नेपाली मुलकी स्नेहा लिम्बु नेपालविरुद्ध खेल्दै 

इलाम । नेपाली मुलकी स्नेहा लिम्बुले एएफसी एसियाली कपको छनौटमा नेपालविरुद्ध खेल्ने भएकी छन् । हङकङमा जन्मेकी नेपाली छोरी स्नेहाले अपराहन्न ३ः४५ मा हुने खेलमा नेपालविरुद्ध प्रतिस्पर्धा गर्न लागेकी हुन् ।

१६ वर्षिया उनले हङकङको सिनियर टोलीबाट १ खेल खेल्दै १ गोल गरेकी छन् । गत मार्च टर्कीस वुमेन्स कपअन्तर्गत रोमानियाविरुद्धको खेलबाट हङकङको राष्ट्रिय टोलीमा ‘डेब्यु’ गर्दै अन्तराष्ट्रिय गोलको खाता खोलेकी थिइन । उक्त खेलमा हङकङ ४–१ को नतिजामा पराजित भएको थियो ।

गत वर्ष साउथ चाइना मर्निङ पोस्टमा एन्ड्रयु म्याक्निकोलले स्नेहालाई ब्राजिली सुपरस्टार नेइमारसँग दाँज्दै समाचार प्रकाशित गरेका थिए ।
उक्त समाचारमा हङकङको महिला फुटबलमा स्नेहाको उपस्थिती नेइमारको जस्तै भनेर तुलना गरिएको थियो ।

उनले भनेकी छिन् ’राष्ट्रिय टिमबाट खेल्दा निकै राम्रो लाग्छ । म राष्ट्रिय टिमका लागि केहि उपलब्धि दिलाउन चाहान्छु । जस्तो एसियन गेम्स वा अरु ठूला प्रतियोगिता जित्न चाहान्छु ।’ सुरुमा स्कुलमा उनले फाइभ ए साइड फुटबल प्रतियोगिता खेलेकी थिइन् । त्यति बेला देखि नै उनी ब्राजिलियन फरवार्ड नेइमारकी फ्यान हुन् ।

उनले ८ वर्षको उमेरबाट फुटबल खेल्न सुरु गरेकी थिइन् । स्नेहाको पुख्यौली घर धरान रहेको बताइएको छ । उनले एएफसी यू(१६ च्याम्पियनसिपमा भारतबिरुद्ध गोल गरेको रेकर्ड छ । उक्त खेलमा भारतले ६–१ को जित निकालेको थियो ।

स्नेहाले २०१९ को मार्चबाट हङकङको १९ वर्ष मुनिको टोलीमा समेत खेलेकी छन् । उनको फिनिसिङ शैली परिपक्व खेलाडीको जस्तो छ । धेरैको बुझाईमा उनी ‘भविष्यकी सफल फुटबलर’ हुनेछिन् ।

तपाईको प्रतिक्रिया