अन्तर्वार्ता

‘घरेलुहिंसा रोक्न महिलालाई आत्मनिर्भर बनाउँदै छौं’

स्थानीय सरकार गठन भएपछि नागरिकमा अपेक्षाहरु बढे । आँगनमै सरकारी सुविधा र सेवा पाइने भन्दै नागरिकहरु हर्षित पनि भए । संघीयता कार्यान्वयन गर्न गाउँगाउँमा सिंहदरबारको अधिकार पुगेको भनियो । नजिकै रहेका स्थानीय सरकारले के विकासका काम जनताको अपेक्षा अनुसार गरे त ? स्थानीय तहमै रहेका न्यायिक समितिहरुले हाल कस्ता काम गरिरहेका छन् ? महिलामाथि हुने घरेलुहिंसा न्युनिकरणको लागि कस्ता योजना बनेका छन्  ? यस्तै विषयमा हाम्रा सहकर्मी टेकराज केसीले सल्यानको दार्मा गाउँपालिकाका उपाध्यक्ष टिका शर्मा वलीसँग कुराकानी गरेका छन । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

टिका शर्मा वली
उपाध्यक्ष, दार्मा गाउँपालिका, सल्यान

हिजोआज के गर्दै हुनुहुन्छ ?

म जनताकै समस्या समाधान गर्न र विकासको काममा नै व्यस्त छु । हामीले जनताको विश्वास जितेर आएकोले हामी जनताकै काममा व्यस्त हुनुपर्छ । जनताकै भावनाअनुसार काम गरिरहेका छौं ।

विकासका कामहरु कसरी भइरहेका छन् ?

विकास निर्माणका कामहरु अगाडी बढिरहेको अवस्था छ । सडक निर्माण, विद्यतिकरणसँगै खानेपानी, सिंचाइ लगायतका कामहरु अहिले भइरहेका छन् । जनताको बिचमा सबै विकासको पहुँच पुर्याउनेगरी हामीले नियमित काम गरिरहेका छौं ।

त्यहीअनुसार कामहरु पनि अगाडी बढिरहेका छन् । हाम्रै पालामा सबै काम गरिसक्छौ भन्ने त होइन, तर आधारभुत विकासको पहुँचमा सबै जनतालाई पुर्याउछौं ।

तपाईँहरुले पालिकामा के परिवर्तन गर्नुभयो ?

हामी निर्वाचित हुनुभन्दा अगाडि पालिकामा दुईवटा सडक मात्र थिए । अहिले हामीले सबै टोलमा पुग्नेगरी ७३ वटा सडकका टुयाक खोलेर संचालनमा ल्याएका छौं । हामी निर्वाचित हुनुभन्दा अगाडी हाम्रो पालिकामा विद्युतको एउटा पोल पनि थिएन ।

अहिले अधिकांश वडामा विद्युत बाल्न सफल भएका छौं । हाम्रो पालिकामा खानेपानीको हाहाकारको अवस्था थियो । त्यो समस्या समाधान गर्नको लागि २८ वटा लिफ्ट आयोजनामार्फत जनताको घरमा पानी पुर्याएका छौं ।

सँगै हामी संघीयतापछि पहिलो निर्वाचित जनप्रतिनिधि भएको हुुँदा केही पनि संरचनाहरु थिएनन् । अहिले प्रत्येक वडामा भवनहरु बनेका छन् । भने शिक्षा स्वास्थ्यमा पनि हामीले सुधार ल्याएका छौं । अहिले विभिन्न पञ्चबर्षीय गुरुयोजना बनाएका छौं ।

हामी निर्वाचित भएर आइसकेपछि देखिनेगरी धेरै काम भएका छन् । योबर्ष हामीले कोरोनाका कारण प्रभावित स्वास्थ्य र शिक्षालाई पहिलो प्राथामिकता दिएका छौं भने अन्य विकास निर्माणका कामसँगै कृषि उत्पादन बढाउनेगरी योजना निर्माण गरेका छौैं ।

न्यायिक समितिमा कत्तिको उजुरी आउँछन् नी ?

पहिलेभन्दा अहिले न्यायिक समितिमा मुद्दाहरु आउनेक्रम बढेको छ । विगतमा जनतालाई न्यायिक समितिको बारेमा जानकारी नभएर पनि होला त्यती मुद्दा आउँदैन्थे ।

तर पछिल्ला दुई बर्षमा सल्यानकै अन्य स्थानीय तहका न्यायिक समितिभन्दा हाम्रोमा धेरै मुद्दा दर्ता भएका छन् । जहाँसम्म तपाइँले उठाउनुभएको प्रसंङ्ग छ । महिलाहिंसाका उजुरीहरु पनि बढेको अवस्था छ ।

अझै यो लकडाउनको कारणले गर्दा सबै मानिसहरु घरमा जम्मा भए । महिलाहरु अन्य बेलाभन्दा यो लकडाउनमा धेरै हिंसामा परेको हाम्रो न्यायिक समितिमा दर्ता भएका मुद्दाले पनि देखाउँछ । महिलाहिंसा सम्बन्धीका उजुरीहरु बढेका छन् ।

अनि मुद्दाको छिनोफानो गर्नुहुन्छ त ?

हामीले दुबै पक्षलाई सम्मान मिल्नेगरी मुद्दाको निरुपण गर्छौं । कुनै पनि पक्षले हारेको महसुश नहुनेगरी मुद्दाको छिनोफानो गरिरहेका छौं ।

महिलाहिंसा, घरेलुहिंसा लगायतका घटना हुन नदिन हामीले छलफलमासमेत कानुनी जानकारी गराउने गरेका छौं । हाम्रो क्षेत्राधिकारभन्दा बाहिर रहेका मुद्दाहरुलाई भने हामी माथिल्लो नीकायसम्म पुर्याउने काम गरिरहेका छौं ।

महिलाहिंसा न्युनिकरणका लागि कस्ता कार्यक्रम छन् ?

महिलाहिंसा र घरेलुहिंसा न्युनिकरणको लागि हामीले पहिलो त जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिरहेका छौं । मैले अघि भनेजस्तै कानुनी व्यवस्था र हिंसा गर्दा पाइने सजायको विषयमा पुरुषहरुलाई सचेत गराउने गरिरहेका छौं ।

अर्कोतर्फ हामीले पालिकाबाट योजना र बजेट नै छुट्याएर किशोरीहरुलाई आत्मरक्षा तालिमहरु पनि दिने गरेका छौं । यसले पनि महिलाहिंसा न्युनिकरणमा सघाउ पुग्ने हाम्रो अपेक्षा छ । त्यसैगरी महिलाहरु आर्थिक रुपमा कमजोर हुँदा पनि यस्ता हिंसाहरु हुने गर्दछन् ।

त्यसैले पालिकाबाट महिला लक्षित विभिन्न सीपमुलक र रोजगारमुलक क्रियाकलाप पनि हामीले संचालन गर्दै आइरहेको छौं । मलाइ लाग्छ सबै नागरिक सचेत भएको खण्डमा यस्ता प्रकारका हिंसा कम हुँदै जान्छन् ।

रोजगरी दिन कस्ता योजना छन् ?

पालिकामार्फत हामीले सबै वडाका युवाहरुको तथ्याङ्क संकल गरेर विपन्न र रोजगारी नपाएकाहरुलाई विभिन्न सीपमुलक तालिम, उद्यमशिलता सम्बन्धीका तालिमका साथै कृषि र पशुपालन व्यवसायमा आकर्षित गर्नेगरी योजनाहरु बनाएका छौं ।

मुख्यमन्त्री र प्रधानमन्त्री रोजगार कार्यक्रममासमेत युवाहरुलाई लगाउने गरिरहेका छौं । यसले सबै बेरोजगारी समस्या समाधान हुन्छ त म भन्दिन । तर केही हदसम्म हामीले बेरोजगारी समस्या समाधान गर्नको लागि पनि काम गरिरहेका छौं । विगतको भन्दा अहिले मानिसहरु विभिन्न व्यवसायमा आकर्षित भएको अवस्था छ ।

जनतासँग गरिएको प्रतिवद्धता पुरा भए त ?

तपाईँले गम्भिर कुरा उठाउनुभयो । हामीले जनताको बिचमा सेवा सुविधा पुर्याउनेदेखि समग्र क्षेत्रको विकास गर्छांै भनेका थियौँ । हामीले जनताको बिचमा भनेका कुराहरु अधिकांश पुरा भएका छन् भन्ने मलाइ लाग्छ ।

हामी पहिलो निर्वाचित जनप्रतिनिधि भएको हुँदा हाम्रा चुनौती धेरै थिए । चुनौतीका बाबजुत पनि हामीले धेरै काम गरेका हौं । बाँकी काम पनि गर्दै जाने छौं ।

तपाईको प्रतिक्रिया