अन्तर्वार्ता

टेलिफोनबाटै प्रेम प्रस्ताव

टेकराज केसी ;

मानिस जन्मदा एक्लै जन्मिन्छ । तर विस्तारै ऊ सामाजिक बन्धनमा जेलिन्छ । नाता जोडिन्छ । आफन्तहरु बढ्छन् । सम्बन्धहरु पनि स्थापित हुन्छन् । कतिपय सम्बन्धहरु व्यक्ति आफैले निर्माण गर्दछ भने कतिपय सम्बन्धहरु आफन्तमार्फत जोडिन्छन् । त्यसमा पनि वैवाहिक सम्बन्ध भने जीवनको एउटा महत्वपूर्ण पाटो हो । आफैले मन पराएर वा आफन्तले जोडिदिएर पनि वैवाहिक सम्बन्धहरु स्थापित हुन्छन् । नेपाली संस्कार र प्रचलनमा भने धेरैजसो सम्बन्धहरु आफन्तले नै जुराइ दिन्छन् । यस्तै एउटा जोडी हो भुपेन्द्र कडेल र कल्पना ढकालको । जो आफन्तमार्फत नजिक भए । आपसमा प्रेम गरे । अनि वैवाहिक सम्बन्धमा जोडिए । प्रस्तुत छ, यो जोडिसँग गरिएको कुराकानीको सम्पादित अंश :

 

आफन्तमार्फत चिनजान
भुपेन्द्र कँडेल र कल्पना ढकालको चिनजान भुपेन्द्रका एकजना आफन्तले गराइ दिएका हुन् । अन्य मानिसहरुबाट कल्पनाको बानी र व्यवहारसँगै परिवार पनि राम्रो भएको सुनेका भुपेन्द्रले आफन्तमार्फत नै एकदिन कल्पनालाई भेट्न गए । त्यसपछि मात्र उनीहरुबिचमा चिनजान भयो । तर कुराकानी भने भएन । भुपेन्द्रले साथीमार्फत कल्पनाको मोवाइल नम्बर मागे ।

देखादेख मात्र गरेका उनीहरुबिचमा कुराकानी भएको भने थिएन । भुपेन्द्रले देख्नेवित्तिकै कल्पनालाई मन पराएका थिए । त्यही भएर नै उनले मोवाइल नम्बर अरुबाट मागेर लिएका हुन् । हटेलिफोनबाटै बोलचाल भुपेन्द्रले कल्पनासँग प्रत्यक्ष भेट हुँदा बोल्न सकेका थिएनन् । त्यसकारण उनले घरमा आएर कल्पनालाई फोन गरे । उनले शुरुमा त धेरै कुरा गर्न सकेनन् ।

आफ्नो परिचय मात्र दिए। अनि उनीहरुबिचमा फोनबाटै कुराकानी दैनिक हुन थाल्यो । भुपेन्द्रले कल्पनाको बारेमा सबै थाहा पाएका थिए । उनले पहिलो नजरमै उनलाई मन पराएका थिए । उनले एकदिन अब आफुले मन पराएको कुरा भन्छु भनेर फोन गरे । अनि प्रेम प्रस्ताव राखे । कल्पनाले पनि आफुले मन पराएको कुरा जाहेर गरिन् । उनले अब चिनजान भएको भन्दै घरमा आएर कुरा गर्न भुपेन्द्रलाई भनिन् ।

भुपेन्द्र कल्पनानाको घरमा पुगेर उनका बुवाआमासँग आफुले मन पराएको कुरा गरे । कल्पनाका घरपरिवारले पनि स्वीकार गरे । दुबै घरपरिवारको सहमतीपछि उनीहरु प्रेमिप्रेमिकाको रुपमा व्यवहार गर्न थाले ।

अनि विवाह
घरपरिवारसँग विवाह गर्ने फिक्स भएपछि उनीहरुको सम्बन्ध विवाहमा परिणत भयो । उनीहरुको चिनजान भएको ६ महिनापछि २०६५ फागुन १७ गते विहे भयो । परिपक्व भइसकेका भुपेन्द्रको उमेर २८ बर्ष थियो भने कल्पनाको उमेर २३ बर्ष थियो । विवाह भएपछि उनीहरु सुर्खेत वीरेन्द्रनगरमा भाडाको घरमा बस्दै आफ्नो पढाईसँगै काम पनि गर्न थाले ।

जीवनमा संघर्ष
दुबैजना कोठामा भाडामा बसेर आफ्नो पढाइ र काममा मेहेनत गर्न शुरु गरे । उनीहरुबिचमा काम गर्दा सल्लाह र सहकार्य भने सानोसानो कुरामा समेत हुने गथ्र्यो । भुपेन्द्र गाउँमा हुर्किएका र कल्पना शहरमा हुर्केकोले परिवेश फरक थियो । दुबै जनाको परिवेश फरक भए पनि मन भने मिल्थ्यो । उनीहरुले जस्तोसुकै दुख र कष्ट गरेर भए पनि एकअर्कालाई साथ दिन तयार थिए । उनीहरु दुवैको स्वभाव धेरै जसो मिल्छ ।

लामो मेहनेत र संघर्षपछि भुपेन्द्रले आफ्नो पढाइसँगै सामाजिक क्षेत्रमा काम गर्ने अवसर पाए । त्यसपछि उनीहरुको जीवनमा सहजता आयो । यता कल्पनाले पनि मेहेनत गरेर पढिन् । भुपेन्द्रको साथ पाएपछि उनले शिक्षा क्याम्पसबाट स्नातक तह उतिर्ण गरेकी छन् । उनीहरु अहिले सन्तुष्टिसँग जीवन विताइरहेका छन् ।

कस्तो थियो बाल्यकाल ?
बुवा चद्रकान्त कँडेल र आमा लिलादेवी कँडेलको कोखबाट विस २०३६ साल जेष्ठ १ गते साविकको विद्यापुर गाविस वडा नं ८ हालको पञ्चपुरी नगरपालिका वडा नं ८ काँडाखेत सुर्खेतमा भुपेन्द्र कँडेलको जन्म भएको हो । सानो कक्षा सिद्देश्वरी निमाविमा पढेका उनी इमान्दार र मेहनती थिए । पढाइमा धेरै ध्यान दिने उनले घरको सबै काम गर्न जानेका थिए । उनले साँझबिहान घरको काम सकेर विद्यालय गएर पढ्थे ।

उनका पाँच दाजुभाई र दुईदिदि गरी सातजना छन् । गाउँमा हुर्केका कँडेलले उच्च शिक्षा २०६९ मा समाजशास्त्रमा स्नातकोत्तर गरेका हुन् । यता बुवा नन्दलाल ढकाल र आमा टीकादेवी ढकालको कोखबाट विसं २०४१ साल बैशाख १९ गते वीरेन्द्रनगर १६ मेहेलीमा कल्पना ढकालको जन्म भएको हो । उनका तीन भाइबहिनी रहेका छन् ।

सानोदेखि नै आफ्नो काममा मात्र ध्यान दिने उनले सानो कक्षा गाउँमा पढिन् । त्यसपछिको शिक्षा भने उनले वीरेन्द्रनगर बसेर गरेकी हुन् । उनले शिक्षा क्याम्पसबाट स्नातक तह उतिर्ण गरेकी छन् । उनीहरु दुबै जनाले एकअर्काको बानीलाई साह्रै मन पराउँछन् । दबुै जनालाई सुखदुखमा साथ दिने र मनमा भएको कुरा सेयर गर्ने बानी मन पर्छ ।

सल्लाह र सहकार्य
यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । र काम बाँडफाँड गरेर अगाडी बढाउने mगर्दछन् । उनीहरुको योजना जहिले पनि समझदारीमा हुने गर्दछन् । सानो कुरामा पनि सल्लाह गरेर काम गर्छन् । दुबै जना हरेक काम गर्दा एकअर्काको सहकार्य र सहयोगविना कुनै काम गर्दैनन् ।

यो जोडी कहिलेकाँही फुर्सद मिलाएर रमाइला ठाउँहरुमा घुम्न पनिजान्छन् । घरको खाना बनाउने काम पनि बाँडफाँड गरेर दुबै जनाले काम गर्छन् । सहयोगी स्वभाव र राम्रा ठाउँ घुम्न पनि जान्छन् । आपसी विश्वास
र सहकार्यले नै सम्बन्धमा खटपट नल्याउने उनीहरुको बुझाइ छ । त्यही भएर नै उनीहरु सफल जोडी बन्न सफल भएका छन् । उनीहरुले सम्बन्ध टिकाउन एकअर्कालाई विश्वास गर्नुपर्ने र जुनसुकै काममा पनि सल्लाह गर्नुपर्ने सुझाव दिन्छन् ।

तपाईको प्रतिक्रिया