फोहोर व्यवस्थापनमा फड्का

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी । यसअघि पनि वीरेन्द्रनगर प्रशासनिक केन्द्र नै थियो । प्रशासनिक केन्द्र भएका कारण र अन्य सरकारी सुविधाहरु पनि उपलब्ध हुने भएपछि यहाँ जनसंख्या बढ्ने नै भयो । शिक्षा, स्वास्थ्य र अन्य भौतिक सुविधाहरु पनि पाइने अपेक्षाले वीरेन्द्रनगरमा जनघनत्व बृद्धि भइरहेको छ ।
मुख्यगरी प्रदेश राजधानी भएपछि मानिसहरु बाहिरबाट आउनेक्रम थप भएको छ । यसले वीरेन्द्रनगरमा एकाएक जनघनत्व बढेको छ । मानिसहरुको चहलपहल र औद्योगिक विस्तारले पनि यहाँ फोहोरको मात्र बढेको छ । नगरपालिकाले यहाँको फोहोर व्यवस्थापनको जिम्मा लिएको छ । तर पनि यहाँको फोहोर व्यवस्थापनमा चुनौती देखिएको छ ।
यही चुनौतीका कारण वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा फोहोर व्यवस्थापन नुहने समस्या छ । फोहोरका कारण बजार क्षेत्रका नाला र ढल भरिने, हप्तौसम्म फोहोर नउठ्ने र सार्वजनिक स्थलमा दुर्घन्ध फैलिने समस्या छ । यही समस्या नै नगरपालिकाको लागि चुनौती बनिरहेको छ ।
फोहोर व्यवस्थापनका लागि नगरपालिकाले लामो समयदेखि निजी क्षेत्रसँग पनि समन्वय गर्दै आएको छ । तर पनि यो प्रयास प्रभावकारी देखिएको छैन । फोहोर व्यवस्थापनमै नगरको लाखौं बजेट बर्सेनि खर्च हुन्छ । तर त्यसको उपलब्धि भने अनुसार हुन नसकेको अवस्था छ । यही बिचमा पछिल्लो समय नगरपालिकाले नयाँ अभ्यास थालेको छ ।


दातृ निकायको सहयोगमा थालिएको यो प्रयासले भने फोहोर व्यवस्थापनमा केही नयाँ अभ्यास सुरु भएको छ । नगरभित्रको दिसाजन्य फोहोर व्यवस्थापनका लागि लेदो प्रशोधन केन्द्र स्थापना गरिएको छ । जहाँ नगरभित्र उत्पादन भएको दिसाजन्य फोहोरलाई प्रशोधन गरेर मल उत्पादन गर्ने योजना छ । यसको सुरुवात भइसकेको छ । यो यहाँका लागि नयाँ अभ्यास हो । यदी यो प्रयास प्रभावकारी भएको खण्डमा यसले वीरेन्द्रनगरको फोहोर व्यवस्थापनमा नयाँ फड्को नै मार्ने देखिन्छ । यसले एकातिर फोहोर व्यवस्थापनमा सहज हुनेछ भने अर्कोतर्फ त्यहाँबाट उतपादन भएको मललाई कृषि कार्यमा प्रयोग गरेर आम्दानी बढाउन सकिने छ ।

वास्तवमा जहाँ इच्छा, त्यहाँ उपाय । जनघनत्व र शहरिकरणसँगै फोहोर व्यवस्थापन पनि समस्याको रुपमा अगाडि आएको छ । यस्तो अवस्थामा नगरपालिकाले यस्तै नयाँ विकल्प र उपायहरु अवलम्बन गरेर फोहोर व्यवस्थापनमा ध्यान दिन आवश्यक छ । अहिले सुरुवात भएको छ । बरु अब यसको दिगो संचालनमा ध्यान दिन आवश्यक छ ।
यस्तै फोहोरमा मोहर खोज्ने भनेजस्तै देशभित्रका अधिकांश स्थानीय तहले फोहोरबाटै मल र ग्यास पनि उत्पादन गरिरहेका छन् । बरु अब नगरपालिकाले यतातर्फ पनि लगानी बढाउन आवश्यक छ । यसो भएको खण्डमा नगरभित्रको फोहोर व्यवस्थापनमा सहज भएको छ । यसले अन्य लाभहरु पनि दिनेछ । साथै प्रदेश राजधानीलाई सफा र स्वच्छ बनाउन पनि सहयोग पुग्नेछ । यतातर्फ अबको ध्यान र योजना हुनु आवश्यक छ ।

तपाईको प्रतिक्रिया