विदेशबाट फर्केर गाउँमै व्यवसायमा जमेका नरेन्द्र

मानिसको जन्म आफूले चाहेर हुँदैन । चाहेर जन्म हुने भए प्रायः मानिसहरु सम्पन्न परिवारमा नै जन्म लिन्थे । भौतिक सुख र सुविधा भएकै ठाउँमा जन्मिन्थे । जन्म चाहेअनुसार नहुने भएका कारण पनि मानिसहरुले जहाँ जस्तो अवस्थामा जन्भिए पनि त्यसलाई स्वीकार गर्नु पर्दछ । बरु जीवनमा संघर्ष गरेर आधारभूत आवश्यकताहरु पूरा गर्ने प्रयत्न गर्नुपर्ने हुन्छ । मेहनत गरेर जीवनका कठिनाइहरु छिचोल्दै सन्तुष्टिको बाटोमा हिँड्नुपर्ने हुन्छ । यस्तै भयो दैलेखका नरेन्द्र रावतको जीवनमा पनि । आजको जम्काभेटमा उनै रावतसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

नरेन्द्र रावत
व्यवसायी

सानैदेखि संघर्ष

बुवा राम रावत र आमा हस्तना रावतको कोखबाट विसं २०४५ साल मंसिर १२ गते दैलेखको आठबिस नगरपालिका वडा नम्बर १ झुजमा नरेन्द्र जन्मिए । उनी घरको कान्छो छोरा हुन् । उनका सात भाइबहिनी छन् ।

उनको बाल्यकाल सामान्य खालको थियो । उनको बुवाले कृषि कर्म गर्थे । उनीहरुको जग्गा थोरै थियो । बिहान खाए साँझ के खाने ? भन्ने चिन्ता हुन्थ्यो । सानैदेखि दुखले जीवन विताएका नरेन्द्रले कक्षा ६ सम्म गाउँकै भानुभक्त प्राथमिक विद्यालयमा पढे ।

राम्रोसँग पढ्न पाएनन्

आठबिस नगरपालिका दैलेखमा जन्मिएका उनको बाल्यकाल पनि गाउँमै वित्यो । विद्यालय गएर के गर्ने घरको आर्थिक अवस्था यस्तो छ भनेर बुवा आमाले भन्थे । उनीहरुको परिवारले अधिया समेत लगाएर साँझ बिहानको छाक टार्नुपर्ने अवस्था थियो ।

अरु साथीहरु विद्यालय गएर नियमित पढ्थे । तर उनले राम्रोसँग पढ्न पनि पाएनन् । घरको अवस्थाकै कारण उनको बाल्यकाल कष्टकर बनेको थियो । घरको अवस्था त त्यस्तै थियो । बिचमा माओवादी द्धन्द्धका कारण अझै समस्या थपियो । उनी बाल्यकाल सम्झदै भन्छन्, ति दिनहरु सम्झदा मलाइ अहिले त धेरै सहज छ ।

अनि विदेश गए

६ कक्षा पढ्दापढ्दै उनी घरको आर्थिक अवस्था र विभिन्न कारणले काम गर्न भन्दै सन् २००५ सालमा भारततर्फ लागे । भारतको मुम्बइमा उनले १० बर्षसम्म बसेर धेरै संघर्ष गर्नुपर्यो । उनले उतै बसेर नै घरको आर्थिक अवस्था टार्नुपथ्र्यो ।

उनले त्यहाँ गएर मजदुरी समेत गरे । लामो संघर्षपछि उनले जीवनलाई सहज बनाउने बाटोमा हिँड्दै गर्दा उनी घरमा फर्किए । घरमा फर्किएर तेस्रोमुलक कतार जाने निर्णय गरे । अनि कतार सन् २०१६ मा गएर दुईबर्ष बसे । त्यहाँ गएर पनि उनले संघर्ष भने गरिरहे । सानैदेखि मेहनती र संघर्षशिल स्वभावका कारण उनी अन्यायविरुद्ध भने लाग्थे ।


व्यवसायमा प्रयास

विदेशमा धेरै संघर्ष गरे । अनि संघर्ष गर्दा सफल भइने शिक्षा लिएपछि उनी गाउँमै फिर्ता भए । गाउँमा ठुलो व्यवसाय संचालन गर्ने सोचका साथ विदशेबाट स्वदेश फर्किए । स्वदेश फर्किएर उनले चार लाखको लगानीमा कुखुरापालन व्यवसाय शुरु गरे । शुरुमा उनलाई त्यो व्यवसायबाट राम्रै आम्दानी भयो ।

पछि कुखुरा मर्ने र बजारीकरणको अभावका कारण उनले त्यो व्यवसायबाट नोक्सानी बेहोर्नुपर्यो । ठुलो मेहेनत गरेर कमाइ गरेको पैसा कुखुरापालन व्यवसाय गर्दा डुबेपछि उनले सोच्थे, जति नै मेहेनत गरे पनि घाटा नै बेहोर्नुपर्ने ? उनको दाईभाउजुले अहिलेसम्म विदेश गएर खासै प्रगति भएन भन्दै अब भएको जग्गा बेचेर भए पनि राम्रो व्यवसाय गर्न सुझाए । र केही आर्थिक सहयोग गर्ने बचन पनि दिए ।

लामो संघर्षपछि सफलतातर्फ

उनको आर्थिक अवस्था कमजोर नै थियो । उनले बिवाह पनि गरे । बिवाहपछि झनै उनले संघर्ष गर्नुपर्यो । एकातिर छोराछोरी स्याहार गर्नुपर्ने, अर्कोतर्फ घर चलाउनुपर्ने अवस्था थियो । उनीसँग रकम पनि थिएन । दाईले सहयोग गर्छु भनेपछि उनी होटेल व्यवसाय शुरु गर्ने भन्ने निर्णयमा पुगे ।

उनले होटेल व्यवसाय शुरु गर्ने निर्णय गरे । २०७६ सालदेखि दैलेखको गुराँस गाउँपालिका ४ मा होटेल व्ययवसाय थालेका उनले शुरुमा पाँच लाखको लगानी गरेका उनले रातदिन संघर्ष गरेपछि उनको व्यवसाय फस्टाउन थाल्यो । अहिले उनको दैनिक २० हजारको व्यापार गर्छन् । उनले लामो संघर्ष गरे

। संघर्षपश्चात नै उनी अहिले सफलतातिर गइरहेका छन् । सामान्य परिवारमा जन्मिएका उनी सोच्छन्, सानैदेखि संघर्ष नगरेको भए यहाँसम्म आउन सक्थिन होला । अहिले उनको श्रीमती र उनी त्यही होटेल व्यवसाय संचालन गरिरहेका छन् । छोराछोरीलाई बर्दियाको राम्रो विद्यालयमा पढाएका छन् । मेहेनत गरे सफलता मिल्छ भन्ने उदाहरणिय व्यक्ती बनेका छन् उनी ।

आगामी योजना

लामो संघर्षपछि यो स्थानसम्म आइसकेका उनको आगामी योजना भनेको आफ्नो व्यवसायलाई निरन्तरता दिने र ठुलो बनाउने छ । अर्को योजना भनेको आफुले पढ्न नपाए पनि छोराछोरीलाई पढाएर राम्रो मानिस बनाउने योजना बनाएका छन् । उनको अर्को योजना भनेको सबैका बालबालिकाले सहजसँग पढ्न पाउन भन्ने छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार