अन्तर्वार्ता

‘सेवाग्राहीको मुहारमा खुशी देख्दा गौरव लाग्छ’

कर्णालीले बर्षाैंदेखि कर्मचारीको अभाव बेहोर्दै आएको छ । डोल्पा, हुम्ला र मुगुमा जस्ता विकट क्षेत्रमा अहिले पनि कर्मचारीको अभाव कायमै छ । कर्णालीले कर्मचारीको अभाव बेहोर्नुको एउटै कारण हो भौगोलिक विकटता हो । विकटताताकै कारण कर्मचारीहरु कर्णालीमा आउँन रुचाउँदैनन् । कर्णालीमा कर्मचारी टिकाउन उनीहरुको शिक्षा र स्वास्थ्यकोसमेत ग्यारेन्टी सरकारले लिनुपर्ने बताउँछन् जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा । प्रस्तुत छ, निजामित क्षेत्रमा झण्डै १७ वर्ष विताएका देवकोटाको निजामति क्षेत्रको अनुभव र जीवन भोगाइमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

प्रेमप्रसाद देवकोटा
प्रमुख जिल्ला अधिकारी, जाजरकोट

सानोमा मेलापात

बुवा शंकर र आमा धर्मा देवकोटाका पहिलो सन्तान हुन् प्रेमप्रसाद देवकोटा । २०३८ साल भदौ १६ गते जुम्लाको गुठीचौर गाउँपालिका–५ मा उनको जन्म भएको हो । मध्यम परिवारमा हुर्किएका उनले घाँस दाउरा, गाईगोठालो र मेलापात गर्दै बाल्यकाल विताए ।

‘कृषकको छोराछोरीका लागि घाँस दाउरा र गाईगोठालो दैनिकी नै हो’ उनी भन्छन्, ‘मलाइ पनि एसएलसी दिँदासम्म मेलापात छुटेन ।’ मेलापातमा परिवारलाई सघाए पनि आर्थिक भार भने खेप्नु परेन । ‘बुवाको सरकारी जागिर थियो, आर्थिक रुपमा दुःख त भएन । तर जेठो छोरा भएका कारण मेलापात त गर्नेपथ्र्याे’ उनी भन्छन्, ‘दिनभरी स्कुल गए पनि साँझ र विहान घरमा सघाउँथे ।’

खुब मनपर्ने फुटबल

प्रेमले २०४४ सालबाट खकरा चिन्न थालेका हुन् । गाउँकै कालीका प्राथमिक विद्यालयमा औपचारिक पढाइ सुरु गरेका थिए । त्यही स्कुलबाट मेलापात गर्दै कक्षा ५ सम्म अध्ययन पुरा गरे । कक्षा ६ र ७ त्रिभुवन निम्न माध्यमिक विद्यालयमा पढे । कक्षा ८ देखि एसएलसीसम्म पढाइ चन्दननाथ माध्यमिक विद्यालय पुरा गरे ।

कक्षा ८ सम्म उनी विद्यालयमा सधै प्रथम हुन्थे । त्यसपछिको पढाइमा भने स्तरमा झ¥यो । २०५४ सालमा एसएलसी पास गरेपछि जुम्ला बहुमुखी क्याम्पसबाट उच्च शिक्षा पढ्न थाले । जुम्लाबाटै इन्टर र स्नातक तह पुरा गरे । उनले त्रिचन्द्र क्याम्पस काठमाडौंबाट स्नातकोत्तर तह पुरा गरेका छन् ।

माध्यमिक तहमा हुँदा हाजिरीजवाफ र फुटबल प्रतियोगितामा उनी खुब रुचि राख्थे । ‘स्कुल पढ्दा धेरै पटक हाजिरीजवाफमा मेरो टिम प्रथम भएको थियो’ उनी भन्छन्, ‘फुटबल त पाएपछि अहिले पनि खेल्छु ।’ फुटबल खेलप्रतिको मोह अहिले पनि छोडेका छैनन् ।

अनि बुवाकै बाटो समाए

प्रेमका बुवा पूर्व निजामति कर्मचारी हुन् । स्वास्थ्य क्षेत्रमा रहेर उनले लामो समय राष्ट्रको सेवा गरको छन् । निजामति कर्मचारीप्रति नागरिकको विश्वास र स्थायित्व बुझेपछि प्रेमले पनि बुवाकै बाटो रोजे । ‘बुवा स्वास्थ्यको कर्मचारी हुनुहुन्थ्यो, यो क्षेत्रमा आउनु उहाँकै योगदान हो’ उनी भन्छन्, ‘पहिले बुवाकै कारण यो क्षेत्रमा आएँ, पछि क्षेत्रमा आफ्नो भविष्य खोजेँ ।’

निजामति क्षेत्रमा आउनुको अर्काे कारण जुम्लामा रहेको लोकसेवा आयोगको कार्यालय हो । ‘टाढा–टाढाबाट जागिर खान जुम्ला आउँथे, आफ्नै ठाउँमा कार्यालय हुँदा मैले किन जागिर नखाने भनेर सोचें’ उनी भन्छन्, ‘निश्पक्ष रुपमा हुने परीक्षा हुन्छ र स्थायी रोजगारी हुने निजामित क्षेत्र मेरो रोजाइमा परेको हो ।

’ क्याम्पस पढ्दै गर्दा आयोगको तयारी गरे । स्नातक तह दोस्रो बर्षमा अध्ययन गर्दागर्दै निजामति क्षेत्रमा आए । ‘क्याम्पसमा पढाइ भएका कारण आयोगको तयारी गर्न काठमाडौँ जान सक्ने अवस्था थिएन’ उनले भने, ‘जुम्लामै खरिदारको किताव किनेर पढेँे, स्वअध्यन गरेर परीक्षा पास गरेँ ।’

खरिदारमा नाम निस्कियो

२०६१ सालसालबाट खरिदार पदबाट उनी निजामति क्षेत्रमा प्रवेश गरेका हुन् । मालपोत कार्यालय डोल्पाबाट निजामित क्षेत्रमा क्रियाशील भए । २०६६ सालमा सहलेखापाल भए । करिव ६ महिनापछि नावय सुब्बा भए ।

२०६८ मा अधिकृत भएका उनी २०७३ सालदेखि उप–सचिव पदमा कार्यरत छन् । यो अवधिसम्म सुर्खेत, डोल्पा, जुम्ला, रौतहट, काठमाडौँ, बाँके, दिपायल, बुटवल लगायतका जिल्लामा पुगेर सेवा गरिसकेका छन् । स्थानीय तह, लोकसेवा आयोग, मालपोत, काठमाडौँको सार्वजनिक खरिद कार्यालय हुँदै हाल गृहमन्त्रालय मातहतको प्रमुख जिल्ला अधिकारीका रुपमा जाजरकोटमा कार्यरत छन् ।

‘दुर्गममा जाने कर्मचारीले थप सुविधा चाहिन्छ’

कर्मचारीहरु दुर्गममा जान रुचाउँदैनन् । बाध्यताबस दुर्गममा पुगेका कर्मचारी पनि धेरै समय टिक्दैनन् । दुर्गममा कर्मचारीलाई दुर्गम भत्ता मात्रै नभएर शिक्षा र स्वास्थ्यमाको ग्यारेन्टी लिनुपर्ने प्रेमको तर्क छ । ‘दुर्गममा बस्ने कर्मचारीले धेरै अवसरहरु गुमाउनुपर्छ, यही कारण दुर्गम भत्ता पाए पनि कर्मचारीहरु दुर्गममा जान चाहदैनन्’ उनी भन्छन् ‘अब राज्यले दुर्गमका खटिने कर्मचारीको शिक्षा र स्वास्थ्यको ग्यारेन्टिसमेत लिनुपर्छ ।’

शिक्षा र स्वास्थ्यका साथै विभिन्न बृद्धि विकासमा पनि दुर्गमका खटिने कर्मचारीलाई राज्यले प्राथमिकता दिनुपर्ने बताउँछन् । निजामति क्षेत्रमा १७ बर्ष विताई सकेका उनी सेवाग्राहीको अनुहारमा खुशी देख्दा पेशाप्रति गौरव गर्छन् । ‘काम सकिएपछि सेवाग्राहीको मुहार खुशी देख्दा आत्मसन्तुष्टि मिल्छ’ उनी भन्छन्, ‘बृद्ध आमाबुवा र बालबालिकाको सेवा गर्न पाउँदा सबैभन्दा धेरै खुशी हुन्छ ।’ अवसारपछि भने सामाज सेवामा रमाउने उनको योजना छ ।

तपाईको प्रतिक्रिया