कतारका विदेशमन्त्री काबुलमा, प्रधानमन्त्रीसँग भेटवार्ता

काठमाडौं : कतारका उपप्रधान तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले अफगानिस्तानको राजधानी काबुल पुगेका छन्।

उनले काबुलमा तालिबान सरकारका प्रधानमन्त्री मुल्ला मोहम्मद हसन अखुन्दसँग भेटवार्ता गरे। तालिबानले अफगानिस्तानमा जित हासिल गरेपछि वरिष्ठ विदेशी प्रतिनिधिमण्डलको यो पहिलो भ्रमण हो।

अफगानिस्तानको टोलो न्युजका पत्रकार अब्दुल हक उमरीले ट्विटरमा राखेको एक भिडियोमा अफगानिस्तानका उपप्रधानमन्त्री अब्दुल सलाम हनफीले कतारका उपप्रधानमन्त्रीको स्वागत गरेको देखिन्छ।

तालिबान सरकारसँग भएको भेटमा दुई पक्षीय सम्बन्ध, मानवीय सहायता, आर्थिक विकास तथा अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध विस्तारबारे छलफल भएको बताइएको छ।


यसअघि कतारका विदेशमन्त्रीले अफगानिस्तानको अवस्थाबारे छलफल गर्न टर्की र पाकिस्तानको भ्रमण गरेका थिए। कतारले लामो समयदेखि अमेरिका र तालिबानबीच मध्यस्थता गर्दै आएको थियो।

अमेरिकाले अफगानिस्तान छोड्दा काबुलबाट हजारौं अफगानीहरु निस्किएका थिए। उनीहरुमध्ये धेरैलाई अमेरिकाले कतारमा लगेर छोडेको थियो।

कतारका उपप्रधान तथा विदेशमन्त्रीले तालिबान नेतृत्वसँग भेटवार्ता गरेपछि पूर्व राष्ट्रपति हामिद कारजाई तथा पूर्व सिईओ अब्दुल्ला अब्दुल्लासँग पनि भेटवार्ता गरेका तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार