आँगनमै विशेषज्ञ सेवा

आजभन्दा केहीवर्ष अघिसम्म कर्णालीमा राम्रो उपचार गर्ने अस्पताल थिएनन् । सामान्य उपचारका लागि विरामीलाई नेपालगंज, काठमाण्डौं वा भारतको लखनउसम्म लैजानुपर्ने बाध्यता थियो । भएका अस्पतालमा पनि कमजोर व्यवस्थापन, दक्ष चिकित्सक उपलब्ध नहुनु र अस्पतालमा रहेका स्वास्थ्यकर्मीको पनि रुखो व्यवहारका कारण विरामी यहाँको स्वास्थ्य सेवासँग सन्तुष्ट हुने अवस्था थिएन । त्यसमा पनि नाम मात्रको तत्कालिन मध्यपश्चिम क्षेत्रीय अस्पताल जो हाल प्रदेश अस्पताल नामाकरण भएको छ ।

यो अस्पतालले दिने सेवाबारे त नागरिकले सार्वजनिक रुपमै टिकाटिप्पणी गर्दथे । यो अस्पतालमा नाम अनुसार सेवा र सुविधा नहुँदा विरामीले उपचारमा विश्वास पनि गरेनन् । बरु कतिपय विरामीले अस्पतालमा उपचार गराए पनि सन्तुष्ट हुने अवस्था थिएन । अर्कोतर्फ अस्पतालले नै सामान्य रोगको उपचार गर्न नसकेर जिल्लाबाहिर नै रिफर गर्ने गरेका धेरै घटनाहरु छन् । त्यति हुँदा पनि यो अस्पतालमा सुधारका लागि पहल भएनन् । बरु को हाकिम हुने र कसका आफन्तलाई जागिर खुवाउने भन्ने प्रतिस्पर्धा नै चल्यो ।

तर अहिले त्यही अस्पतालको मुहार फेरिएको छ । अस्पतालको भौतिक स्वरुप पनि बदलिएको छ । हिजोको गिरेको साख फिर्ता गर्ने कसरतमा यतिबेला यो अस्पताल लागेको छ । अहिले त अस्पतालले जटिल मानिने रोगको पनि उपचार गरेर नयाँ सन्देश दिएको छ । त्यतिमात्र होइन, हिजो आउनै नमान्ने विशेषज्ञ डाक्टरहरु पनि हिजाआज अस्पतालमा उपलब्ध भएका छन् ।


कुनैबेला दाताले दिएको केही थान आईसीयू बेडले गर्भ गर्ने यो अस्पतालमा अहिले थुप्रै विशेषज्ञ उपकरणहरु भेन्टिलेटर, अत्याधुनिक मेसिन र अक्सिजनको उत्पादन पनि हुन थालेको छ । भौगोलिक रुपमा विकट र गरिबीले थलिएको कर्णालीका नागरिकका लागि योभन्दा सुखद् खबर अरु के हुन सक्छ रु सामान्य उपचारका लागि पनि ऋण काढेर उपचारका लागि बाहिर जान बाध्य यहाँका नागरिकले अब विस्तारै आँगनमै सहज रुपमा उपचार पाउने बाटो खुलेको छ । यो सकारात्मक परिवर्तन हो । साथै विरामीको सेवाका लागि अस्पतालले गरेको सत्कर्म नै हो ।

वास्तवमा मानिसका लागि उसको स्वास्थ्यभन्दा ठूलो अरु केही हुन सक्दैन । मानिसले सहज उपचार र औषधि पाउनु पर्दछ । अकालमा कुनै पनि नागरिकले ज्यान गुमाउनु हुँदैन । त्यसमा पनि सिटामोलसमेत नपाउने कर्णालीका नागरिकले सहज रुपमा र सस्तो उपचार पाउनुपर्ने हुन्छ । यसका लागि हालसम्म जे जसरी भए पनि प्रदेश अस्पतालले आफ्नो सेवा र सुविधालाई सुधार गरेको छ । यतिले मात्र पुग्ने अवस्था छैन ।

अहिले पनि केही विशेषज्ञ चिकित्कस र उपचारको कमी छ । यसतर्फ अस्पताल व्यवस्थापन र नेतृत्वले सोच्न आवश्यक छ । अनिमात्र भोलीका दिनमा नागरिकले वास्तवमै संघीयतको अनुभूति गर्न पाउनेछन् । कर्णालीमा पनि विशेषज्ञ उपचार हुन्छ भनेर कर्णालीबासीले गर्व गर्न सक्ने अवस्था आउनेछ । यतातर्फ गम्भिर बन्दै प्रदेश सरकारले अस्पतालमा थप सेवा र सुविधा थपेर नागरिकलाई विना झन्झट सेवा उपलब्ध गराउनेतर्फ ध्यान दिन आवश्यक छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार