अन्तर्वार्ता

संघर्षले खारिएका हीरासिंह

दैलेखको भैरवी गाउँपालिकाका इन्जिनियर हुन् हीरासिंह थापा । उनी २४ बर्षदेखि निजामति क्षेत्रमा क्रियाशील छन् । इन्जिनियरिङ पेशा आफैमा समाजसँग धेरै घुलमिल नहुने पेशा हो । तर उनी एउटा यस्तो व्यक्ति हुन् जो समाजसँग निकै नजिक छन् । निजामति क्षेत्रसँगसँगै उनी समाज सेवामा पनि उत्तिकै सक्रिय छन् । गाउँ समाजको विकासमा योगदान गर्ने उद्देश्यले उनकै सक्रियतामा सामाजिक सेवा केन्द्र (सोसेक) सञ्चालन गर्दै आएका छन् । उनकै योजनामा स्थापित सोसेक अग्रणी संस्थाको रुपमा परिचित छ । प्रस्तुत छ, उनै थापाको जीवन भोगाइ र निजामति क्षेत्रको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश :

हीरासिंह थापा
इन्जिनियर, भैरवी गाउँपालिका, दैलेख

बाल्यकालमा भैंसी गोठालो

२०२८ साल बैशाख ३ गते आमा बाटु र बुवा पदमबहादुर थापाको कोखबाट हिरासिंहको जन्मभयो । भैरवी गाउँपालिका–२ रावतकोटमा जन्मिएका उनको बाल्यकाल बर्दियाको राजापुरमा वित्यो । भैंसी गोठालो बन्न उनी राजापुर झरेका थिए ।

‘घरमा आठ–दश वटा भैंसी थिए, १५ बर्षको उमेरसम्म भैंसी गोठालो थिएँ’ उनी भन्छन्, ‘बुवासँगै भंैसी गोठालो भएर बाल्यकाल विताएँ ।’ ऊबेला दैलेखबाट भैंसी चराउन बर्दिया जाने चलन थियो । दशंैंतिहार मानेर भैंसी चराउन बर्दिया पुग्थे ।  असार लागेपछि गाउँ फर्किन्थे । यहीकारण उनी १५ बर्षसम्म भैंसी गोठालो भएरै बाल्यकाल विताए ।

भैसीगोठालोसँगै घासदाउरा, मेलापात गर्दै बाल्यकाल वित्यो । बाख्रा गोठालो गएको बेला बाख्राले हानेर भिरबाट लढेको नराम्रो क्षण अहिले पनि ताजै छ । ‘बाख्राले हानेर भिरबाट लढँे, भाग्यले रुखको हाँका समातेर बाँचँे’ उनी भन्छन्, ‘त्योदिन आमाले उद्दार नगरेको भए, यो संसार देख्न पाइने थिएन ।’ बर्दियामा भैंसी गोठालो जाँदा बर्दियामा कर्णाली नदीमा बगेका र दुःखद घटना विर्सेका छैनन् ।

एकै बर्षमा तीन कक्षासम्म पढे

ऊबेला पढ्नुपर्छ भन्ने चेतना थिएन । गाउँघरमा भैंसी पाल्ने, घ्यू बेचेरमा घरखर्च चलाउने चलन थियो । जसको घरमा धेरै भैंसी छन्, गाउँमा उही परिवार सम्पन्न मानिन्थ्यो । जसकांकारण १५ बर्षसम्म हिरासिंहले गोठोलो भएर विताए । तर १५ बर्षको समयमा उनको दुई वटा दुहुनो भैंसीहरु मरे । केही भैंसीहरु विरामी भए ।

भैंसीहरु मर्न थालेपछि उनको गोठालो जाने दैनिकी छुट्यो । त्यसपछि उनी गाउँ फर्किए । १५ बर्षको उमेरपछि मात्र कखरा सिक्न थाले । गाउँकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरे । संयोग भनौं वा पढाइप्रतिको मेहनत । एक बर्षमा कक्षा १, २ र ३ पास गरे । कक्षा ६ देखि १० सम्मको पढाइ विजया माध्यमिक विद्यालयबाट पुरा गरे ।

अनि काठमाण्डौ छिरे

२०४९ सालमा एसएलसी पास भएपछि उच्च शिक्षा अध्ययन गर्न काठमाडौँ गए । भविष्यमा डाक्टर बन्ने उद्देश्य बोकेर काठमाडौँ छिरेका उनलाई पुलचोक इन्जिनियरिङ क्याम्पसले ध्यान तान्यो । त्यो समयमा पुलचोक इन्जिनियरिङ क्याम्पसले सिमित विद्यार्थी भर्ना लिन्थ्यो । तोकिएको कोटामा नाम निकाल्न धेरै ठूलो प्रतिस्पर्धा हुन्थ्यो ।

इन्जिनियरिङ नबुझेरै प्रवेश परीक्षा दिएका उनले करिव ६ हजार विद्यार्थीहरुले प्रतिस्पर्धा गर्दै नाम निकाल्न सफल भए । तर नाम निस्केपछि पढ्ने जाँगर देखाएनन् । डिप्लोमा तहको इन्जिनियर हो भन्ने बुझेपछि पढ्ने माया मारेका उनलाई साथीले पढ्नैपर्छ भनेपछि इन्जिनियरिङ पढे ।

‘डाक्टर बन्ने उद्देश्यले काठमाडौंँ पुगेको थिएँ, तर इन्जिनियरिङ क्याम्पसको विज्ञापन देखेर प्रवेश परीक्षा दिएँ । नाम निस्कियो,े तर पढ्ने इच्छा लागेन’ उनी भन्छन्, ‘एक जना साथीले भविष्य राम्रो हुन्छ भनेर कर गरेपछि मात्रै इन्जिनियरिङ पढेको हुँ ।’

जिल्ला बाहिरको जागिर छोडिदिए…

२०५४ सालतिर हिरा इन्जिनियरको पढाइ सकेर गाउँ फर्किए । उनी आफ्नै जिल्लामा जागिर खाने सोचमा थिए । तर अवसर थिएन । त्यहीबेला स्थानीय विकास मन्त्रालयले जिल्ला विकास समिति सल्यानमा सव–इन्जिनियरको कामका लागि नियुक्ती थमाइदियो ।

ऊबेला इन्जिनियर पढेका व्यक्तिहरु निकै कम हुन्थे । खोजीखोजी जागिर दिनुपर्ने अवस्था थियो । त्यही भएर मन्त्रालयले उनलाई विश्व खाद्य कार्यक्रमका लागि सल्यानमा गएर काम गर्न निर्देशन दियो । तर उनी जिल्लाभन्दा बाहिर गएर जागिर नगर्ने अडान राखे । जिल्लाभन्दा बाहिरको जागिर भएका कारण उनले सल्यान पुगेनन् ।

संयोग त्यसको केही समयपछि तत्कालीन जिल्ला विकास समितिमा जागिरको अवसर मिल्यो । करिव चार बर्षपछि लोकसेवा आयोगबाट स्थायी भए । २०५४ सालदेखि २०७४ सालसम्म जिविसमै रहेर सेवा गरे । संघीयतासँगै जन्मस्थानलाई कार्यथलो रोजे । हाल उनी भैरवी गाउँपालिकामा इन्जिनियरको रुपमा पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाको जिम्मेवारी सम्हाल्दै आएका छन् । जन्मभूमि र जिल्लाभन्दा बाहिर गएर जागिर नगर्ने उनको अठोट छ ।

अनि सामाजिक सेवामा जोडिए

हिरासिंह सानैदेखि सामाजिक सेवामा रुचि राख्थे । विद्यालय उमेरदेखि नै रेडक्रसमा जोडिए । सामाजिक रुपान्तरण र विपद्मा रेडक्रसले गरेका झण्डै ६ सयभन्दाख बढी कार्यक्रममा सहभागी भए । सबैभन्दा बढी कार्यक्रममा सहभागी भएको भन्दै कक्षा १० मा रेडक्रसबाट छात्रवृति समेत पाए । काठमाडौँं पुगेपछि थापाहरुको मात्रै एउटा सामाजिक संस्था थियो ।

त्यो संस्थामा राजदुतदेखि विभिन्न उच्च तहका व्यक्तिहरु सहभागी थिए । त्यही कार्यक्रममा उनले गाउँमा महिला र बालबालिकाले पाएको दुःखका कथाहरु सुनाए । यो संस्थाले गाउँमा पुगेर केही सहयोग गर्न सक्दैन भनेर जिज्ञासा राखे । कार्यक्रमपछि जिल्लामा थापाहरुकै संस्था दर्ता गर्न र पछि त्यही संस्थालाई सहयोग गर्ने बचन दिए ।

इन्जिनियरको पढाइ पुरा भएपछि गाउँ फर्किए । जातिय रुपमा नभए सिंगो समाजको सेवा गर्ने उद्देश्यले सामाजिक सेवा केन्द्र (सोसेक) को स्थापना गरे । ११ जना साथीहरुले एक–एक हजार रुपैयाँ संकलन गरेर स्थापना गरेको संस्था अहिले जिल्लामा अग्रणी संस्थाको रुपमा स्थापित छ । जागिरबाट बचेको समयलाई अहिले पनि सोसेकमा प्रयोग गर्छन् । सोसेकले २४ बर्षदेखि महिला, बालबालिका र विपन्न समुदायको जीवनस्तर उकास्ने लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

जागिरकै सिलसिलमा उनीमाथी आक्रमण भयो । कोरोनाको पहिलो लहरमा उनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए । त्यहीबेला क्वारेन्टाइन व्यवस्थापन राम्रो नभएको भन्दै जेठ २१ गते उनीमाथि आक्रमण भयो । ‘क्वारेन्टाइनमा बसेकालाई सरकारले दैनिक १५ सय भत्ता दिन्छ भन्ने हल्ला सुनेका रहेछन्’ उनी भन्छन्, ‘आफूहरुले भत्ता नपाएको, राम्रो व्यवस्थापन नगरेको भन्दै आक्रमण गरे ।’

अनि जेल परे

हिरासिंह सानैदेखि समाज रुपान्तरण हुनुपर्छ भन्ने मान्यता राख्थे । महिला र बालबालिकाको पीडादायिक दैनिकीले उनको मन पोल्थ्यो । ‘सुत्केरी भएपछि महिललाई गोठमा लखेटिन्थ्यो, दलित शिक्षकलाई भान्सामा पस्न दिइन्थेन्’ उनी भन्छन्, ‘सानै हुँदा यस्तो विभेदले मन पोल्थ्यो ।’ उनी दलित र विपन्न बर्गलाई विभेद गरिनु हुँदैन भन्ने मान्यता राख्थे ।

सोकेकको स्थापनापछि सामाजिक रुपान्तरमा क्रियाशिल भए । एक व्यक्ति दुई रुख, महिलाको पाठेघर खस्ने समस्या, छोराछोरीलाई समान शिक्षा, महिलाहरुको सामाजिक विकास र जायित विभेद विरुद्ध अभियान चलाए । मुलुक द्वन्दकै चपेटामा परेको बेला उनी सामाजिक कार्यमा सक्रिय भए । एकदिन रेडियो नेपालको मत अभिमत कार्यक्रममा उनको विचार समेटियो ।

गाउँमा सामाजिक संघ संस्थालाई काम गर्न माओवादी पक्षबाट कति सहज छ भनेर प्रश्न गरिएको थियो । उनले माओवादी र राज्य दुबै पक्षबाट सहज नभएको उत्तर दिए । ‘माओवादी त मार्ने नै भयो, मौका पायो भने सेनाले पनि मारिदिन्छ’ उनले यही उत्तर दिए ।

उनको यो जवाफका कारण उनलाई सेनाले माओवादीका विल्ला भिरायो । माघ १९ गतेदेखि राजाको सक्रिय शासनकाल सुरु भयो । त्यसपछि उनलाई सेनाले पक्राउ ग¥यो । एकसय ७१ दिनसम्म उनी जेल बसे । परिवारले बन्दी प्रत्यक्षकरणको मुद्धा लढेपछि जेलबाट छुटे ।

तपाईको प्रतिक्रिया