सिँचाइ नहुँदा खेतीयोग्य जग्गा बाँझै दुर्गममा सधैं अनुदानकै चामलको भर

कर्णालीमा बर्सेनि खाद्यान्न अभाव हुन्छ । यसको एउटै कारण हो, स्थानीय उत्पादन कम हुन्छ । अर्थात कर्णालीमा उत्पादन भएको खाद्यान्नले यहाँका बासिन्दालाई बर्षभरी खान पुग्दैन । मुख्यगरी दुर्गमका जिल्लामा उत्पादन राम्रो हुँदैन । दुर्गममा जग्गा भए पनि सिँचाइको सुविधा नहुँदा स्थानीयले अपेक्षाअनुसार उत्पादन गर्न सक्दैनन् ।

कर्णालीमा खेतीयोग्य जमिन पनि पर्याप्त छ । तर उक्त जग्गामा खेती गर्न सम्भव छैन । कारण सिँचाइ सुविधा नहुँदा कर्णालीमा अधिकांश खेतीयोग्य जमिन बाँझै रहने गरेको हो । सिँचाइ सुविधा नभएकै कारण प्रदेशमा खाद्यान्न उत्पादन कम हुन्छ । यही कारण कर्णालीका पहाडी र हिमाली जिल्लामा वर्सेनी खाद्यान्न अभाव हुने गरेको हो । जसले गर्दा कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन चुनौतीपूर्ण बनेको छ ।

कर्णालीमा स्थानीय उत्पादन कम हुनुको एउटै कारण सिँचाइ सुविधाको नहुनु हो । कर्णालीको कुल खेतीयोग्य जमिन मध्ये एकलाख ४८ हजार पाँचसय ४५ हेक्टर जमिनमा अहिले पनि आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता छ ।

हाल खेती भइरहेको दुईलाख १८ हजार आठसय ८० हेक्टर क्षेत्रफल मध्ये ६८ हजार तीनसय ३५ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा पुगेको छ । जसमध्ये पनि तीन हजार आठसय ३३ हेक्टर क्षेत्रफलमा मात्रै बर्षभरी सिँचाइ सुविधा उपलब्ध हुन्छ । बाँकी ३० हजार तीनसय दुई हेक्टर क्षेत्रफलमा आंशिक रुपमा मात्र सिँचाइ हुन्छ ।

यहीकारण कर्णालीमा न्यून उत्पादन हुने गरेको कर्णाली प्रदेश कृषि निर्देशनालयले जनाएको छ । अर्कोतर्फ कर्णालीको अधिकांश जमिन खेतीयोग्य छैन । ठूला पहाड, जंगल, भिरालो र उच्च हिमाली भेगका कारण सबै स्थानमा खेती सम्भव हुँदैन ।

प्रदेशको कुल २५ लाख २५ हजार दुईसय ७५ हेक्टर क्षेत्रफल मध्ये झण्डै दुईलाख ९९ हजार तीनसय ३९ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ । तर हाल दुईलाख १६ हजार आठसय ८० हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिदैं आएको छ । बाँकी रहेको ८२ हजार चारसय ५९ हेक्टर क्षेत्रफल भने सिँचाइ नभएकै कारण बाँझै रहेको हो ।

प्रदेश सरकारले सिँचाइ क्षेत्रमा लगानी गरे पनि तत्काल सबै क्षेत्रमा सिँचाइ सुविधा पु¥याउन सम्भव भने छैन । यसकारण तत्कालका लागि कर्णालीमा कृषि उत्पादन बढाउन र खाद्यान्नमा आत्मनिर्भर बनाउन थोपा सिँचाइ प्रविधि नै उपयुक्त विकल्प हुने कृषि विज्ञहरु बताउँछन् ।

सरकारी तथ्याङ्क अनुसार सुर्खेतमा सबैभन्दा बढी १७ हजार सातसय ५६ हेक्टर खेतीयोग्य जग्गा सिँचाइ अभावमा बाँझै रहेको छ ।

दुर्गमका लागि भनिएको चामल सुर्खेतमै थन्किया

यतिबेला कर्णालीका दुर्गम जिल्लामा चामलको अभाव छ । दसैं नजिकिएकाले पनि स्थानीयले चामलको जोहो गर्न खोजेका छन् । तर सरकारले दुर्गममा सहुलियतमा उपलब्ध गराउँदै आएको चामल स्थानीयले पाउन सकेका छैनन् । कारण दुर्गममा अनुदानमा बिक्री गर्नुपर्ने चामल अहिले सुर्खेतमै थन्किएको छ ।
ढुवानीको टुङ्गो नलागेपछि कर्णाली प्रदेशका हिमाली जिल्लामा बिक्री गर्नुपर्ने सहुलियतको चामल सुर्खेतमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयको गोदाममै थन्किएको हो ।
यता खाद्यान्न ढुवानी नहुँदा गोदाममा थन्किएको छ भने दुर्गमका बासिन्दा चामलविनै दशैं मनाउनुपर्ने चिन्तामा छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतको गोदाममा हाल करिब १३ हजार क्विन्टल चामल थन्किएको छ । तर उक्त चामल दुर्गममा ढुवानी गर्नका लागि हालसम्म ठेक्का प्रक्रिया टुङ्गिएको छैन ।

कर्णालीका हुम्ला, डोल्पा, जुम्ला, कालिकोट र जाजरकोटलगायत जिल्लामा हरेक वर्ष चाडपर्वमा खाद्यान्न अभाव हुने गर्दछ । तर त्यहाँ सहुलियतमा चामल पु¥याउने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने त्यसको समाधान गर्न सकेको छैन ।

अघिल्लो आर्थिक वर्षमा ढुवानी भएको चामल सकिएको र नयाँ आर्थिक वर्ष सुरु भएयता ढुवानी नहुँदा दसैंको मुखैमा दुर्गममा रहेका खाद्य डिपोहरू रित्तै भएका छन् । तर कम्पनीले भने ढुवानीका लागि ठेक्का प्रक्रिया थालिए पनि ठेकेदारको टुंगो लागि नसकेको जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका सूचना अधिकारी वासुदेव रिजालले ढेक्का प्रक्रियामै रहेको र दशैं आउने केही दिनमात्र बाँकी रहेकाले दशैं अगाडि दुर्गममा चामल ढुवानी हुने सम्भावना कमजोर रहेको बताए । यद्यपी आफूहरुले प्रयास जारी राखेको उनको भनाइ छ ।

खाद्यान्न उपलब्ध गराउन माग

दुर्गममा रहेका खाद्य डिपोमा चामल छैन । तर कम्पनीका जिल्ला सदरमुकामस्थित कार्यालयमा भने केही मात्रामा भए पनि चामल मौज्दाद छ । त्यो पनि सदरमुकाम बाहिरका खाद्य डिपोहरूमा ढुवानी गरिएको छैन । समयमै ढुवानी नहुँदा पनि दुर्गमका नागरिकले दसैँ र तिहार लगायतका चाडवाडमा चामल नपाउने समस्या आएको हो । गाउँमा चामल उपलब्ध नभएपछि स्थानीयले तत्काल खाद्यान्न उपलब्ध गराउन सरकारसँग हारगुहार गरेका छन् ।

हुम्लाको अदानचुली गाउँपालिका–२ का कलु कटुवालले खाद्यान्न अभावकै कारण चाडपर्वमासमेत भोकै बस्नुपर्ने बाध्यता आउन थालेको भन्दै तत्काल चामल उपलब्ध गराउन माग गरे । उनले गाउँमा चामल पाइन छाडेको भन्दै तत्काल यसबारेमा पहल गरिदिन प्रदेश सरकारसँग आग्रह गरे ।
हाल हुम्ला सदरमुकाममा तीनहजार दुईसय क्विन्टल, मुगु सदरमुकाममा पाँचसय ५० क्विन्टल र डोल्पा सदरमुकाममा तीनसय ६४ क्विन्टल मात्र चामल छ । त्यो पनि सर्वसाधारणलाई बिक्री गरिएको छैन । जुम्लाका नवराज शाहीले सरकारले नै दुर्गममा चामल नै नपठाउने र कुहिएको चामल मात्र पठाउने गरेको भन्दै आक्रोश पोखे ।
चाडवाडको बेलामा कुनै पनि वहानामा दुर्गममा चामल उपलब्ध हुनुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया