अझै जुरेन लगानी सम्मेलनको ‘लगन’

कर्णालीमा लगानी आकर्षित गर्ने कसरत

सुर्खेत, १२ असोज । कर्णाली प्रदेश सरकारले २०७५ बैशाखमा कर्णाली–रारा महोत्सव सम्पन्न ग¥यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विशिष्ठ नेताहरु मुगुको रारा पुगे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाउनाहरुको पनि उपस्थिति भयो । उक्त महोत्सव गर्न झण्डै ८० लाख रकम खर्च भयो ।

सो महोत्सवको मुख्य दुई वटा उद्देश्य थिए । पहिलो कर्णालीमा पर्यटक तान्नु र दोस्रो पर्यटनबाट आर्थिक लगानी आकर्षण गर्नु । तर दुबै उदेश्यहरु पूरा हुने सकेनन् । पर्यटकबाट सहजै आर्थिक लाभ लिने प्रदेश सरकारको योजना सफल भएन । भौगोलिक विकटताका कारण सोचेजति पर्यटकहरु आएनन् । पर्यटक नै नआएपछि आर्थिक गतिविधिहरु चलाएमान हुने सम्भावना रहेन ।

प्रदेशमाआर्थिक गतिविधिहरु चलायमान नभएपछि प्रदेश सरकारले कर्णालीमा आउने लगानीकर्तालाई दश बर्षसम्म कर नलिने घोषणा ग¥यो । लगानीको वातावरण तयार पार्न प्रदेश सरकारले करमा छुट दिने घोषणाले पनि आर्थिक गतिविधिहरु चलायमान हुन सकेनन् । यही अवधिमा कोरोना महामारीका कारण लगानीकर्ताहरु आकर्षित भएनन् ।

कोरोना संक्रमण बढेपछि आर्थिक क्षेत्र पूर्णरुपमा ठप्प नै रह्यो । लगानी भित्राउने कर्णाली प्रदेशको योजना यतिकैमा रोकिएन । पहिलो चरणको कोरोना महामारी नियन्त्रण नहुँदै कर्णाली प्रदेश योजना आयोगले लगानी सम्मेलनको घोषणा ग¥यो । गएको बैशाखमा लगानी सम्मेलन आयोजना गर्ने आयोगले निर्णय ग¥यो । नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेश सरकार कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्न तयार भए ।

जसअनुसार लगानीका लागि परियोजना बैङ्कको ड्राफ्ट पनि तयार भयो । लगानीका लागि कृषि, पर्यटन, जडिबुटी, जलविद्युत लगायतका क्षेत्रमा लगानी निर्धारण गरियो ।

तर कोरोना महामारी र राजनीतिक घटनाक्रमका कारण बैशाखमा पनि प्रदेश सरकारलाई लगानी सम्मेलन गर्न लगन जुरेन । ‘कोरोना महामारी कारण लगानी सम्मेलन गर्न सकिएन’ प्रदेश योजना आयोगका सदस्य डा.दीपेन्द्र रोकाया भन्छन्, ‘लगानी सम्मेलनका लागि अब छिट्टै नयाँ मिति तय हुन्छ ।’
अहिले पनि प्रदेश सरकार कर्णालीमा लगानी सम्मेलन गर्ने विषयमा गम्भीर रहेको उनको तर्क छ । कोरोना महामारीको अवस्था सामान्य भएको खण्डमा लगानी सम्मेलन गर्ने आयोगको दाबी छ ।


लगानी सम्मेलन तय गरिएकै समयमा कर्णालीमा राजनीतिक उथलपुथल भएको थियो । गएको बैशाखमै एमालेले साथ छोडेपछि प्रदेश सरकार धरापमा परेको थियो । बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएर सरकार जोगाएका थिए । त्यसयता बदलिएको राजनीतिक घटनाक्रमका कारण प्रदेश सरकारले लगानी सम्मेलन आयोजना गर्न सकेको छैन ।

कर्णालीमा देश तथा विदेशबाट लगानी भित्राउनका लागि प्रदेश सरकारले दुई बर्षदेखि नै लगानी सम्मेलनको तयारी गर्दै आएको छ । यद्यपि हालसम्म पनि सम्मेलन आयोजना गर्न सकेको छैन । भौतिक तथा सामाजिक विकासका हिसाबले पछाडी परेको कर्णालीलाई लगानीका लागि भने‘ भर्जिन ल्याण्ड’ का रुपमा परिभाषित गरिन्छ ।

कर्णालीमा लगानी गर्नेलाई प्रदेश सरकारले कर छुट दिने बताउँदै आएको भए पनि ठूला लगानीकर्ता भने हालसम्म आकर्षित हुन सकेका छैनन । प्रदेश सरकारले पटक–पटक कर्णालीको विकास र आर्थिक समृद्धिका लागि सहयोग गर्नका लागि लगार्नकर्ताहरुलाई आग्रह गरिरहेको छ ।

लगानीका ५० वटा क्षेत्र निर्धारण

कर्णाली प्रदेश योजना आयोगले लगानी भित्राउनका लागि विभिन्न क्षेत्रका ५० वटा आयोजनाहरु तयार पारेको छ । जलविद्युत, जडिबुटी प्रशोधन, बस्ती विकास, कर्णालीको अर्गानिक उत्पादन, खानी तथा खनिज उद्योगहरु लगायतका ५० वटा योजनाहरु तयार भएका हुन् । ५० वटै आयोजनाहरु पूर्वाधारमा केन्द्रीत छन् ।
प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीको संयोजकतत्वमा गठित समितिले प्रोजेक्टकहरु अर्थात योजनाहरु छनौट गरेको हो । आयोगका सदस्य शाहीले भने केही समय अगाडि पदबाट राजीनामा दिइसकेका छन् । आयोगले लगानीका क्षेत्रहरु टुंगो लगाइ सकेका कारण अब तत्काल सम्मेलन गर्ने तयारी गरेको हो । ‘लगानीका क्षेत्रहरु एकीन भइसकेका छन्, कोरोनाको अवस्था सहज भएपछि सम्मेलन गर्न सकिन्छ’ आयोगका सदस्य रोकायाले भने, ‘ छिट्टै मन्त्रालयगत छलफल गरेर सम्मेलनको नयाँ मिति तय हुन्छ ।’ आगामी मंसिरसम्म लगानी सम्मेलन गर्न सकिने उनको तर्क छ ।

‘सरकारसँग एकीकन छलफल त भएको छैन, तर मंसिरमा सम्मेलन गर्दा उपयुक्त हुनसक्छ’ उनले भने, ‘ जतिसक्यो छिटो लगानी सम्मेलनको नयाँ मिति तोकिन्छ ।’ लगानीका क्षेत्रहरु निर्धारण भइसकेका कारण लगानी सम्मेलन गर्ने नगर्ने भन्नेर सरकारका निर्भर रहने आयोगको भनाइ छ । परिवर्तन भइरहेन राजनीतिक घटनाक्रम र सरकार फेरबदलका कारण सम्मेलनमा असर सक्ने छ । कर्णालीमा आउँदो कात्तिकभित्रै सरकार परिवतर्न हुने चर्चा छ । सरकार परिवर्तन भएको खण्डमा भने लगानी सम्मेलन थप अन्यौलमा पर्ने सम्भावना हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार