अन्तर्वार्ता

‘जनताको सेवा गर्नेहरु विकटतासँग डराउनु हुँदैन’

प्रायः जीवनमा रहर र सपना सबैले पाल्छन् । तर धेरैका रहर पूरा हुँदैनन् । कडा मेहनत र परिश्रम गर्नेहरुले मात्रै आफ्ना सपनाहरु पूरा गर्दछन् । मेहनत र परिश्रमदेखि नथाक्नेहरुले जीवनमा सफलता प्राप्त गर्छन् । त्यही मध्येका एक हुन् छविलाल रिजाल । सानैमा सिडिओ हुने सपना देखेका उनले अन्ततः जीवनमा आफ्नौ त्यही सपना पुरा गरेका छन् । हाल सुर्खेतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गरिरहेका उनले निजामति क्षेत्रमा २८ बर्ष विताइ सकेका छन् । कर्मचारीलाई राष्ट्रको सच्चा सिपाही ठान्ने उनले कर्णालीको दुर्गम डोल्पादेखि सिंहदरबारसम्मको अनुभव सम्हालेका छन् । प्रस्तुत छ, उनै रिजालको जीवन भोगाइ र निजामति क्षेत्रको अनुभवमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

छविलाल रिजाल
प्रमुख जिल्ला अधिकारी, सुर्खेत

सानैमा बुवा गुमाए

छविलाल रिजाल पर्वतका स्थानीयवासी हुन् । बुवा स्व.विष्णुप्रसाद र आमा गंगादेवी रिजालको कोखबाट २०२९ साल माघ ७ गते उनको जन्म भएको हो । फलेवास नगरपालिका–३ शंकरपोखरीमा उनको बाल्यकाल वित्यो । सानो छंदा मेलापात र घाँसदाउरा गरे ।

कृषक परिवारमा जन्मिए पनि उनको बाल्यकाल सुखद् रह्यो । बुवा भारतीय आयल निगममा कार्यरत भएका कारण आर्थिक अभाव भोग्नु परेन । तर दुर्भाग्य पाँच बर्षकै उमेर उनले बुवालाई गुमाउनु प¥यो । तर पनि जीवनमा अभावहरु भोग्नु परेन ।

आमाले कुशल अभिभावकीय जिम्मेवारी निर्वाह गरिन् । ‘वुवाको माया त पाउँन सकिन, तर जीवनमा अभावहरु भोग्नु परेको छैन’ उनी बाल्यकाल सम्झदै भन्छन्, ‘सानोमा आमाले हुर्काउनु भयो, ठूलो भएपछि आफ्नै खुट्टामा उभिन सिकेँ ।’ कान्छो छोरा भएका कारण घरायसी जिम्मेवारी धान्नु परेन । आमा र दाजुहरुले अभाव र अप्ठेरो पर्न दिएनन् ।

पढाइमा अब्बल

छविलालले गाउँकै जनसहयोगी प्राथमिक विद्यालयबाट कखरा सिके । दाईसँग अक्षर चिने । त्यहाँ कक्षा ३ सम्म अध्ययन गरे । सँगै पढ्ने घरकै दाई कक्षामा पनि साथी बने । उबेला गाउँमा विद्युत थिएन । दिनमा विद्यालय, साँझ विहान मेलापात गर्ने उनी रातीमा टुक्की बालेर गृहकार्य गर्थे । कक्षा ४ देखि १० सम्मको पढाइ त्रिभुवन उच्च माध्यमिक विद्यालय शंखरपोखरीबाट पुरा गरे ।

२०४५ सालमा एसएलसी पास गरे । पोखराको पीएन क्याम्पस (पृथ्वी नारायण क्याम्पस) बाट उच्च शिक्षा सुरुवात गरे । त्यहीबाट आइकम र विकम पुरा गरे । वीएसमेत अध्ययन गरेका उनले दुई वटा विषयमा स्नातकोत्तर गरेका छन् । शंकरदेव क्याम्पसबाट एमवीएस र नेपाल जनप्रशासन क्याम्पसबाट एमपीए अध्ययन गरेका हुन् । पढाइमा उनी सानैदेखि अब्बल थिए ।

मध्यम तहमा कहिले प्रथम त कहिले दोस्रो हुन्थे । जग राम्रो भएकै कारण अधिकृतसम्मको लोकसेवा आयोगका परीक्षामा पनि सुरुमै पास भए । पढाइका अतिरित्त हाजिरीजवाफ, टेबुलटेसिन, ब्याडमिन्टेन जस्त प्रतियोगितामा विशेष रुचि राख्थे ।

अनि हुम्ला पुगे

रिजालले २०४७ सालमा आइकमको पढाइ पुरा गरे । त्यसपछि आफ्नै खुट्टामा उभिने प्रयास गरे । साथीको सहयोगमा हुम्ला पुगे । एक हजार आठसय ५० रुपैयाँ तलव सुविधा पाउनेगरी खर्पलगाउँको मान्धारा निम्न माध्यमिक विद्यालयमा शिक्षक भए ।

करिव एकवर्ष पढाउने काम गरे । दिनभरी पढाउँथे । साँझ विहानको समयलाई लोकसेवा आयोगको तयारीमा सदुपयोग गरे । पहिलो पटकमै लोकसेवा पास गरे । २०४९ सालबाट निजामति सेवामा प्रवेश गरे । डोल्पाको जिल्ला खानेपानी कार्यालय पहिलो कार्यथलो बन्यो ।

२०५२ साल कात्तिकमा उनी महालेखा परीक्षकको कार्यालयमा नावय सुब्बा (खेलापाल) मा सफल भए । त्यसको ठिक करिव एक बर्षपछि अर्थात २०५३ साल पुस ११ गते अधिकृत भए । अधिकृत भएपछि धेरै समय विभिन्न जिल्लाका हुलाक सेवामा रहेर सेवा गरे ।

सहसचिवमा सफलता

२०६६ सालमा उनी उपसचिव भए । त्यस लगत्तै विभिन्न जिल्लामा स्थानीय विकास अधिकारीको रहेर सेवा गरे । यो अवधिमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय विभिन्न पदमा रहेर जिम्मेवारी निभाए । करिव एक वर्ष स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एजीसीडीपी) को राष्ट्रिय कार्यक्रम प्रबन्धक भए ।

एजीसीडीपीमा हुँदा एडवीले रोक्नै थालेको एक अर्ब ६५ करोड अनुदान दिलाउन महत्वपूर्ण भूमिका खेले । रकम भुक्तानीका लागि आवश्यक पहलकदमी थाले । केही समय गरिवी निवारण कोष कार्यकारी निर्देशक समेत भए । २०७४ सालमा खुल्ला प्रतिस्पर्धाबाट सहसचिव बने ।

त्यसपछि इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बने । करिव नौ महिना इटहरीमा रहँदा स्थानीय शासन व्यवस्थापको जग बसाले । छोटो समयमै विभिन्न १४ वटा कानूनहरु निर्माण गरे । जनप्रतिनिधिदेखि कर्मचारीसम्मको तलव बैंकिङ प्रर्णलीबाट भुक्तानी गर्ने परिपाटी बसाले ।

बर्षाैदेखि अलपत्र रहेको सांस्कृतिक भवनलाई मर्मतसम्हार गरेर । तत्कालिन सांस्कृतिक भवनमै उपमहानगरको कार्यालय बनाए । रिजाल हाल सुर्खेतको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् । सुर्खेतमा सीडीओ भई आउनुअघि प्रधानमन्त्री कार्यालयमा कार्यरत थिए ।

४८ हजार हराएपछि…

२०५८ सालको बैशाखको कुरा हो । रिजाल गौशरा हुलाक कार्यालय सुनधारा काठमाडौँमा कार्यरत थिए । उबेला हुलाकबाट पैसा पठाउने सक्ने सुविधा थियो । कुनै सेवाग्राही ४८ हजार भारु भारत पठाउन आए ।

आवश्यक प्रक्रिया पुरा गरे । दिल्लीमा पैसा पठाए । दुर्भाग्य त्यो रुपैयाँ बाटोमै हरायो । कसले र कसरी रुपैयाँ हरायो अत्तोपत्तो भएन । तर गल्ती नभए पनि कार्यालय प्रमुखले उनीमाथि दोष थुपारे । जुन क्षण जागिरे जीवनकै सबैभन्दा दुःखद् क्षण हो । सह–सचिवमा पास हुँदा जीवनमा सबैभन्दा धेरै खुशी मिलेको थियो ।

देशको सच्चा सिपाही

करिव २८ बर्ष निजामति क्षेत्रको अनुभव सम्हालेका रिजालले सानैमा सिडिओ हुने सपना देखेका थिए । सानैमा नेतृत्व गर्ने क्षमता थियो । साथीभाइले झैझगडा गर्दा मिलाउने काम गर्थे । खेतमा पानी चार्न जाँदा पनि सबैका खेतवारीमा बराबरी बाँढ्ने ।

विद्यालयमा हुँदा समूहको नेतृत्व लिन्थे । यही गुण र क्षमताका कारण सानैदेखि सिडिओ हुने सपना देखेका थिए । निरन्तरको मेहनत र पेशाप्रतिको इमान्दारिताकै कारण अन्ततः रिजालले सिडिओ बन्ने सपना पुरा गरे । निजामति प्रवेश गरेपछि राष्टको सच्चा सिपाही भए ।

हिमालदेखि तराइसम्म जहाँ खटायो त्यही पुगे । उनले सेवा नगरेको कुनै प्रदेश छैन । ‘सरकारको सिपाहीले यो ठाउँ जान्छु, त्यो ठाउँ जान्न भन्नु हुँदैन’ उनी भन्छन्, ‘नीति निर्माणको तहमा पुग्ने हरेक कर्मचारीले देशका भुगोल र नागरिकको जनजीवनलाई बुझ्नैपर्छ ।’ नागरिकको सेवा गर्न दुर्गमको भौगोलिकदेखि डराउँदैनन् । यही कारण उनले देशका विभिन्न जिल्लामा रहेर सेवा गर्ने असर पाएका छन् ।

तपाईको प्रतिक्रिया