माधव नेपाल: एकीकृत समाजवादी क्षितिजको चम्किलो तारा हो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।
बानेश्वरको आलोकनगरमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि अध्यक्ष नेपालले अबको एक हप्ता भित्रमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन्। उनले सरकार र संसदमा आफ्नो पार्टीको भूमिका सत्ता पक्षको भएको बताउँदै प्रदेश र संघीय सरकारमा पार्टी सहभागी बन्ने बताए। अध्यक्ष नेपालले सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको समेत दाबी गरे।
अध्यक्ष नेपालले नेकपा एमालेमा वैचारिक विचलन आएको बताउँदै नेकपा एस नवीन सोच र मान्यताका साथ अघि बढ्ने बताए। नेपाल नेतृत्वको नेकपा एस क्षितिजको नयाँ चम्किलो ताराको रुपमा उदाएको र यसले आमनागरिक र युवावर्गमा आशा देखाएको उनले दाबी गरे।
अध्यक्ष नेपालले भने, ‘अब संसद र सरकारमा हाम्रो भूमिका स्वभाविक रुपमा सत्तापक्षको रुपमा रहनेछ, किनभने हामी गठबन्धन दलको महत्वपूर्ण हिस्सा हौँ, यसर्थमा हाम्रो भूमिका सरकार सञ्चालनमा रहनेछ, सहयोगी रहनेछ, सहकार्य गर्नेछौँ, सँगै अगाडि बढ्नेछौँ, सरकारमा हामी सामेल हुनेछौँ, हामी प्रदेश, संघीय सरकारमा सामेल हुनेछौँ,एक नम्बर र ३ नम्बर सरकारको पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछौँ, र सातै वटा सरकारमा पनि हाम्रो सहभागिता रहनेछ, प्रत्येक
प्रदेशमा रहेको संसदीय दलहरुलाई त्यहाँ रहेको स्थानीय निकायमा निर्वाचित प्रतिनिधिहरुलाई सहकार्य गर्न तयार भए सहकार्यको संस्कृति लिएर जानेछौँ, हाम्रो विरुद्धमा गलत आरोप र भ्रम पैदा गर्छन् त्यसको हामी सशक्त खण्डन गर्नेछौँ, त्यसलाई चिर्नेछौँ, यसर्थमा पनि सरकारले केही दिन भित्रमै पूर्णता पाउनेछ, संसदको बैठक ४ गते र हाम्रो केन्द्रीय कमिटीको बैठक पनि ५ गते बोलाएका छौँ, ५ गतेको बैठकको निर्णयसँगसँगै हामी सरकारमा समावेश हुनेछौँ, त्यसैले यो एक हप्ता भित्रै सबै कुराको टुंगो लगाउनेछौँ, हामीलाई सरकारमा जाने कुरामा कुनै समस्या छैन, पार्टी गठन गरिसकेका छौँ, आज भने आजै र भोलि भने भोलि नै तयार छौँ।’
अध्यक्ष नेपालले एमसिसीलाई पठाएका जवाफ आइसकेको र त्यसको बारेमा छलफल भइरहेको बताए। उनले एमसिसीलाई सोधेका सात प्रश्नको जवाफका बारेमा छलफल भइरहेको र जनमानसको मानसिकतालाई ध्यानमा राखेर मात्रै एमसिसीको निर्णय लिने बताए।
अध्यक्ष नेपालले गठबन्धन तोड्नको लागि अहिले अनेक किसिमको दाउपेच चलिरहेको बताउँदै भ्रमात्मक कुराको पछि नलाग्न आग्रह गरे। उनले तत्काल कुनै पनि पार्टीसँग पार्टी एकता नहुने र पाँच दलीय गठबन्धनलाई नै बलियो बनाएर चुनावी मैदानमा उत्रिने बताए।
निजी, सार्वजनिक र सहकारी क्षेत्रलाई तालमेल मिलाएर राष्ट्रिय पूँजीलाई विकास गर्ने पार्टीको योजना रहेको बताउँदै अध्यक्ष नेपालले अन्याय र अत्याचारको विरुद्धमा पार्टी दृढतापूर्वक लागि पर्ने पनि बताए।

तपाईको प्रतिक्रिया