सम्पादकीय : सुरक्षाको ग्यारेन्टी

सुरक्षित भएर बाँच्न पाउनु व्यक्तिको पहिलो अधिकार हो । अझ भनौं समाजमा सुरक्षित भएर बाँच्न पाउनु हरेक व्यक्तिको मानवअधिकार पनि हो । राज्य अर्थात सरकारले मानवअधिकारको संरक्षण गर्नु पर्दछ । यही कारण राज्यसँग सेना र प्रहरी हुन्छन् । सरकारले संचालन गर्ने सेना र प्रहरी राख्नुको मुख्य उदेश्य भनेकै समाज र देशमा शान्ति सुरक्षा कायम गर्नु हो । अर्थात समाजमा हुने कुनै पनि प्रकारका अपराधलाई नियन्त्रण गर्नु हो । तर कतिपय अवस्थामा सरकारी निकायले प्रभावकारी काम नगर्दा समाजमा अपराधहरु बढ्दछन् । मानिसहरु असुरक्षित हुन्छन् । सुरक्षा संयन्त्रले काम नगर्दा समाजमा व्यक्ति हत्याका घटनाहरु पनि बृद्धि हुन्छन् । पछिल्लो समय कर्णालीमा यस्तै भएको छ । सोमवार राती मात्र दैलेखको गुराँसमा एक शिक्षकको विभत्स तरिकाले हत्या भएको छ । उनको स्कुलमै हत्या भएको घटनाले पनि समाजमा शान्ति सुरक्षाको अवस्था कस्तो रहेछ भन्ने देखाएको छ ।

यो त केवल हत्याको एउटा उदारण मात्र हो, कर्णालीमा पछिल्लो तीन वर्षमा भएका हत्याका घटना केलाउँदा अवस्था डरलाग्दो छ । नागरिकले राज्य अर्थात सुरक्षा संयन्त्रबाट सुरक्षाको अपेक्षा गर्दछन् । तर पनि समाजमा अपराध हुने गरेका छन् । त्यसमा पनि मानिसको बाँच्न पाउने अधिकार नै खोसेर हत्यासम्म गर्नेक्रम बढ्नु एउटा लोकतान्त्रिक देशका लागि लज्जाको विषय हो । त्यसमा पनि शान्तिका प्रतिक अर्थात बुद्धको देशमा हत्याका घटना हुनु राम्रो पक्कै होइन । समाजमा बढ्दै गएको सामाजिक संजालको दुरुपयोग, अवैध यौन सम्बन्ध, सम्पत्किो लोभ र जातिय विभेदका कारण व्यक्ति हत्याका घटनाहरु बढ्दै गएको देखिन्छ । यसले हाम्रो समाजलाई कता लैजादै छ ? समाजमा आज मानिस मानिससँग नै डराउनुपर्ने अवस्था आएको छ । यसले मानव समाज एक्लो बन्दै गएको जस्तो देखिन्छ । सवैभन्दा चेतनशील प्राणि भनिने मानिस नै आज अपराधिक मानसिकताबाट असुरक्षित हुनु दुखद हो । आफ्नाहरुबाट ज्यान जोगाउनुपर्ने र असुरक्षित महशुस गर्नुपर्ने यो अवस्थाबाट हरेक व्यक्तिले मुक्ति पाउनै पर्दछ ।

राज्य अर्थात सरकार नागरिकको अभिभावक हो । उसँग वैधानिक हतियार र सेना पनि हुने भएकाले पनि समाजमा अपराधहरु नियन्त्रण गर्नुपर्ने दायित्व छ । त्यसमा पनि अपाराध नियन्त्रणका लागि सुरक्षाकर्मीहरु नागरिकको बिचमै हुनु पर्दछ । हरेक व्यक्तिले परिवार, समाज र देशभित्र सुरक्षित भएको अनुभूति गर्ने अवस्था राज्यले नै निर्माण गर्नु पर्दछ । कुनै पनि वहाना र कारणबाट नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने र हत्या हुनुपर्ने अवस्थाको अन्त्य गर्नेतर्फ सरकार गम्भिर हुनु पर्दछ । अपराधमा संलग्नहरुलाई राजनीतिक संरक्षण दिदा पनि समाजमा अपराधले प्रश्रय पाएको देखिन्छ । अपराधमा संलग्नहरुलाई कानुन अनुसार दण्ड दिने, सुरक्षाकर्मीको परिचालन प्रभावकारी बनाउने, समाजलाई नै थप चेतनशील बनाउने र समुदाय नै अग्रसर भएर अपराध नियन्त्रणमा उभिने हो भने हरेक व्यक्तिले शान्ति सुरक्षाको अनुभूति गर्न सक्ने अवस्था आउन सक्छ । यसका लागि राज्यले नै शान्ति सुरक्षाको ग्यारेन्टी दिनु पर्दछ ।

तपाईको प्रतिक्रिया