दुबैजना जागिरे भएपछि प्रेम प्रस्ताव

बाल्यकाल फरक स्थानमा विताए । स्कुलको पढाइ पनि सकियो । जब स्नातक तहको पढाइ सुरु भयो, तब उनीहरुको भेट भयो । क्याम्पसको पढाइसँगै दैलेखका भरत दास र तिर्था खत्री क्याम्पसका साथी बने । घुलमिल हुँदै गर्दा एकआपसमा प्रेम गर्न थाले । तर दुबैले जागिर खाइसकेपछि मात्र औपचारिक रुपमा प्रेम गर्न थालेका हुन् । जब मन र विचार मिल्छ, तब एकले अर्काको लागि जीउने कसम खान्छन् । अर्काको लागि नै जीवन समर्पण पनि गर्दछन् । जहाँ विश्वास, त्यहाँ माया गहिरो बन्दै जान्छ । जसको विश्वास र माया छ, त्यो जोडीको सम्बन्ध सफल हुन्छ र जीवन पनि सहज हुन्छ । यस्तै एउटा जोडी हो भरत दासतिर्था खत्रीको । प्रस्तुत छ, यो जोडिसँग गरिएको कुराकानीको सम्पादित अंश :

भरत दास र तिर्था खत्री

क्याम्पसमा भेट

भरत दास दैलेखबाट पढाइको लागि सुर्खेत झरे । उनी वीरेन्द्रनगरमा रहेको जनसेवा मावि घुस्रा विद्यालयमा पढ्थे । उनी पढाइमा सानैदेखि मेहेनती पनि थिए । उता तिर्था पनि पढाइको लागि सुर्खेतको चिङ्गाड गाउँपालिकाबाट वीरेन्द्रनगर आइन् । उनी पनि सुर्खेतमै पढ्थिन् ।

जब उनी हरु दुबैजना प्लसटु पास गरेर व्याचलर पढ्न शिक्षा क्याम्पसमा भर्ना भए । अनि उनीहरुको त्यहीँ पढ्दा भेट भयो । त्यसपछि उनीहरु सँगै पढ्ने साथी भए । पढ्दै गर्दा उनीहरु साथीको रुपमा मात्र व्यवहार गर्थे । कक्षामा पनि एकअर्काले पढाइको कुरा आदानप्रदान गर्थे । पहिलो पटक भेट हुँदा भरतले नै तिर्थालाई बोलाएका थिए ।

दुबैले जागिर खाएपछि प्रेम प्रस्ताव

उनीहरु व्याचलर सकेर शिक्षण पेशामा आवद्ध भए । शिक्षक सेवा आयोगले लिने परीक्षामार्फत उनीहरुले स्थायी नियुक्ती पनि पाए । उनीहरुबिचमा टाढा भए पनि कुराकानी भइरहन्थ्यो । भरतले तिर्थालाई मन पराएका थिए ।

तर भन्न भने सकेका थिएनन् । एकदिन उनले भेटेको बेला मनको कुरा भन्छु भनेर सोचे । अनि आफुले मन पराएको कुरा तिर्थालाई भने । शुरुमा त तिर्थाले त्यसको जवाफ दिन ठानिनन् । तिर्थालाई पनि सबैतिरबाट मुल्याङ्कन गर्दा एक इमान्दार र मेहेनति केटा लाग्थ्यो ।

उनले केही समयपछि आफुले पनि मन पराएको कुरा भरतलाई भनेपछि उनीहरु एउटा मिल्ने साथीबाट प्रेमिप्रेमिका बने । उनीहरु लामो समयसम्म प्रेमीप्रेमीकाको रुपमा रहे । तीन बर्षसम्म प्रेम गरेका उनीहरुले एकअर्कालाई अधिक माया र केयर पनि गर्थे ।

अनि सहमतिमा विवाह

उनीहरु अध्यापन गराउने जिम्मेवार भइसकेका थिए । अब प्रेम गरिसकेपछि भागेर होइन, सबैलाई जानकारी गराएर बिवाह गर्नुपर्छ भन्ने निष्कर्षमा उनीहरु पुगे । उनीहरुले सहमतिमै बिवाह गर्ने निर्णय गरेपछि दुबै जनाले आफ्नो आफ्नो परिवारमा जानकारी गराए ।

जिम्मेवार भइसकेका उनीहरुको कुरा सुनेपछि दुबैतिरका परिवारले उनीहरुलाई बिवाह गरिदिने सहमति गरे । सहमतिपछि उनीहरु २०७४ बैशाख २५ गते बिवाह बन्धनमा बाँधिए ।

बिवाह गर्दा भरतको उमेर २७ बर्षको थियो भने तिर्थाको उमेर २४ बर्षको थियो । तिर्थालाई बिवाह गरेर जाँदा अरुको जस्तो नरमाइलो अनुभव थिएन । किनभने उनी जिम्मेवार र परिपक्क भएसकेकी थिइन् । भरतले पनि उनलाई धेरै माया गर्थे भने उनको परिवारबाट पनि उनले राम्रै साथ पाइन् ।

बिवाहपछि संघर्ष


सानैदेखि संघर्ष गरेका उनीहरुले बिवाहपछि पनि त्यसलाई निरन्तरता दिइरहेका छन् । विशेष गरेर दुबैजना आफ्नो पढाइप्रति धेरै लगाव र मेहेनत गरेरै आफ्नो खुट्टामा उभिएका उनीहरुले आर्थिक अभाव झेल्न नपरे पनि अन्य संघर्ष भने गरिरहनुपर्यो ।

भरतले शिक्षक सेवा आयोगमा नाम निकालेर स्थायी शिक्षकको रुपमा दैलेखको सिगौडीमा पढाउँथे । यता तिर्थाले पनि दैलेखको गुराँस गाउँपालिका आखरेनीमा पढाउँथिन् । भर्खरै बिवाह गरेका उनीहरु छुट्टाछुट्टै बस्नुपर्ने अवस्था थियो । उनीहरु जीवनलाई संघर्ष गर्नुपर्छ भन्ने ठान्थे ।

आफ्नो शिक्षण पेशा त थियो नै अर्कोतिर आफ्नो उच्च शिक्षा हासिल गर्नुपर्ने अर्कोतिर थियो । व्यवहारिक जीवनमा बाँधिएका उनीहरुले अन्य घरको जिम्मेवारी पनि पुरा गर्नुपथ्र्यो । मेहनतका साथ आफ्नो पेशा र पढाइलाई बिवाहपछि पनि निरन्तरता दिए ।

निमाविमा नाम निकालेर स्थायी शिक्षक बनेका भरत पछिल्लो पटक खुलेको शिक्षक सेवा आयोगमा माविमा नाम निकाल्न सफल भए भने अर्कोतिर तिर्था राहत शिक्षकमा पढाइ रहेकी थिइन् । उनले पनि बिवाहपछि नै स्थायी शिक्षकमा नाम निकाल्न सफल भइन् । लामो संघर्षपछि उनीहरु दुबैजना स्थायी शिक्षकको रुपमा आवद्ध छन् । उनीहरु भन्छन् संघर्षबाट नै सफलता प्राप्त भएको हो । अहिले उनीहरु सन्तुष्ट छन् ।

कस्तो थियो बाल्यकाल ?

बुवा शिवनारायण दास र आमा पूर्णा ओलीको कोखबाट विसं २०४६ साल कात्र्तिक १९ गते दैलेखको गुराँस गाउँपालिका ८ गर्चा पात्लेमा भरतको जन्म भएको हो । उनको बाल्यकाल मध्यम खालको थियो । उनको बाल्यकालको स्वभाव अलि चन्चले थियो । तर उनी पढाइमा र आफ्नो काममा मेहेनत गर्थे ।

साथीहरुसँग खेल्दै उनको बाल्यकाल वितेको हो । कक्षा ७ सम्म कालिका मावि गर्चामा पढेका उनले कक्षा ८ देखि भने मालिका मावि छोटेपोखरामा पढे । त्यही विद्यालयबाट २०६३ सालमा एसएलसी गरेका उनले प्लसटु भने जनसेवा मावि घुस्राबाट गरे ।

उनले बिएड र मास्टर्स भने शिक्षा क्याम्पस सुर्खेतबाट गरेका हुन् । पढेर ठुलो मान्छे बन्ने लक्ष्यका साथ उनले आफ्नो पढाइलाई निरन्तरता दिँदै स्थायी माविको शिक्षकसम्म बन्न सफल भए ।

यता ओपेन्द्र खत्री र आमा सुन्दरी विसी खत्रीको कोखबाट विक्रम संवत् २०५० साल भदौ ७ गते सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नम्बर ४ मटेलामा तिर्था खत्रीको जन्म भएको हो । उनको बाल्यकाल गाउँमै वित्यो । सरल र इमान्दार स्वभावकी उनको बाल्यकाल पनि सामान्य तरिकाले वित्यो ।

५ कक्षासम्म चण्डेश्वरी प्राविमा पढेकी उनले प्लसटुसम्म भने शान्ति मावि लालिकाँडामा पढेकी हुन् । व्याचलर भने उनले शिक्षा क्याम्पस सुर्खेतबाट गरेकी हुन् । उनका ४ भाईबहिनी थिए । उनी घरको जेठी छोरी हुन् ।

सल्लाह र सहकार्य

यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । र काम बाँडफाँड गरेर अगाडी बढाउने गर्दछन् । उनीहरुको योजना जहिले पनि समझदारीमा हुने गर्दछन् ।

उनीहरु अधिकांश समय बाहिर हुने भएकाले फुर्सद भएको बेला खाना पकाउन पनि सहकार्य गरेर गर्छ भने फुर्सदको समयमा विभिन्न ठाउँमा घुम्न पनि जान्छन । यो जोडिका अनुसार दुबैजनाको विश्वास र सहकार्यमा काम गर्दा सम्बन्धमा खटपट आउँदैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार