जसले जागिरमा होइन, व्यवसायमा भविष्य देखे

मानिस स्वतन्त्र रुपमा जन्मिन्छ । अर्थात जब मानिस जन्मन्छ, तब उसले परिवार, समाज र देशका लागि पनि जिम्मेवारी बहनु गर्नुपर्ने हुन्छ । पढाइ पूरा गर्र्दै उमेर बढ्दै जाँदा जीवन निर्वाहका लागि पनि पेशा र व्यवसाय गर्नु पर्दछ । कतिपयका लागि पढेर जागिर नै खानुपर्छ भन्ने हुन्छ । तर पढेका सबैले जागिर नै खान्छन् भन्ने छैन । कतिपय यस्ता उदारण पनि छन्, जसले जागिरबाट भन्दा पनि आफ्नै मेहनत र लगावका कारण जीवनमा ठूलो सफलता हात पारेका छन् । यस्तै मध्येका एक हुन् प्रेमबहादुर भण्डारी पनि । परिवार र आफन्तले जागिर खाओस् भन्ने चाहना राखेका थिए । तर उनले व्यवसायमा हात हाले । निरन्तरको मेहनतका कारण आज उनी सफल मेडिकल संचालक बनेका छन् । आजको जम्काभेटमा उनै भण्डारीसँग हाम्रा सहकर्मी टेकराज केसीले भलाकुसारी गरेका छन् । प्रस्तुत छ, कुराकानीको शारांश :

प्रेमबहादुर भण्डारी
संचालक, सुपथ मेडिकल हल, सुर्खेत ।

गाउँमा हुँदा गोठाला जान्थे

बुवा डम्बरबहादुर भण्डारी र आमा भुवनसरा भण्डारीको कोखबाट २०३५ साल चैत २७ गते प्रेम भण्डारीको जन्म दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ बिनायकमा भएको हो । उनको बाल्यकाल सामान्य रुपमा नै वित्यो ।

उनका तीन भाई र दुई वटा दिदीहरु छन् । सामान्य परिवारमा जन्मिएका उनका बुवाले कृषि पेशा गर्थे । कक्षा ५ सम्म उनले गाउँकै सरस्वती प्राविमा पढे । त्यतीबेला साथीहरुसँग खेल्ने, रमाउने गरेका उनी जब ६ कक्षामा गए । अनि विनायककै छुडुङमा पढ्न जानुपथ्र्यो ।

साँझ र बिहान घरमा घाँस दाउरा काट्ने र गोठाला पनि जानुपथ्र्यो । उनी दिउँसोमा भने विद्यालय गएर पढ्थे । कक्षा ६ र ७ सम्म छुडुङमा पढेका उनले १० कक्षासम्म भने देवी माध्यमिक विद्यालयमा पढे । त्यही विद्यालयबाट २०५४ सालमा उनले एसएलसी पनि पास गरे ।

उच्च शिक्षा र सिएमए सँगसँगै पढे

एसएलसी पास भएपछि उनी आइए पढ्न नेपालगञ्ज गए । त्यतीबेला धेरै पढाइलाई महत्व दिइन्थेन । तर उनी र उनको परिवारले भने पढाइलाई महत्व दिए । महेन्द्र बहुमुखी क्याम्पसबाट आइए गरेका प्रेमले उच्च शिक्षा पढ्दै र सिएमए पनि पढ्ने निधो गरे ।

उनले दुबै कक्षाहरु सँगसँगै अगाडि बढाए । धेरै मेहेनत र परिश्रम गरेपछि उनले उच्च शिक्षा र सिएमए सँगसँगै गरे । धेरै मेहेनती र गम्भिर स्वभावका उनले जीवनमा धेरै सफलता प्राप्त गर्ने सोच बनाएका थिए । सोही अनुसार मेहनत पनि गरे ।

चार वर्ष जागिर

उतिबेला पढेका मानिसहरुले जागिर खार्नपर्छ भन्ने सोच थियो । पढ्ने भनेको जागिरको लागि मात्र हो भन्ने सोचाइ गाउँमा थिए । आफन्तहरु ले पनि जागरि नै खानुपर्छ भन्थे । तर उनले जागिरभन्दा व्यवसायमा चासो दिन्थे ।

गाउँघरको दबाबकै कारण उनले सिएमए र उच्च शिक्षा सकेर भेरी अस्पताल नेपालगञ्ज र दाङमा रहेको एउटा अस्पतालमा चार बर्ष जागिर पनि गरे । आफ्नो इच्छा अनुसारको काम गरेमात्र मानिस सफल हुन्छ भनेझै उनी जागिरबाट सन्तुष्ट थिएनन् । अनि उनले जागिर छोडेर गाउँमा फर्किए ।


अनि आफ्नै व्यवसाय सुरु

भनिन्छ, सीप जानेको मानिसले आफ्नै उद्यम गर्नुपर्छ । त्यही कुरालाई अनुशरण गर्दै उनले दाईको सल्लाह अनुसार गाउँमा आफ्नै मेडिकल २०५९ सालमा स्थापना गरे । उनका दाईहरु भने सुर्खेतमा झरेर व्यापारबाट आर्थिक उन्नती भएको उनले देखेका थिए ।

आर्थिक रुपमा बलियो हुनलाई व्यापार नै उपयुक्त ठानेपछि उनले ६० हजार लगानीमा गाउँमै मेडिकल स्थापना गरे । एकातिर गाउँका मानिसहरुले सेवा पनि पाइरहेका थिए । अर्कोतिर उनको व्यवसाय पनि फस्टाउँदै गयो । तर त्यतिबेला माओवादीको द्वन्द्वका कारण उनी त्यहाँबाट विस्तावित हुन पुगे । उनी सुर्खेत झरे ।

आफ्नै व्यवसाय शुरु गरे । व्यवसायिक ढङ्गले अगाडी बढ्ने सानैदेखि लक्ष्य लिएका उनले जागिरभन्दा व्यवसायलाई नै महत्व दिए । आफ्नो काममा मेहेनत र ध्यान दिने उनले ६० हजारबाट शुरु गरेको व्यवसाय अहिले करिब दुई करोडको हाराहारीमा पुगेको छ । उनको नेतृत्वमा अहिले वीरेन्द्रनगरमा सुपथ मेडिकलले सफलता हासिल गरिरहेको छ ।

जीवनमा धेरै संघर्ष

संघर्ष गरेपछि मात्र सफल भइन्छ भन्ने कुराको पुष्टी प्रेमले गरेका छन् । उनी पढाइको लागि जब नेपालगञ्ज गएका थिए । त्यतिबेला घरबाटै खानेकुरा लिएर जान्थे । उतिबेला अहिलेको जस्तो सञ्चारमाध्यमको पहुँच थिएन । घरमा खबर आदानप्रदान गर्न चिठ्ठी पठाउनु पथ्र्यो ।

उनले पढाइलाई पुरागर्ने क्रममा कहिलेकाँही पकेटमा पैसा हुन्थेन । त्यतीबेला भोकै पनि बस्नुपथ्र्यो । खानेकुरा पठाउन वा पैसा पठाउन घरमा खबर पुर्याउन हप्ता निदनभन्दा धेरै लाग्थ्यो । त्यती धेरै दुख हुँदा पनि उनले मेहेनत भने गर्न छोडेनन् । उनले पढाइ पुरा गरे । बिवाह पनि भयो । एकातिर घरको जिम्मेवारी पुरा गर्नुपर्ने अवस्था थियो भने अर्कोतर्फ आफ्नो व्यवसाय पुरा गर्नुपर्ने अवस्था थियो ।

घरको आर्थिक अवस्था पनि सामान्य नै थियो । केही बर्ष जागिर गरेका उनले त्यहाँबाट पनि सम्भावना नदेखेपछि गाउँमा मेडिकल खोले । त्यतीबेला मेडिकल स्थापना गर्नु भनेको फलामको चिउरा चपाएजस्तो थियो । माओवादी द्वन्द्वकालको अवस्थामा औषधी किन्न जाँदा माओवादीको स्वीकृत चाहिने हुन्थ्यो भने औषधी किनेर ल्याउँदा सेनालाई देखाउँदै जानुपथ्र्यो ।

माओवादी द्वन्द्वकै कारण उनी विस्तावित भएरसुर्खेत आए । सुर्खेत आएर पनि उनले आफ्नो संघर्षलाई छोडेनन् । उनले आफ्नै अहिले सुपथ मेडिकल हल चलाएका छन् । सामान्य परिवारमा जन्मिएका उनले लामो संघर्षपछि सफलता प्राप्त गरे । अहिले उनी सन्तु्ष्ट छन् । उनी अहिले पनि धेरै मेहेनत र संघर्ष गर्छन् । बिहान ५ बजे उठेर ७ बजेसम्म शाररिक कसरतदेखि सरसफाइमा विताउने उनी ७ बजेदेखि भने आफ्नै व्यवसायमा १२ घण्टा विताउँछन् ।

आगामी योजना

उनको भावी योजना भनेको समाजसेवा गर्ने नै हो । अहिले पनि उनी पाँच वटा विभिन्न सामाजिक संस्थामा आवद्ध छन् । उनले समाजमा रहेका विभिन्न समस्या समाधानको लागि पैरवी गर्ने योजना बनाएका छन् । त्यसका साथै उनले अब मेडिकललाई अस्पतालको रुपमा विस्तार गरेर बिरामीको सेवा गर्ने योजना बनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार