कोरोना महामारीको असर : ह्वात्तै बढ्यो मातृ मृत्युदर

काठमाडौं : कोरोना संक्रमणले महामारी शुरू भएपछि नेपालमा स्वास्थ्यको सूचकहरू घट्दै गएको छ। यसमा पनि प्रत्यक्ष प्रभाव मातृ शिशु स्वास्थ्यमा परेको देखिएको छ।

कोरोना नियन्त्रणको लागि गरिएको लकडाउन र निशेज्ञाले भएको समयमा ज्यान गुमाउने आमा र नवजात शिशुको संख्यामा दोब्बर रुपमा बढेको पाइएको छ।

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने पहिलो व्यक्ति नै सुत्केरी नै थिइन्। २०७७ जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरीले शिशुलाई जन्म दिएको ९ दिनपछि कोरोना संक्रमणका कारण त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो।

त्यसयता कोरोना महामारीमा मातृ मुत्युदर कोरोना महामारीको यस समयमा विगतका वर्षहरूमा भन्दा नवजात शिशु र आमाहरूको मृत्यु झन् बढेको तथ्यांकले देखाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तयार गरेको तथ्यांकअनुसार नेपालमा २०७७ सालमा मात्र २९७ जना सुत्केरी आमाको मृत्यु भएको छ। जब कि, लकडाउन हुनुअघि २०७६ सालको यही समयमा ज्यान गुमाउने आमाको संख्या मात्र १९७ थियो। यो हिसाबले २०७६ सालको तुलनामा २०७७ सालमा मात्र ज्यान गुमाउने आमाको संख्या १०० ले वृद्धि भएको हो।

गर्भास्थादेखि सुत्केरी भएको ४२ दिनसम्म मृत्यु भएमा यसलाई मातृ मृत्युदर भनिन्छ। लकडाउनको समयमा बढेको मातृ मृत्युदर चिन्ताजनक रहेको स्वास्थ्य मन्त्रालयका एक उच्च कर्मचारीले बताए। ‘कोरोना महामारीमा सबै भन्दा धेरै मातृ स्वास्थ्यमा परेको छ, यो हाम्रो लागि निकै चिन्ताको विषय हो।’

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत रहेको मातृ तथा नवजात शिशु शाखा प्रमुख डा. पुण्या पौडेलका अनुसार यसअघि कोरोना विरुद्धको खोप नलगाएको हुँदा पनि मातृ मृत्युदर बढेको बताइन्‌। ‘यसअघि कोरोना विरुद्धको खोप नहुनु, निषेधाज्ञाका कारण अस्पताल जान गाह्रो हुँदा पनि मातृ मृत्युदर बढ्न गएको हो।‘

मातृ मुत्यु मात्रै होइन, कोरोना महामारीको यस अवधिमा नवजात शिशु मृत्युदर पनि बढेको बताइएको छ। परिवार कल्याण शाखाले तयार पारेको पछिल्लो विवरणअनुसार महामारी र निषेधाज्ञा शुरू भएपछि हालसम्म तीन हजार ८३९ जना नवजात शिशुको मृत्यु भएको छ।

लकडाउनअघि एक वर्षभित्र नेपालमा दुई हजार १० जना नवजात शिशुको मृत्यु भएकोमा लकडाउन/निषेधाज्ञा शुरू भएपछि ३ हजार ८३९ जनाको ज्यान गएको छ। गएको चैतमा सबैभन्दा धेरै ७६० जना नवजात शिशुको मृत्यु भएको तथ्यांक महाशाखाले तयार पारेको छ।

कोरोना महामारीको समयमा भएको लकडाउन र निषेधाज्ञाको समयमा स्वास्थ्य संस्थाको पहुँच सहज नहुने हुँदा पनि पनि शिशुहरूको मृत्य बढेको स्वास्थ्यका अधिकारीहरू बताउँछन्‌।

​‘नवजात शिशुको मृत्यु मात्रै हैन, यस समयमा बालबालिकाहरूले लगाउनु पर्ने खोप कार्यक्रमहरू समेत प्रभावित भएको छ, यसको असर अब हाम्रोमा विस्तारै देखिन्छ होला,’ मन्त्रालयका एक अधिकारीले भने।

तपाईको प्रतिक्रिया