‘विकटमा विरामीको सेवा गर्न पाउँदा आनन्द मिल्छ’

सुर्खेतको चौकुने गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख हुन् गगनसिंह पाण्डेय । उनी स्वास्थ्य क्षेत्रमा लागेको करिव २६ वर्ष पुरा भइसकेको छ । सल्यानको तत्कालिन स्वीइकोटा गाविसबाट सेवा सुरु गरेका उनी २३ बर्षदेखि सुर्खेतको पश्चिम क्षेत्रमा क्रियाशिल छन् । प्रस्तुत छ, उनै पाण्डेको जीवन भोगाइ र निजामति सेवामा बटुलेको अनुभवमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

गगनसिंह पाण्डेय
प्रमुख, स्वास्थ्य शाखा, चौकुने गाउँपालिका, सुर्खेत

फुटबल भनेपछि हुरुक्कै

बुवा जगत र आमा कमलाको कोखबाट २०३१ साल कात्तिक १४ गते गगनको जन्मभयो । गुलरिया नगरपालिका–४ तुलसीपुर बर्दिया उनको जन्मभूमि हो । बाल्यकाल त्यहीँ वित्यो । ऊबेला उनी फुटबल खेल्न खुब रुचि राख्थे ।

‘घर अगाडि नै मैदान थियो, फर्सद भयो कि साथीहरुसँग फुटबल खेल्न गैहाल्थेँ’ उनी सुनाउँछन्, ‘सानोमा फुटबल भनेपछि हुरुक्कै हुन्थेँ ।’ समथर मैदान भएका कारण फुटबल ग्राउन्ड नै चाहिने अवस्था थिएन । व्यवसायिक फुटबल भने उनले खेल्न पाएनन् ।

विद्यालय उमेरमा ब्याडमिन्टन र क्रिकेट खेले । फुटबल छोडेर उनले विद्यालयमा हुने ब्याडमिन्टन र क्रिकेट प्रतियोगितामा सहभागी हुन्थे । सामान्य कृषक परिवारमा जन्मिएका गगनको बाल्यकाल सुखमय रह्यो ।

पढाइमा अब्बल

गगनले गाउँकै धु्रव निम्न माध्यमिक विद्यालयबाट कखरा चिने । कक्षा ८ सम्मको पढाइ त्यहीबाट पुरा गरे । कक्षा ९ र १० को पढाइ भने बंगलामुखी माध्यमिक विद्यालयबाट पुरा गरे । २०४९ सालमा एसएलसी उत्तीर्ण गरेका उनले भारतको नैनितालबाट इन्टर पढे ।

विज्ञान विषयमा इन्टरको पढाइ पुरा गरे । ‘नैनितालमा साइन्सको राम्रो पढाइ हुन्थ्यो’ उनी भन्छन्, ‘राम्रो अध्ययन हुने भएकै कारण म पनि उत्तै गएको थिएँ ।’ नैनितालमा उनका आफन्तहरु थिए । जसले गर्दा त्यहाँ बसेर उच्च शिक्षा अध्ययन गर्न उनलाई धेरै सहज भयो ।

महेन्द्र बहुमुखी क्याम्पसबाट वीएसी अध्ययन गरे । तर सीएमए पढ्न थालेपछि क्याम्सको पढाइ भने पुरा गर्न पाएनन् । ‘सीएमए पढ्नेवित्तिकै जागिरमा जोडिएँ’ उनी भन्छन्, ‘भनेजति पढ्नै पाइएन ।’ पढाइमा उनी निकै अब्बल थिए । मावि तहसम्म सधै प्रथम हुन्थे । तर चाहेजति अध्ययन गर्न भने पाएनन् ।

डाक्टर पढ्ने रहर अधुरै

२०५२ सालतिर नेपालगञ्जमा पहिलो पटक चिकित्सा शिक्षा (एमवीवीएस) पढाइ सुरु भयो । भर्खर प्सटु सकेका उनलाई पनि डाक्टर पढ्न रहर जाग्यो । प्रवेश परीक्षा दिए । नाम निस्कियो । तर १२ लाख रुपैयाँ जुटाउन नसक्दा उनले पढ्न भने पाएनन् ।


‘ऊबेला भर्ना हुन १२ लाख रुपैयाँ चाहिन्थ्यो, त्यही पनि जुटाउन सकिएन’ उनी भन्छन्, ‘आर्थिक अभावकै कारण डाक्टर पढ्न सकिनँ ।’ एमवीवीएस पढ्न नपाएपछि उनले सीएम पढे । ‘म सानैदेखि स्वास्थ्यकर्मी हुनुपर्छ भन्ने सोच्थे’ उनी भन्छन्, ‘डाक्टर पढ्न नसकेपछि स्वास्थ्यकर्मी बन्न सीएमए पढेँ ।’

तत्कालिन बागेश्वेरी सीएम टे«निङ स्कूलबाट उनले सीएम पढेका हुन् । सीएमए पढ्न थालेपछि उनले क्याम्पसको पढाइ पुरा गर्न पाएनन् । जागिरपछि उनले एचएसमेत अध्ययन गरेका छन् ।

बुवाकै कारण स्वास्थ्य क्षेत्रमा

पहिले तराइँमा औलोले निकै सताउँथ्यो । औलोकै कारण धेरै नागरिकले ज्यान गुमाउँथे । त्यहीबेला बर्दियामा औगो रोग उन्मूलनको अभियान सुरु भएको थियो । त्यही मौका गगनका बुवाले रोजगारी पाए । पछि सुर्खेतको पश्चिम क्षेत्रमा सरुवा भए ।

बुवाले विरामीलाई सेवा गरेको देखेपछि गगनले भविष्यमा डाक्टर बन्ने सपना देखे । ‘बुवाले सेवा गरेको देखेको थिएँ, सानैमा म पनि बुवा जस्तै बन्छु भन्ने लागेको थियो’ उनी भन्छन्, ‘डाक्टर त बन्न सकिएन, तर स्वास्थ्यकर्मी भएर बुवाले देखाएको बाटो पच्छाएको छु ।’

बुवाले सुर्खेतको पश्चिम क्षेत्रमा सेवा गरेका कारण गगनपनि सोही क्षेत्रलाई कार्यथलो बनाएका छन् । २०५६ सालमा लोकसेवा पास गरेको पहिलो कार्यथलो सल्यानको तत्कालीन स्वीकोट गाविस थियो । अहेवका रुपमा त्यहाँ करिव तीन बर्ष विताए । सल्यानमा ऊबेला तत्कालीन विद्रोही पक्ष माओवादीको निकै त्रास थियो । तीन बर्षपछि उनी सुर्खेतको विजौरा स्वास्थ्यचौकी सरुवा भए । करिव १३ बर्ष त्यही विताए ।

छाप्रे स्वास्थ्य चौकी र गुटु स्वास्थ्य चौकीमा बसेर विरामीको सेवा गरे । कर्मचारी समायोजनपछि चौकुने गाउँपालिकामा कार्यथलो रोजे । जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत उनले चौकुने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी निर्भाह गर्दै आएका छन् । जागिरका क्रममा पश्चिम आएका उनले त्यही ठाउँलाई स्थायी बसोबास बनाए । हाल उनी गाउँपालिका वडा नं. ८ विशाल बजारका स्थानीय वासिन्दासमेत हुन् ।

तलव काटेर बर्थिङ सेन्टर

पहिले सुर्खेतको पश्चिम क्षेत्रमा स्वास्थ्य संस्थाको अवस्था निकै दयनीय थियो । उपचारको लागि वीरेन्द्रनगर आउन २४ घण्टा हिँड्नुपथ्र्याे । एम्बुलेन्स चल्ने सहज मोटर बाटो थिएन । त्यतिबेला गर्भवतीले निकै सास्ती खेप्नुपथ्र्याे ।

महिलाहरुको त्यही पीडा देखेर केयर नेपाल संस्थाले विजौरा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गर्न पहल ग¥यो । अन्य पूर्वाधारहरु तयार भए । बर्थिङ सेन्टरका लागि एटेज ट्वाइलेट भएन । तत्काल रकमको जोहो सम्भव नभएपछि स्वास्थ्यचौकीका कर्मचारीहरुले आधा तलव कटाएर एटेजसहितको ट्वाइलेट र गर्भवतीका लागि आवश्यक उपकरणहरु खरिद गरे । अन्ततः सुर्खेतमा विजौरा स्वास्थ्य चौकीबाट बर्थिङ सेन्टर सञ्चालनमा आयो ।

निःस्वार्थ रुपमा विरामीको सेवामा रमाउने बार्षिक तलवको दुई प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्दै आएका छन् । विपन्न विरामी उपचारमा सहयोग, जेहेन्दार र विपन्न विद्यार्थीलाई छात्रबृत्ति दिने जस्ता कार्यहरु खर्चदै आएका छन् ।

‘मरेर लानु के छ र ? सकेसम्म विरामी र विपन्न नागरिकको सेवा गर्छु’ उनी भन्छन्, ‘असहाय नागरिक र विरामीको सेवा गर्न पाउँदा खुब आनन्द आउँछ ।’ उनले एक पटक राष्ट्रिय दिक्षा दक्ष अवार्ड र दुई पटक जिल्ला जनस्वास्थ्य कार्यालयबाट सम्मान प्राप्त गरेका छन् । अवकासपछि पनि सामाजिक सेवामै रहमाउने उनको चाहना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार