सडक स्तरोन्नोतिमा ढिलाई नगर

सुर्खेत हिजो मध्यपश्चिम क्षेत्रको प्रशासनिक केन्द्र थियो । आज राज्यको पुनसंरचनासँगै कर्णाली प्रदेशको राजधानी बनेको छ । तर प्रशासनकि रुपमा केन्द्र बने पनि सुर्खेतमा भौतिक विकासको गति भने अपेक्षाकृत हुन सकेको छैन । सडक, खानेपानी, विद्युत लगायतका पूर्वाधारको विकास सुस्त छ । प्रदेश राजधानी हुँदा पनि भौतिक विकासको गतिले तीव्रता भने पाउन सकेको छैन । यसका पछाडि विभिन्न कारणहरु हुन सक्लान् ।

तर मुख्य कारण भनेको यहाँको राजनीतिक र प्रशासनिक नेतृत्वको कमजोरी नै हो । यहाँका नेताहरु धेरै पटक मन्त्री बने । सांसद बने । दलहरुले जनताबाट मत पनि पाए । तर जिल्लाको विकासमा भने खासै दिर्घकालिन काम गर्न सकेको देखिएन । बरु भएका केही सानातिना विकास आयोजनामा नै जश लिने होडबाजी चल्यो । आज जिल्लाको पश्चिम क्षेत्रलाई जोड्ने सडकको वेहाल छ । बर्षौैदेखि त्यस क्षेत्रका नागरिकले सास्ती बेहोरिरहेका छन् । अर्कोतर्फ जिल्लाको पूर्वी क्षेत्रलाई जोड्ने सडकको पनि स्तरोन्नति हुन सकेको छैन ।

पछिल्लो समय मदन भण्डारी राजमार्गमा समेटिएपछि सडकको स्तरोन्नति हुने अपेक्षा गरिएको छ । विषेशगरी घुलियाबिटदेखि बोटेचौरसम्म जोड्ने सडकमा यात्रुले हैरानी भोग्दै आएका छन् । त्यतिमात्र होइन, यो सडक खण्डमा भएका गाडी दुर्घटनामा पनि धेरैको ज्यान गइसकेको छैन । तर पनि सडकको स्तरोन्नतिमा कसैको ध्यान गएन ।
पछिल्लाृे पटक केन्द्र सरकारले यही सडक भएर मदन भण्डारी राजमार्ग निर्माण थालेपछि भने केही आशा पलाएको छ । अर्थात आयोजनाले अब तिहारपछि यो सडक खण्डमा कालोपत्रे गरिने जनाएको छ । जुन सकारात्मक र सुखद् खबर हो ।


यस्तै पश्चिम खण्डमा पर्ने यही राजमार्गको बड्डिचौरदेखि बेनिघाटसम्म जोड्ने सडकको स्तरोन्नतिका लागि भर्खरै डिपिआर गर्ने काम पनि सकिएको छ । यसले पनि अब उक्त सडक खण्ड पनि चाँडै कालोपत्रे हुने आश पलाएको छ । राजमार्गमा समावेश भएकाले पनि अब यी दुई महत्वपूर्ण सडक खण्डको स्तरोन्नति हुने अपेक्षा गरिएको छ ।
वास्तवमा जिल्लाको पूर्व र पश्चिम क्षेत्रका नागरिकलाई सदरमुकामसम्म जोड्ने सहज मार्ग वा सडक भनेको यही खण्ड हो । यसकारण यो सडकको स्तरोन्नति र कालोपत्रेका लागि अब भने ढिलाइ गरिनु हुँदैन ।

विकासका लागि राजनीति हुनुपर्दछ । तर विकासमा राजनीति हुनु हुँदैन । त्यसैले महत्वपूर्ण मानिएका यी सडक खण्डलाई कालोपत्रे गर्नेतर्फ केन्द्र, प्रदेश र स्थानीय सरकारले ध्यान र चासो दिनै पर्दछ । विभिन्न बहानामा काम नगर्ने र आयोजनालाई पछाडि धकेल्ने षड्यन्त्रहरु पनि हुने गरेका छन् ।
त्यसकारण तोकिएकै अवधि र समयमा सडकको स्तरोन्नतिका लागि यहाँको राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वले पनि मुख्य रुपमा चासो लिनु आवश्यक छ । ढिलै भए पनि सडकको कालोपत्रे हुने संकेत देखिएको छ । यहाँका बहुसंख्यक नागरिकको जीवनस्तर सुधार गर्ने र यात्रालाई सहज बनाउने यी सडकको स्तरोन्नतिमा अब ढिलाइ गरिनु हुँदैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार