छोरीहरु जोगाऔं

महिला र बालिकाहरु विभिन्न हिंसा र दुव्र्यवहार सहन बाध्य छन् । त्यसमा पनि उनीहरुमाथि बलात्कार र यौनहिंसाका घटनाहरु बढी हुने गरेका छन् । एक हिसावले भन्दा छोरीहरुमाथि गर्भबाटै विभेद हुन्छ । प्रविधिको विकाससँगै गर्भमा छोरा भए जन्माउने र छोरी भएमा भ्रुण हत्या गर्ने गरिन्छ ।

गर्भमा नै विभेद भोग्दै आएका छोरीहरुमाथि जन्मिएपछि थप बढ्छ । हाम्रो सामाजिक संरचना, अन्धविश्वास, अशिक्षा र गलत मान्यताका कारण छोरीहरुमाथि विभिन्न प्रकारका सामाजिक विभेद हुन्छन् । त्यसमा पनि कर्णालीमा अवस्था अरु जटिल छ । आज पनि छोरीलाई विद्यालय नपठाउने, घरको काममा लगाउने र सानैमा विहे गरिदिने चलन छ ।

यसले छोरीहरु आफूलाई कमजोर ठान्छन् भने उनीहरुमाथि समाजमा रहेको पुरुषवादी सोचले थिचेको छ । यहीकारण छोरीहरुमा आत्मबल कमजोर हुन्छ । अनि उनीहरुमाथि सामाजिक विभेद बढ्न थाल्छ । यसैको परिणाम आज समाजमा बालिका र महिलामाथि बलात्कार र यौन दुव्र्यवहारका घटना बढिरहेका छन् ।
कर्णालीमा महिला र बालिकाहरु कति असुरक्षित छन् भन्ने तथ्यले नै प्रमाणित गरेका छन् ।

पछिल्लो तीन वर्षको अवधिमा भएका घटनाहरुलाई मात्र केलाउँदा पनि यहाँ छोरीहरु सुरक्षित नभएको देखाउँछ । आज छोरीहरु आफ्नै परिवारका सदस्य, आफन्त र परिचित व्यक्तिहरुबाटै विभिन्न वहानामा हिंसामा परेका छन् । उनीहरुबाट बलात्कार र दुव्र्यवहार हुने गरेको छ । प्रहरीको तथ्यांक अनुसार पनि बालिका र महिलाहरु पछिल्लो समय थप असुरक्षित बन्दै गएका छन् ।

यसले बालिका र महिलाहरु शारिरिक तथा मानसिक रुपमा पीडित बनेका छन् । यो आजको शिक्षित भनिएको युगमा पनि ठूलो चुनौती हो । आज मानिसबाटै अर्को मानिस डराउनुपर्ने अवस्था छ । आफ्नैबाट लुटिनुपर्ने अवस्था छ । परिवारका सदस्यबाटै बलात्कार र हत्यासम्म हुने त्रास बढ्दो छ । यस्तो अवस्थामा समाजमा रहेका महिला, बालिका र किशोरीहरुले कसको विश्वास गर्ने ? कसले उनीहरुको इज्जत जोगाइदिने ? आज यो प्रश्न गम्भिर रुपमा उब्जिएको छ ।

आजका छोरीहरु नै भोलीका आमा हुन् । आमा भनेकै सृष्टि हुन् । जब आज छोरीहरु असुक्षित हुन्छन्, भोली आमाको गरिमा कसले बढाउने ? यसकारण पनि परिवार, समाज र देशले महिला र बालिकाहरुको सुरक्षाको बारेमा गम्भिर बन्नै पर्दछ । जुन समाजमा छोरी र महिलाहरु सुरक्षित छन्, वास्तवमा त्यही समाज नै आदर्श समाज हो । राजनीतिक र व्यवस्थाबारे जतिसुकै बहस भए पनि हामीले चाहेको आदर्श समाज नै हो ।

यसकारण पनि समाजमा रहेका हरेक छोरीहरुमा आत्मविश्वास जगाउन आवश्यक छ । त्यतिमात्र होइन, छोरीहरुलाई जोगाउन र उनीहरुमाथि हुने सबै प्रकारका विभेद, हिंसा र दुव्र्यवहार अन्त्य गर्नका लागि समाज नै सचेत हुनु पर्दछ । अर्कोतर्फ अपराध कर्ममा सामेल भएकाहरुलाई कानुनी कारबाही गरिनु पर्दछ । पीडितले न्याय र दोषीलाई सजाय भए मात्र छोरी र महिलाहरुले समाजमा आफूलाई सुरक्षित भएको महशुस गर्न सक्छन् ।

तपाईको प्रतिक्रिया