‘गाउँकै स्कुलमा शिक्षक हुन नपाएपछि निजामति सेवामा आएँ’

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिवको रुपमा कार्यरत छन् चक्रबहादुर बुढा । विगत पाँच महिनादेखि उनले यो मन्त्रालयको नेतृत्व गर्दै आएका छन् । निजामति सेवामा १९ बर्ष विताई सकेका उनी एउटा अनुभवी कर्मचारी हुन् । राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, उर्जा विकास मन्त्रालय प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारीका रुपमासमेत उनले सेवा गरिसकेका छन् । जहाँ र जुन कार्यालयमा पुगे पनि कार्यालयलाई सफल बनाउने पर्यत्न गर्छन् उनी । प्रस्तुत छ, उनै बुढाको निजामति कर्मचारीको रुपमा रहेको अनुभव र जीवन भोगाईमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

चक्रबहादुर बुढा
सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय, कर्णाली

गाउँमा हुर्केका चक्र

चक्रबहादुर बुढा घरको जेठो छोरा हुन् । बुवा कर्ण र आमा धनादेवीको कोखबाट २०३४ मंसिर १० गते शिवालय गाउँपालिका–४ तागुएला जाजरकोटमा उनको जन्म भएको हो । दिउँसो स्कूल र साँझविहान मेलापात गर्र्दै बाल्यकाल विताए ।

कृषक परिवार र घरको जेठो छोरो भएका कारण आमाबुवालाई मेलापातमा सघाउनु उनको दायित्व थियो । स्कूल विदा हुँदा गाईगोठाला जाने र खेतिपातिको समयमा बुवाआमालाई सघाउने गर्थे । मध्यम परिवारमा हुर्किएका उनले आर्थिक अभावहरु भोग्नु परेन । ‘

आर्थिक रुपमा मध्यम परिवारमा हुर्किएको हुँ, तर जीवनमा आर्थिक अभावहरु झेल्नु परेन’ उनी भन्छन्, ‘बुवाको कमाइले घर खर्च चल्थ्यो, ठूलो अपेक्षाहरु गरिएन ।’

पढाइमा अब्बल

चक्रले २०३९ सालतिर गाउँकै स्कूलबाट कखरा सिके । तत्कालीन सरस्वती प्राथमिक विद्यालयबाट कक्षा ५ सम्मको पढाइ पुरा गरे । कक्षा ६ देखि एसएलसी सम्मको पढाइ तत्कालिन विरेन्द्र माध्यमिक विद्यालय जुगाथापाचौरबाट पुरा गरे ।

२०५० सालमा एसएलसी पास गरेको उनले तत्कालिन वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतबाट उच्च शिक्षा सुरु गरे । बहुमुखी क्याम्पसबाट आइए पुरा गरेपछि सुर्खेत क्याम्पस शिक्षाबाट वीएड पुरा गरे । उनले जनप्रशासन क्याम्पस काठमाडौंबाट जनप्रशासनमा स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरेका छन् ।

उनी माध्यमिक तहसम्म विद्यालय प्रथम हुन्थे । उच्च शिक्षामा आइएमा क्याम्पस दोस्रो र स्नातक तहमा उनले तेस्रो स्थान ल्याउन सफल भएका थिए । पढाइमा अब्बल भएकै कारण उनले क्याम्पसबाट बार्षिक दुई हजार रुपैयाँ प्राप्त गर्थे । ‘क्याम्पसको मासिक शुल्क एकसय रुपैयाँ थियो ।

तर क्याम्पसबाट दुई हजार पाइन्थ्यो’ उनी भन्छन्, ‘पढाइ राम्रो भएकै कारण आइए र वीएड पढ्दा क्याम्पसले पैसा दिएको हो ।’ पढाइका अलवा हाँजिरीजवाफ र भलिबल प्रतियोगितमा निकै रुखि राख्थे । विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप मध्ये हाजिरीजवाफ प्रतियोगितामा सकेसम्म सहभागी हुन्थे । पढाइको यही अब्बलताले उनलाई निजामति क्षेत्रमा प्रवेश गर्न सहज भयो ।

शिक्षक हुन नपाएपछि…

चक्रको लक्ष्य शिक्षक हुने थियो । ऊबेला एसएलसी पास गरेका प्रायः सबै विद्यार्थीहरुको रुचि शिक्षक नै हुन्थ्यो । उनले पनि गाउँकै स्कूलमा शिक्षक हुने सपना देखेका थिए । उच्च शिक्षा पुरा भएपछि गाउँकै विद्यालयमा शिक्षक हुने धेरै प्रयास गरे ।


शिक्षक हुन तीन पटकसम्म प्रयास पनि गरे । पढाइमा अब्बल भए पनि फरक राजनीतिक आस्थाका कारण गाउँकै विद्यालयमा शिक्षक हुने सपना पुरा भएन । गाउँमा शिक्षक हुन नपाए पनि केही समय शिक्षण पेशामा लागे । वीएड पढ्दै गर्दा २०५६ सालमा सरस्वती माध्यमिक विद्यालय सीमामा शिक्षक भए ।

त्यहाँ निजी स्रोतमा रहेर केही बर्ष शिक्षक गरे । त्यसपछि राहत दरबन्दीमा शंकर भवन माध्यमिक विद्यालय बाउनथाना पुगे । करिव तीन बर्षको शिक्षक पेशामा लागेका उनेले बाटो बदले । गाउँमा शिक्षक हुन नपाएपछि उनले शिक्षण बाहेकको पेशामा रुची राखे ।

२०५९ सालदेखि शिक्षण पेशा छोडेर निजामति क्षेत्रमा आए । गाउँमा शिक्षक बन्न नपाएकै कारण निजामति क्षेत्रमा आएको उनको भनाइ छ । ‘मेरा लक्ष्य गाउँकै स्कूल (जुगांथापाचौरमा) हेडमास्टर हुने थियो, तर शिक्षक हुने सपना पुरा भएन’ उनी भन्छन्, ‘शिक्षक हुन नपाएकै कारण म निजामति क्षेत्रमा आएको हुँ ।’

तत्कालीन माओवादी सशस्त्र विद्रोहका कारण पनि उनी गाउँभन्दा बाहिर गएर जागिर गर्नु नपरोस् भन्ने ठान्थे । त्यही भएर गाउँ बाहिरको शिक्षण पेशा पनि त्यागी दिए ।

साथीले ल्याएको त्यो सूचना

२०६० सालभन्दा अगाडि हात–हातमा मोवाइल सेवा थिए । शहरका सिमित व्यक्तिको हातमा मोवाइल पुगे पनि गाउँमा टेलिफोनकै भर पर्नुपथ्र्याे । सूचना र सञ्चारको माध्यम रेडियो नै थियो । त्यही भएर चक्रका लागि साथीले दिएको एउटा सूचनाले निजामति क्षेत्रमा आउने मौका मिल्यो । २०५८ तिर साथी (मोहन खड्का) ले लोकसेवा आयोगमा जागिर खुलेको उनको कानसम्म पु¥याए ।

त्यही सूचनाका आधारमा चक्रसहित तीन जना साथीहरुले परीक्षा फर्म गरे । तर उनी मात्रै पास भए । प्राविधिक सहायक पदबाट २०५९ साल असोजदेखि स्थायी जागिर सुरु गरे । जिल्ला शिक्षा कार्यालय जाजरकोटबाट उनको पहिलो कार्यथलो बन्यो । करिव तीन बर्षपछि अर्थात २०६२ सालमा प्रशासन अधिकृतमा भएपछि तत्कालीन जिल्ला विकास समिति दैलेख गए । करिव दुई वर्षपछि राष्ट्रिय योजना आयोग काठमाडौँ सरुवा भए ।

२०६७ सालमा उप–सचिव भए । करिव एक बर्ष उर्जा मन्त्रालमा रहेर सेवा गरे । त्यसपछि स्थानीय विकास अधिकारी भएर तत्कालीन जिल्ला विकास समिति जाजरकोटमा फर्किए । करिव करिव दुईपछि स्थानीय विकास अधिकारीकै रुपमा सल्यानमा सरुवा भए । करिव ६ महिनापछि स्थानीय विकास मन्त्रालय काठमाडौं सरुवा भए । २०७१ सालमा उनले सह–सचिवमा बढुवा भए ।

त्यसपछि राष्टिपति कार्यालय, गृह मन्त्रालय, स्थानीय विकास मन्त्रालय, शिक्षा मन्त्रालयहुँदै प्रमखु जिल्ला अधिकारीको रुपमा मकवानपुर पुगे । करिव एकवर्षपछि प्रमुख जिल्ला अधिकारीकै रुपमा कास्की गए ।

त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा एक बर्ष विताए । पुनः गृह मन्त्रलयमै फर्किए । करिव एक बर्ष सरुवा भएर कर्णालीलाई कर्मथलो बनाए । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिवको रुपमा नेतृत्व गर्दै आएका छन् ।

बैशाखदेखि उनी मन्त्रालयको सचिवको रुपमा कार्यरत छन् । कर्णालीमा रहदा उनको एउटै इच्छा मन्त्रालयलाई सफल बनाउनु हो । ‘म जुन कार्यालयमा पुगेँ, त्यो कार्यालयलाई अब्बल बनाउने प्रयास गरेँ’ उनी भन्छन्, ‘यहाँ बस्दा पनि कार्यसम्पादनमा कसरी सफल भइन्छ भनेर लागेको छु, मन्त्रालयलाई अब्बल बनाउने मेरो टिमको प्रयास छ ।’

सरकारकै नेतृत्वले प्रदेशमा आइदिन गरेको आग्रह देख्दा काम गर्ने थप प्रेरणा मिल्ने उनको तर्क छ । उनी जाजरकोटबाट प्रशासनतर्फ अधिकृत, उप–सचिव र सहसचिव हुने पहिलो व्यक्तिसमेत हुन् । करिव तीन बर्षपछि स्वतः सचिवमा बढुवा हुन लागेका उनी जागिरपछि भने अध्ययनलाई निरन्तरता दिन चाहन्छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार