आफन्तले जुराएको जोडी

भनिन्छ नी, देखेको पाइँन्न । लेखेको पाइन्छ । अर्थात भाग्यमा लेखेको टारेर टर्दैन । नदेखेको र नभेटेको मान्छे पनि आफ्नै हुन्छन् । नचिताएको र कल्पना नै नगरेको मान्छेसँग जीवन विताउनुपर्ने हुन्छ । आफन्त र परिवारको खुशीका लागि आफ्ना खुशीहरु साँच्नुपर्ने हुन्छ । अनि टाढा रहेकाहरु आफन्त र परिवार बन्छन् । मन र बिचार मिलाएर जीवन साथी बन्नुपर्छ । जहाँ विश्वास, त्यहाँ माया गहिरो बन्दै जान्छ । जसको विश्वास र माया छ त्यो जोडीको सम्बन्ध सफल हुन्छ र जीवन सहज हुन्छ । यस्तै एउटा जोडी हो बर्दियाका नारायणप्रसाद सिग्देलसावित्री सिग्देलको । प्रस्तुत छ, यो जोडिसँग गरिएको कुराकानीको सम्पादित अंश :

नारायणप्रसाद सिग्देल र सावित्री अधिकारी

यसरी जु¥यो विहेको कुरा

नारायण र सावित्रीको सुरुमा चिनजान थिएन । नारायण बर्दियामा बस्थे । सावित्री भने पाल्पामा । त्यतिबेला कुनै संचारका माध्यमहरु पनि थिएनन् । नारायणको बिवाह गर्नुपर्ने घरपरिवारमा कुरा चलिरहेको थियो । त्यतिकैमा उनका दाई भाउजु बर्दियामा बस्थे ।

सावित्रीको दिदी नारायणको दाई भाउजुको छिमेकी थिइन् । उनीहरुको बिचमा छिमेकीको नाताले सम्बन्ध राम्रो स्थापित हुँदै गयो । विशेष गरेर नारायणको भाउजु र सावित्रीको दिदी एकअर्कामा मिल्ने साथी थिए । उनीहरु अझै गहिरो सम्बन्ध बनाउन चाहन्थे । यही क्रममा एकदिन घरपरिवारमा को को हुनुहुन्छ ?

भनेर नारायणको भाउजुले सावित्रीको दिदीलाई सोधिन् । अनि उनले घरपरिवारको सम्पूर्ण जानकारी दिने क्रममा आफ्नो बहिनी सावित्रीको पनि नाम लिइन् । अनि नारायणको भाउजुले मेरो पनि देवर अविवाहित हुनुहुन्छ भनेर भनेपछि दुबैजना एकैछिन त्यही कुरामा केन्द्रीत भए ।

मागी विवाह

नारायणको भाउजु र सावित्रीको दिदीले बिवाहको कुरालाई अगाडी बढाउँदै गए । यो कुरा दुबैको घरपरिवारसम्म पुग्यो । उनीहरुले दुबैको बारेमा घरपरिवारले सबै कुरा फिक्स गरेपछि परम्पराअनुसार माग्ने काम भयो । दुबै घरपरिवारलाई सहमत बनाउने काम नारायणको भाउजु र सावित्रीको दिदीले गरेका थिए ।

अनि सबै पक्रिया पुरा भएपछि सावित्रीको हात माग्ने काम भयो । त्यतिबेलासम्म नारायण र सावित्रीको बोलचाल हुन सकेको थिएन । माग्नेबेला देखादेख मात्र भएको थियो । अनि उनीहरुबिचमा मगनी भएको दुई महिनापछि बिवाह गर्ने घरपरिवार निधो गरे । र २०४८ सालमा उनीहरु बिवाह बन्धनमा बाँधिए । बिवाह गर्दा नारायण २५ बर्षका थिए । सावित्री २३ बर्षकी थिइन् ।

बिहे गरेर आउँदा बाटोमै बोलचाल

जब उनीहरु श्रीमान् श्रीमती भएर बिवाह बन्धनमा बाँधिए । उनीहरु नारायणको घरमा बिवाह गरेर आउँदै थिए । विहे गरेर पाल्पाबाट बसमा चढेका उनीहरु आधा बाटोमा आउँदा मात्र बोलेका थिए । शुरुमा नारायणले नै बोलाए । शुरुमा त नारायणले पनि बोलाउँदा अफ्ठेरो महशुस गरिरहेका थिए । उनले बोलाए । सावित्री पनि बोलिन् ।

तर उनले केही असहज महशुस गरेकी थिइन् । उनी टाढाबाट पराई घरमा जानुपर्दा फरक महशुस त भएकै थियो । घरमा आइसकेपछि घरपरिवारको माया र नारायणको सरल स्वभावले उनलाई लोभ्यायो । उनी विस्तारै घुलमिल हुँदै गइन् । नारायणले सावित्रीलाई धेरै माया पनि गर्थे ।

बिवाहपछि संघर्ष


नारायणले एसएलसी पास भएपछि नै जागिर खाइसकेको हुँदा जीवनमा अवाभको सिर्जना नभए पनि उनीहरु दुबै जनाले बिवाहपछि अन्य संघर्षहरु भने गर्नुपर्यो । नारायण सुर्खेतको जनज्योति माविमा प्रधानाध्यापक थिए । बिबाहपछि उनी आफ्नो शिक्षण पेशामा सुर्खेत पुगे ।

सावित्री भने घरमै बसिन् । घरको जिम्मेवारी नारायण र सावित्रीको काँधमा थियो । आफुहरुको पढाइलाई निरन्तरता दिनुपर्ने एकातिर थियो भने अर्कोतिर भाइहरुलाई पढाउने जिम्मेवारी पनि नारायणकै काँधमा थियो । उनीहरु कडा संघर्ष गरेर पढे । भाइबहिनीहरुलाई पनि पढाएर आफ्नो खुट्टामा उभिन सक्ने बनाए ।

नारायण र सावित्रीले आफ्नो जिम्मेवारी पुरा गर्दै आफ्नो पढाइलाई पनि पुरा गरे भने भाईबहिनीको पढाइलाई पनि पुरा गराए । अहिले नारायण जनज्योती माविको प्रधानाध्यापक छन् भने सावित्राले बाँकेको नेपालगञ्जमा पढाउछिन् । उनीहरुले लामो संघर्षपछि सफलतामा पुगेको बताउछन् । अहिले उनीहरु सन्तुष्ट छन् । बिवाहपछिको एकअर्काको साथ र सहयोगले नै सफलता हासिल गर्न सकेको उनीहरु बताउँछन् ।

कस्तो थियो बाल्यकाल ?

बुवा गुरुप्रसाद सिग्देल र आमा अम्बिकादेवी सिग्देलको कोखबाट नारायणको जन्म २०२४ पुष २१ गते तनहुँको किहु हुक्का÷बोमा गाउँमा भएको हो । उनको बाल्यकाल त्यही गाउँमै वित्यो । कक्षा ३ सम्म गाउँमै पढेका उनको परिवार ठुलो थियो ।

कक्षा ४ देखि भने बर्दियाको गोला गाउँमा काका्को घरमा बसेर पढेका हुन । १० कक्षासम्म बर्दियामै पढेका उनले नेपालगन्ज हुँदै सुर्खेतमा पनि पढे । उनको स्वभाव सहयोगी, जिज्ञासु र मेहेनती थियो । उनले अहिले एमएड गरेका छन् । उनी सामाजिक काममा पनि चासो राख्छन् ।

यता बुवा तेजप्रसाद अधिकारी र आमा तुल्सी अधिकारीको कोखबाट २०२६ फागुन १५ गते गेझा ८ हेक्लाङ्ग पाल्पामा सावित्री अधिकारीको जन्म भएको हो । उनका आठ दिदीबहिनी र एकजना दाई छन् । उनको बाल्यकाल पाल्पा को गेझा हेक्लाङ्गमै वित्यो । सानो कक्षा पनि उनले गाउँमै पढिन् । मेहनती र सरल स्वभावकी उनले अरुको भलाइ चाहन्छिन् । उनले अहिले आइए पास गरेकी छन् ।

सल्लाह र सहकार्य

यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । र काम बाँडफाँड गरेर अगाडी बढाउने गर्दछन् । उनीहरुको योजना जहिले पनि समझदारीमा हुने गर्दछन् । सानो सानो कुराहरु पनि सरसल्लाह गरेर काम गर्छन् ।

दुबै जना हरेक काम गर्दा एकअर्काको सहकार्य र सहयोग विना कुनै काम गर्दैनन् । यो जोडी कहिलेकाँही फुर्सद मिलाएर रमाइला ठाउँहरुमा घुम्न पनि जान्छन् । घरको खाना बनाउने काम पनि बाँडफाँड गरेर दुबै जनाले काम गर्छन् । सहयोगी स्वभाव र राम्रा ठाउँ घुम्न पनि लैजाने नारायणको बानी सावित्रीलाई धेरै मनपर्छ ।

आफन्त साथीभाईलाई सावित्रीले राम्रो व्यवहार गर्छिन् । त्यो बानी नारायणलाई मनपर्छ । आपसी विश्वास र सहकार्यले नै सम्बन्धमा खटपट नल्याउने उनीहरुको बुझाइ छ । त्यही भएर नै उनीहरु सफल जोडी बन्न सफल भएका छन् । उनीहरुले सम्बन्ध टिकाउन एकअर्कालाई विश्वास गर्नुपर्ने र जुनसुकै काममा पनि सल्लाह गर्नुपर्ने सुझाव दिन्छन् ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार