उत्पादित बस्तुलाई भण्डारण गर्न ‘कोल्डस्टोर’ निर्माण गरिदै

कर्णालीलाई फलफूलमा आत्मनिर्भर बनाउने प्रयास

सुर्खेत, १ असोज ।
कर्णाली प्रदेशमा कुल नौ हजार एकसय २५ हेक्टर क्षेत्रफलमा आलु उत्पादनका लागि योग्य जमिन छ । प्रदेशका दशवटै जिल्लामा हिउँदे र बर्षे आलुको उत्पादन पनि हुन्छ । तर कमैले मात्रै व्यावसायिक रुपमा आलु खेति गर्छन् । कर्णालीमा बार्षिक एकलाख ८२ हजार मेट्रिकटन आलु उत्पादन हुँदै आएको छ ।

तर सिजनमा उत्पादित आलुले बजारसमेत पाउँदैनन् । अफसिजनमा भने यहाँ आलुको हाहाकार हुन्छ । किनकी कर्णालीमा उत्पादित आलुको भण्डारणका लागि कोल्डस्टोर (शितभण्डार) नै छैनन् । भएका कोल्डस्टोर पनि न्यून क्षमताका छन् । यहीकारण आलुमा आत्मनिर्भर हुने सम्भावना हुँदाहुँदै पनि कर्णालीवासी भारतीय आलुमा भरपर्नुपर्ने बाध्यता छ ।

सिजनमा प्रतिकिलो १५ देखि ५० रुपैयाँसम्म आलु बेच्नुपर्ने कर्णालीवासीले अपसिजनमा ५० देखि एकसय रुपैयाँमा किन्नुपर्ने अवस्था छ । भण्डारण नभएकै कारण करिव ६ महिना त भारतीय आलुकै भरमा कर्णालीले उपभोग गर्दै आएको छ ।
त्यस्तै कर्णाली प्रदेशभर बार्षिक २२ हजार मेट्रिकटन भन्दा धेरै स्याउ उत्पादन हुन्छ । जुम्ला, डोल्पा, मुगु र हुम्ला स्याउको पकेट क्षेत्रका रुपमा परिचित छन् । कालीकोट, दैलेख, सल्यान र जाजरकोटको केही भागमा पनि स्याउ खेति हुँदै आएको छ । तर सिजनमै भारतीय स्याउले कर्णालीको बजार कब्जा गर्छन् ।

भण्डारण र ढुवानीको अभावका कारण डोल्पा, हुम्ला र मुगुका स्याउले बजार पाउँदैनन् । बजार र भण्डारणको अभावका कारण हिमाली जिल्लामा दशै–तिहार जस्ता चाडपर्वमा कोशेलीकै रुपमा आफन्तलाई स्याउ बाँढ्नुपर्ने बाध्यता छ । जुम्ला र कालीकोटका स्याउले बजार पाए पनि सिजनमा स्याउ नमिल्ने डरले किसानहरु काँचो स्याउ बेच्नुपर्ने बाध्यता छ । त्यस्तै कर्णालीमा बार्षिक पाँच हजारभन्दा बढी मेट्रिकटन आँप उत्पादन हुन्छ । प्रदेभर एक हजारभन्दा बढी हेक्टर क्षेत्रफल आँप उत्पादनका लागि योग्य छ । तर सिजन बाहेकको समयमा आँपमा पनि भारतकै भर पर्नुपर्छ । उत्पादित आँपका लागि पनि भण्डारण गर्न कोल्डस्टोर छैन ।

आलु,आँप र स्याउ मात्रै होइन, कर्णालीमा उत्पादन हुने सुन्तला, नास्पती, अनार जस्ता फलफूल र तरकारीको लागि पकेट क्षेत्र बन्न सक्ने सम्भावना हो । मौसम अनुसार तरकारी तथा फलफूल खेति गर्न सकिने सम्भावना पनि छन् । कर्णालीको हावापानी अनुसार अर्गानिक तरकारी तथा फलफूल खेतिका लागि योग्य जमिन छ । तर उत्पादनले बजार पाउँदैनन् । सिजनमा आँप, केरा, सुन्तला, अदुवा, स्याउ जस्ता फलफूलहरु प्रशस्त मात्रमा उत्पादन हुन्छ । तर उत्पादित बस्तुको लागि भण्डारणको अभाव छ । उत्पादन भएको फलफूल तथा तरकारीले भण्डारणको अभावमा मौसममा सस्तो मूल्यामा बिक्री गर्नुपर्ने बाध्यता छ । यही बाध्यतालाई ध्यानमा राख्दै कर्णाली प्रदेश सरकारले विगत तीन बर्षदेखि कोल्डस्टोर निर्माण थालेको छ ।


तीन वटा ठूला क्षमताका कोल्डस्टोर निर्माण हुँदै
अर्गानिक कर्णाली बनाउने उद्देश्य राखेको प्रदेश सरकारले कर्णालीलाई उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कोल्डस्टोर निर्माण थालेको छ । सरकारले चालु आर्थिक वर्षभित्र तीन वटा ठूला क्षमताका शीतभण्डार केन्द्र निर्माण गर्ने भएको छ ।

हरेक वर्ष सार्वजनिक र नीजि क्षेत्रको साझेदारीमा शितभण्डार निर्माण गर्दै आएको प्रदेशको भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा दैलेख, सुर्खेतको गुर्भाकोट र वीरेन्द्रनगरमा एक÷एक वटा शीतभण्डार निर्माण गर्ने भएको छ । जिल्लाको सम्भाव्यता अध्ययन, जग्गाको उपलब्धता तथा स्थानीय नागरिकको लागत साझेदारबाट शितभण्डार निर्माण गरिने मन्त्रालयका प्रवत्ता धनबहादुर कठायतले जानकारी दिए ।

तयार भए २० वटा कोल्डस्टोर
कर्णाली प्रदेशभर हालसम्म २० वटा शितभण्डार केन्द्र निर्माण भएका छन् । सार्वजनिक र नीजि क्षेत्रको साझेदारी कार्यक्रमबाट ती शितभण्डारहरु निर्माण गरिएका हुन् । साना–ठूलागरी प्रदेशभर २० वटा शितभण्डार निर्माण भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता कठायतका अनुसार सुर्खेत र रुकुमपश्चिमा दुई–दुई वटा, सल्यान र दैलेखमा एक–एक, डोल्पा, कालिकोट र जुम्लामा चार वटा शीतभण्डार निर्माण गरिएका हुन् । त्यस्तै दुई वटा शितभण्डारको निर्माण कार्य सकिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चुको झिलमिले र वीरेन्द्रनगरमा निर्माण भएका ठूलो क्षमताका शीत भण्डारको सबै काम सम्पन्न भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार