जसलाई साइकलले करोडौंको मालिक बनायो

जसले भोलीका लागि आज संघर्ष गर्छ, वास्तवमा त्यही मानिस नै सफल बन्छ । मानिस अनुसारका लक्ष्य फरक हुन्छन् । तर संघर्ष भने एउटै हुन्छ । मानिस सफल बन्नलाई काममा निरन्तरता र लगाव चाहिन्छ । जीवनमा संघर्ष गरेर आधारभूत आवश्यकताहरु पूरा गर्ने प्रयत्न गर्नुपर्ने हुन्छ । मेहनत गरेर जीवनका कठिनाइहरु छिचोल्दै सन्तुष्टिको बाटोमा हिँड्नुपर्ने हुन्छ । मानिस धेरै महत्वकांक्षी पनि हुनु हुँदैन । र आफ्नो काममा गर्व गर्नु पर्दछ । यसले मानिसलाई सफल र लक्ष्य प्राप्त गर्न सहज हुन्छ । लामो संघर्षबाट सफल बनेका बाँकेका मोहमद सारिफ वाग्वानसँग आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

मोहमद सारिफ वाग्वान
गोर्खा साइकल सप्लायर्स, नेपालगञ्ज

पढाइ बिचमै रोकियो

विस २०२५ असार महिनामा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोजीमा मोहमद सारिफ वाग्वान जन्मिए । सामान्य आर्थिक अवस्था भएको घरमा जन्मिएका उनी घरको जेठो छोरा हुन् । उनका पाँच भाईहरु छन् ।

उनी पढाइलाई धेरै महत्व दिन्थे । पढाइमासमेत उनी अब्बल थिए । सानो कक्षादेखि नारायण माध्यमिक विद्यालय नेपालगञ्जमा पढेका उनले १० कक्षासम्म त्यही विद्यालयमा पढे । सानैदेखि मेहेनती र मिलनसार स्वभावका उनले पढाइलाई निरन्तरता दिन चाहन्थे ।

तर घरको आर्थिक अवस्था कमजोर भएकै कारण पढाइलाई उनले रोक्नुपर्यो । उनको बुवा नगरपालिका कार्यालयमा बगैचा गोडमेल गर्ने काम गर्थे । बुवाको तलवले घर खर्च टार्न पनि हम्महम्मे हुन्थ्यो । त्यही भएर नै उनले पढाइलाई निरन्तरता दिन सकेनन् ।

प्रहरीमा जागिर खान गएनन्

घरको जेठो छोरा भएका कारण घरको जिम्मेवारी उनको काँधमा थियो । प्रहरीको सईमा जागिरी खुल्यो । अनि उनले साथीहरुसँगै प्रहरीको सईमा जागिर खाने भन्दै फर्म भरे । उनले त्यसमा नाम पनि निकाले ।

सबै फाइनल भइसकेपछि उनी तालिममा जाने तयारी गरिरहेका थिए । तर उनको बुवाले नजाने बरु व्यवसाय गर्ने भने । उनी त्यो जागिरको सट्टा व्यवसायमा लाग्न तयार भए । त्यसपछि उनले व्यवसायिक मानसिकता बनाएर काम शुरु गरे ।

अनि व्यवसायमा लागे


उनको परिवार ठुलो थियो । घरको खर्च बढ्दै गएपछि पढाइलाई निरन्तरता दिन सहज भएन । अनि उनी १८ बर्षदेखि नै व्यवसायिक बाटोमा लागे । उनले साइकलमार्फत बजारमा पाउरोटी र बिस्कुट बेच्ने कामबाट आफ्नो व्यवसाय शुरु गरेका हुन् ।

उनले लामो समय त्यही काम गरे । अनि उनले किराना पसल शुरु गरे । अनि १३ सय लगानीबाट शुरु गरेको किराना पसल ३७ हजारमा बिक्रि गरे । तर ३० हजार रुपैयाँ एक जनाले नदिएपछि उनीसँग जम्मा सात हजार रकम मात्र थियो ।

अनि उनी के गर्ने भन्ने चिन्तामा थिए । एकजना नाता पर्ने भगवती न्यौपानेले साइकलको पसल गर्न सुझाव दिए । त्यही सुझावको आधारमा उनी साइकलको व्यापारमा लागे । सात हजारको लगानीबाट शुरु गरेको साइकल व्यवसाय अहिले ३० करोडभन्दा माथीको कारोबारोमा पुगेको छ । उनी भन्छन्, आफ्नो काममा निरन्तरता दिएपछि सफल बनिदो रहेछ ।

संघर्षपछि सफलता

वाग्वान २०४३ सालदेखि नै निरन्तर आफ्नो व्यवसायमा संघर्ष गरिरहेका छन् । उनको आर्थिक अवस्था कमजोर नै थियो । उनी सफलताको खोजीमा निरन्तर रातदिन संघर्ष गरिरहे । आफुसहित आफ्ना भाइहरुलाई पनि संघर्ष गर्न सिकाए ।

कहिले साइकलमा दौडिएर पाउरोटी, विस्कुट बेच्नेदेखि कहिले किराना पसल गर्ने सम्मका काम गर्दा उनले धेरै संघर्ष गर्नुपर्यो । सानो लगानीबाट शुरु गरेका व्यवसायमा कहिले उनले घाटा पनि बेहोर्नुपर्यो । तर उनी डगमगाएनन् । उनले आफ्नो कामलाई निरन्तरता दिइरहे ।

उनले निरन्तर संघर्षसँगै आफ्नो बिवाह पनि गरे । अझै धेरै संघर्ष गर्नुपर्ने अवस्था आयो । यही संघर्षले उनलाई सामान्य मानिसबाट मालिक बनायो । उनी अहिले अन्य व्यक्तिहरुलाई प्रेरणाको स्रोतसमेत बन्न सफल भएका छन् । १३ सयको लगानीबाट संघर्ष गर्दै जाँदा करोडौको मालिक बन्दा उनी जीवन नै संघर्ष रहेछ भन्ने अनुभव अन्य व्यक्तिहरुलाई पनि दिन्छन् ।

आगामी योजना

लामो संघर्षपछि सफल बनेका उनको आगामी योजना भनेको शिक्षा र स्वास्थ्यमा लगानी गर्नेछ । जसबाट धेरै व्यक्तिहरुलाई रोजगारी दिने उनको लक्ष्य छ । उनी विगतलाई सम्झिन्छन् ।

रकम अभावमा शिक्षा नपाउने र उपचार नपाउने धेरै छन् । त्यसको एउटा उदाहरण आफू पनि हुन् । त्यसैले शिक्षा र स्वास्थ्य क्षेत्रमा उनले लगानी गरेर आम जनतालाई शिक्षा र स्वास्थ्यको सहज पहुँचमा उनले पुर्याउन चाहन्छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार