कृष्ण आचार्यको ‘ब्लु डायरी’ सार्वजनिक

लेखक पत्रकार कृष्ण आचार्यको नयाँ पुस्तक ‘ब्लु डायरी’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गौरी मल्ल, साहित्यकार तथा पत्रकार अश्विनी कोइराला र कुशल घिमिरेले संयुक्त रुपमा पुस्तक विमोचन गरे । कलाकार गौरी मल्लले पुस्तक निकै रोचक रहेको बताइन् ।

‘यो पुस्तक पढ्दा मलाई बुबाको याद आयो । मैले पुस्तककै पात्रका रुपमा आफुलाई अनुभूत गरें । सायद, तपाईहरुले पनि यस पुस्तकको कुनै न कुनै सन्दर्भमा कुनै पात्रका रुपमा आफुलाई अनुभव गर्नुहुन्छ होला,’ मल्लले भनिन्, ‘पछिल्लो समय हामीले पढ्ने बानी त्यागिसक्यौँ, जो गलत छ । पुस्तकलाई माया गरौं, अक्षरलाई माया गरौं ।’ साहित्यकार अश्विनी कोइरालाले सरल भाषा लेखिएको हुनाले पुस्तक पढ्दा कुनै अलमल नहुने बताए ।

लेखक आचार्यले प्रेम, जीवन र दर्शकमा आधारित रहेर पुस्तक तयार गरेको बताए । पढेर यसमा भएका कमजोरीहरु पनि औल्याइदिन आग्रह गरे । ‘पढेर प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा गरेको छु । राम्रो भए तालि पाइएला, नराम्रो भए गाली पनि दिनुस् । कमी कमजोरीहरु औल्याइदिनुस् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ,’ आचार्यले भने, ‘यसमा केही कमजोरीहरु भएको भए अर्कोपटक सुधार्नेछु । एउटा श्रष्टाका रुपमा मलाई अवश्य पनि आफ्नो सिर्जनाको माया लाग्छ । तर, तपाईंहरुलाई कस्तो लाग्छ भन्ने महत्वपूर्ण हो ।’

लेखक आचार्यले तीन वर्षको अन्तरालपछि नयाँ पुस्तक सार्वजनिक गरेका हुन् । यसअघि उनले ‘अप्रिल फूल’ पुस्तक लेखेका थिए । ‘ब्लु डायरी’ बिएन पुस्तक संसारले बजारमा ल्याएको हो । पुस्तकको मूल्य ३ सय ५० रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया