अन्तर्वार्ता

बर्षातमा भत्किएका सडकहरु सुधार नहुँदा यात्रुलाई सकस

चाडपर्र्व नजिकीँदै गर्दा यात्रुको चाप बढेया

सुर्खेत, ६ असोज । अधिकांश नेपालीले मनाउने ठूला चाड दसैं र तिहार नजिकिँदै छन् । वर्षमा एकपटक आउने यी चाडमा सर्वसाधारण जन्मघर नै पुग्ने कोशिस गर्छन् । रोजगारी, व्यवसाय र पढ्नका लागि सहर तथा परदेशसम्म पुगेकाहरुलाई घर फर्कने वहाना पनि हुन् चाडपर्व । यहीकारण पनि यसपालीको दसैं र तिहार मनाउन सर्वसाधारणहरु गाउँ फकर्न थालेका छन् । सर्वसाधारण गाउँ फकर्न थालेपछि सडक र राजमार्गहरुमा यात्रुको चाप पनि बढेको छ ।

तर यसपाली गाउँ फर्कन सहज भने छैन । कारण, यसपाली धेरै वर्षात भएका कारण अधिकांश सडकहरु भक्एिका छन् । राजमार्गमा पहिरो खसेर सडक बिग्रिएका छन् । त्यसमा पनि अधिकांश ग्रामीण सडकको अवस्था दयनीय नै छ । सडकमा जमेको पानी, खाल्डा र हिमाम्य सडकले यात्रा सजिलो छैन । यसले गर्दा यात्रुलाई गन्तव्यमा पुग्न सकस भइरहेको हो ।

कर्णालीमा सबैभन्दा धेरै यात्रु र सवारी साधन गुड्ने कर्णाली राजमार्गको अवस्था पनि राम्रो छैन । साविक कर्णालीको मुख्य प्रवेश मार्गको रुपमा रहेको यो राजमार्गको अधिकांश स्थानमा पहिरो खसेको छ । सडक भत्किएको छ । हिलाम्य र साँघुरो सडकका कारण यात्रु र सवारी साधनले हैरानी भोगिरहेका छन् । तर राजमार्गको मर्मत तथा सुधारमा भने कसैलो चासो दिएका छैनन् । सडक मर्मत नहुँदा यात्रुले नैगाडीलाई धकेल्नुपर्ने र ठाउँठाउँमा पैदल नै हिँड्नुपर्ने बाध्यता छ । यसले यात्रुलाई गन्तव्यसम्म पुग्न धेरै समय खर्चनुपर्ने बाध्यता आइलागेको छ ।

साविक कर्णालीका जुम्ला, कालिकोट, मुगु, हुम्ला र दैलेखका अधिकांश नागरिक मजुदरीका लागि कालापहाड जाने गरेका छन् । यतिबेला उनीहरु दसैं मनाउन गाउँ फर्कन थालेका छन् ।
तर कर्णाली राजमार्गको हालतले उनीहरुलाई गाउँसम्म पुग्न सहज छैन । यो राजमार्ग अन्तरगर्त दैलेख खण्डको सियाँला, जाक्सी, राकमकर्णाली, घट्टेखोला क्षेत्रमा सडकको अवस्था नाजुक छ । यस्तै कालिकोट खण्डमा पनि पहिरोले सडक साँघुरो र हिलाम्य छ ।

यही राजमार्गको नाग्मदेखि मुगुको गमगढीसम्मको खण्ड पनि हिलाम्य र अधिकांश स्थानमा भत्किएको छ । तर सुधार नहुँदा सावारी चालक र यात्रुलै हैरानी भोगिरहेका छन् । राजमार्गमा रहेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम उच्च रहेको सवारी चालक जीवन सुनारले बताए । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कर्णाली राजमार्गमा गाडी चलाउन निकै सास्ती हुने गरेको उनको पीडा छ ।

जुम्लाका हर्क बुढाले राजमार्गमा यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य भएको बताए । ‘दुर्घटनाको जोखिम धेरै छ, राजमार्ग भनेर मात्र के गर्नु ? सडकको अवस्था बेहाल छ’ उनले भने ।सामान्यतया एक दिनको यो बाटो पार गर्न बर्षातको बेला कालिकोटबाट सुर्खेत पुग्नै तीन दिनसम्म कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । ‘यो सडक खुलेको बर्षौ भयो, आजसम्म हाम्रा दुख उस्तै छन्’ मुगु जाँदै गरेको धनबहादुर रोकायाले भने ‘नेताले भोट लिएर मन्त्रीसम्म भए, हामीलाई गाडी चढ्न ज्यानको बाजी राख्नु परेको छ ।’

ग्रामीण सडकमा बेहाल

मुख्य राजमार्गमा जसोतसो सरकारी ध्यान पुगिहाल्छ । दैनिक सवारी साधनको चाप बढी हुने भएकाले पनि पहिरो आउँदा पन्छाउने र हिलाम्य हुँदा खाल्डा पुर्ने काम गरिन्छ । तर ग्रामीण सडकमा भने सरकारी निकायको ध्यान सामान्य अवस्थामा पुग्दैन ।
यसकारण पनि सर्वसाधारणले ग्रामीण सडकमा बढी दुख पाउने गरेका छन् । ग्रामीण सडकहरु प्रायः बर्षातमा ठप्प नै हुन्छन् । बर्षातका कारण पहिरोले भत्काउने र हिलाम्य हुने भएकाले ती सडकमा गाडीचल्न सक्दैनन् । स्थानीय तहले बर्षात सकिएपछि भत्किएका सडकमा सामान्य मर्मत गरेजस्तो गर्ने गरेका छन् । तर यसपाली सर्वसाधारण गाउँ पस्ने समय नजिकिए पनि सुर्खेतका अधिकांश ग्रामीण सडकहरु मर्मत तथा सुधार हुन सकेका छैनन् ।

सुर्खेतको पश्चिम क्षेत्र जोड्ने बड्डिचौरदेखि लगामसम्मको सडक, उत्तरमा चिगांड जोड्ने सडक र पूर्वमा धुनियाबिटदेखि भेडाबारी जोड्ने सडकमा यात्रुले सास्ती भोग्नु परेको हो ।

सदरमुकामभित्रै हिलाम्य सडक
जुम्लाको सदरमुकाममा रहेका अधिकांश सडक जताजतै हिलाम्य हँदा नागरिकलाई सास्ती भएको छ । खलंगाभित्रका हिलाम्य सडक अझै सुधार हुन सकेका छैनन् । नेपाल टेलिकम हुँदै सिंगाचौर सडक, पत्रकार महासंघ हुँदै सिंगाचौर सडक, टेलिकम अगाडि विजयनगर हुँदै बसर्पाक जाने सडकलगायत चन्दननाथका दर्जनौँ भित्री सडक वर्षौंदेखि हिलाम्य छन् ।

चन्दननाथ नगरपालिका ८, ९, १० नम्बर वडाका गाउँ पुग्ने सडक पनि हिलाम्यनै छन् । गाउँ पुगेका तथा सदरमुकाम भित्रका कच्ची सडक सुधार तथा स्तरवृद्धिमा नगरपालिकाको ध्यान नपुग्दा स्थानीयलाई सकस हुँदै आएको छ । केही दिनयता नियमित वर्षा भएपछि नगरपालिकाका आधा दर्जन भित्री सडकहरु हिलाम्य बनेका छन् । टेलिकम अगाडिको सडक कालोपत्रे गरेको एक वर्ष नबित्दै हिलोले पुरिएको छ ।

नगरपालिकाले  नाली व्यवस्थापनदेखि हिलाम्य सडकलाई आरसिसीसम्म गर्न सकेको छैन । सोही कारण हिलाम्य सडकबाट आउने हिलोले कालोपत्रे पुरिएको हो ।

तत्काल सडक मर्मत गर्न यातायात व्यवसायीको आग्रह

दसैँ नजिकिँदै गर्दा यात्रुको चाप बढेको भन्दै यातायात व्यवसायीले तत्काल सडक मर्मत तथा सुधार गर्न आग्रह गरेका छन् । वर्षातमा सडक भत्किएको र पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध भएका कारण समस्या भएको व्यवसायीको गुनासो छ ।

चाडपर्व नजिकिँदै गर्दा गाउँ जाने यात्रुको चाप बढेको र सडकमा सास्ती भइरहेको व्यवसायीले बताएका छन् । लामो तथा छोटो दूरीका अधिकांश सडकमा पहिरो गएको र खाल्डाखुल्डी परेको भन्दै सडक मर्मत नहुँदै दसैँको अग्रिम टिकट बुकिङसमेत नखोल्ने यातायात व्यवसायीले चेतावनी दिएका छन् ।

सबैतिर सडक भत्किएको र त्यसको मर्मतमा सरकारले चासो नदिएको भन्दै उनीहरूले सडक मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । बुधबार यातायात व्यवसायी, सडक विभाग र यातायात व्यवस्था विभागबीच भएको छलफलका क्रममा व्यवसायीहरूले सडकको अवस्था सुधार्न आग्रह गरे । उनीहरूले सडक निकै जोखिमपूर्ण रहेकोले मर्मत गरिदिन भनेका छन् । यातायात व्यवसायी केन्द्रीय महासंघका सचिव सरोज सिटौलाले दसैँको टिकट बुकिङ मात्रै खोलेर नहुने बताए ।

उनले सडकको अवस्था निकै भद्रगोल र अव्यवस्थित भएकोले मर्मत गर्नतर्फ सरकारले चासो दिनुपर्ने बताए । सडक विभागले भने दसैँलाई लक्षित गरेर अधिकांश सडकका खाल्डा पुर्ने प्रतिबद्धता जनाएको छ ।

 

तपाईको प्रतिक्रिया