्रिज पनि भएको भन्ने समाचारहरु आएका थिए । तर हाम्रो पालिकामा केही बजेट त फ्रिज भयो । तर हामीले ८६ प्रतिशत बजेट कार्यान्वयन गर्न सफल भयौं । यसमा हामी सन्तुष्ट नै छांै । हामीले कोरोनाको महामारीको बेला पनि विकासका अधिकांश कामहरु संचालन गरिनै रह्यौं ।

यसपाली बजेट कार्यान्वयनको तयारी के छ ?

यो आर्थिक बर्षको बजेट पनि हामी समयमै कार्यान्वयन गर्छांै । त्यसको लागि कामहरु शुरु भइसकेका छन् । दशैं तिहारपछि विकासका कामहरु रफ्तारले अगाडी बढ्छन् । यो बर्ष सतप्रतिशत बजेट कार्यान्वयन गर्नेगरी हामीले काम गर्छौं । योबर्ष फेरी स्थानीय तहको निर्वाचनको बर्ष पनि हो । सबै मानिसहरु निर्वाचन केन्द्रीत हुँदा बजेट कार्यान्वयनमा समस्या हुन सक्ने भएकाले समयमै हामीले विकासका कामहरु सम्मपन्न गर्छांै ।

विकास गर्दा चुनौती के आए नी ?

तपाइँले धेरै महत्वपूर्ण प्रश्न सोध्नुभयो । विकासका काम गर्दा सबैभन्दा ठुलो समस्या भनेको स्थानीय सरकारका लागि बजेटको अभाव हो । थोरै बजेटले सबै क्षेत्रको आवश्यकता पुरा गर्नुपर्ने हुन्छ । यसले भनेअनुसारका प्रतिफल आउन सक्दैन । दास्रो चुनौती भनेको यो उपभोक्ता समितिबाट विकासका काम गराउने नीति गलत छ ।

रोजगारी सिर्जना गर्ने योजना के छन् नी ?

विशेष गरेर वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको सीप र दक्षतालाई प्रयोग गर्न उनीहरुलाई प्रोत्साहित गर्ने कार्यक्रम बनाएका छांै । उनीहरुमार्फत अन्य युवाहरुलाई त्यस्ता सीप सिकाएर स्वरोजगारको बाटोमा लैजाने हाम्रा केही कार्यक्रम छन् । सँगै कृषि, पशुपालन र अन्य उद्यम सम्बन्धिका कार्यक्रममार्फत युवाहरुलाई स्वरोजगार बनाउने हाम्रो योजना कार्यान्वयन भइरहेका छन् । हामीले शुरुका बर्षमा नै चारवटा क्षेत्रलाई प्राथमिकता दिएका छौं । त्यस अन्तरगत कृषि उत्पादन र स्वरोजगार पनि हो । पहिले बाटो बनाउने अनि स्वास्थ्य शिक्षाको पहुँच बढाउने र गाउँमा उत्पादन बढउँदै बजारसँग उत्पादन जोड्ने ।

निर्वाचित भएयता के के काम गर्नुभयो ?

छेडागाड नगरपालिका ६ वटा साविककाका गाविसहरु मिलाएर बनाइएको हो । हामी निर्वाचित भएर आउँदा न बाटो थियो, न त स्वास्थ्यको पहुँच नै । शिक्षा क्षेत्र अस्तव्यस्त थियो । भौतिक संरचनाको अवस्था करिव शुन्य जस्तै थियो । अहिले पालिकाका १३ वटै वडाका प्रत्येक वस्तीमा सडक पुगेको छ । सबै वडामा स्वास्थ्य चौकीहरु बनेका छन् ।

शिक्षा क्षेत्रको व्यवस्थापन गर्दै भवन निर्माण भएका छन् । विद्युत विस्तारको कामलाई अगाडी बढाइएको छ । सञ्चारमा पछाडी रहेको नगरपालिकामा नमस्तेका टावरहरु बनाउन पहल गर्यौ । अबको केही समयमा सबै जनता सञ्चारको पहुँचमा जोडिने छन् । अधिकांश आधारभुत आवश्यकता हामीले पुरा गरेका छांै । बाँकी रहेको पालिकाको प्रशासनिक भवन निर्माण हो, त्यसको पनि डिपिआरको काम भइसकेको छ । अब त्यो भवन बनाउने काम पनि हुन्छ ।

तपाईको प्रतिक्रिया