पहिले स्कुलेसाथी अहिले जीवनसाथी

स्कुल बाल्यकालको पहिलो रंगशाला हो । जहाँ जीवनको खेल सुरु हुन्छ । अक्षरसँगै मान्छे चिन्ने मौका पनि मिल्छ । टाढा भए पनि स्कुलमा पढ्दा नै धैरेको चिनजान हुन्छ । एउटै गाउँका भए स्कुलमा जाँदा सम्बन्ध झन् बलियो हुन्छ । स्कुलमा धेरै समय वित्ने र उमेर पनि बढ्दै जान्छ । अनि पढ्दा पढ्दै एकअर्कासँग माया बस्छ । त्यही माया विस्तारै विहेमा रुपान्तरण हुन्छ । यस्तै भयो सुर्खेतका डोरप्रसाद शर्मा नानकला शर्माको जीवनमा पनि । छानो छँदा मिल्ने साथी थिए । स्कुलमा आउजाउ सँगै गर्थे । अनि उमेर बढ्दै गएपछि उनीहरु जीवनसाथी बने । प्रस्तुत छ, यो जोडिसँग गरिएको कुराकानीको सम्पादित अंश  :

सानैदेखिका साथी

डोरप्रसाद र नानकला शर्माको चिनजान सानैदेखि थियो । उनीहरु सँगै विद्यालय जाने र आउने गर्दथे । उनीहरु एकअर्कामा साथी भएकै कारण सानैदेखि सँगै खेल्ने र सँगै पढ्ने गर्थे । पढ्दै गर्दा उनीहरुबिचमा छलफल पनि हुन्थ्यो ।

जब उनीहरुको उमेर बढ्दै गयो, अनि उनीहरु एकअर्काको सबै कुरामा चासो राख्न थाले । सँगै पढ्ने साथीको रुपमा एकअर्कामा चासो राख्नु स्वभाविक पनि हो । सानैदेखिको चिनजानले उनीहरुबिचको सम्बन्धलाई राम्रो बनाइ रहेको थियो । विस्तारै दुबैले एकअर्कालाई मन पराउँथे । तर भन्न सकेका थिएनन् ।

भागेर विहे

२०५४ सालको कुरा हो । उनीहरुबिचमा आपसी कुरा हुनेक्रममा नानकलाले डोरप्रसादलाई भनिन, म तपाइँलाई मन पराउँछु, तपाइँ मलाई मन पराउनुहुन्छ ? डोरप्रसादले जवाफ नदिदैँ उनले भनिन्, नाई नभन्नुहोला । डोरप्रसादले पनि मन पराएका थिए । आफुले पनि मन पराएको डोरप्रसादले भनेपछि साथीको रुपमा रहेका उनीहरु प्रेमी र प्रेमिका बन्न पुगे ।

उनीहरुले विद्यालयमा हुँदा पनि एकअर्कालाई अझै नजिकबाट हेर्न थाले । प्रेमीप्रेमिकाबाटै दुबै जनामा आपसी सल्लाह गरेर काम गर्न थाले । एकजना विद्यालय नआएको बेला उनीहरु विद्यालय छुट्टीमा पनि भेट्न जान्थे । उनीहरुबिचमा गहिरो माया बस्यो । उनीहरुले अब बिवाह बन्धनमै बाधिएर सँगै बस्ने निधो गरे । अनि २०५८ सालमा भागी बिवाह गरे ।

बिवाह गर्दा उनीहरु दुबै जना १७ बर्षका थिए । उनीहरुले बिवाह गर्दा घरपरिवारलाई भनेका थिएनन् । अनि नानकलाको माइतीतर्फ रिसाएका थिए । केही समय त्यो विवाहलाई उनीहरुले स्वीकार नगरेपछि सबैले सम्झाएपछि विस्तारै सम्बन्ध स्थापित भयो ।

बिवाहपछिको संघर्ष

सानोमा त्यती संघर्ष नगरेका उनीहरुले बिवाहपछि भने धेरै संघर्ष गर्नुपर्यो । डोरप्रसादले पढाइलाई धेरै महत्व दिन्थे । तर नानकलाले भने बिवाहपछि आफ्नो पढाइलाई रोक्नु परेको थियो । १७ बर्षकै उमेरमा बिवाह गरेका उनीहरुको काँधमा घरको जिम्मेवारी पनि थियो ।

आफ्नो करियर बनाउनुपर्ने एकातिर थियो भने अर्कोतर्फ घरको सबै काम गर्नुपर्ने थियो । गाउँमा जन्मिएका उनीहरुले घाँस दाउँरा काट्नु पथ्र्यौ । घरको आर्थिक जोहोसमेत गर्नुपर्ने अवस्था अर्कोतिर थियो । उनीहरुका छोराछोरी पनि जन्मिए । उनीहरुलाई हुर्काउनुपर्ने लगायतका काममा धेरै संघर्ष गर्नुपर्यो ।


डोरप्रसाद राजनीतिमा पनि आवद्ध भएर समाज सेवामा हिँडेका हुनाले उनले सामाजिक कामसँगै आफ्नो घरको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था थियो । नानकला पनि घरको सबै काम गरेर छोराछोरी स्याहार गर्नुपथ्र्यो । २०७२ मा डोरप्रसादका बुवा स्वर्गीय भएपछि उनीहरुले अझै संघर्ष गर्नुपर्यो ।

लामो संघर्षपछि उनीहरु अहिले भने सन्तुष्ट छन् । डोरप्रसाद राजनितिक रुपमा परिचित छन् । उनले व्यवसायिक काम गर्छन् भने नानकलाले भने घरको सबै जिम्मेवारी सम्हालेकी छन् । उनीहरुले आफ्ना छोराछोरीलाई राम्रो विद्यालयमा पढाएका छन् । उनिहरु भन्छन, लामो संघर्षपछि सफलतातिर गइँदो रहेछ ।

कस्तो थियो बाल्यकाल ?

बुवा नन्दाराम जैसी र आमा लिला जैसीको कोखबाट विस २०४२ साल जेठ २९ गते सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नम्बर ३ ठाँटिमा डोरप्रसादको जन्म भएको हो । सात भाइबहिनी रहेका उनी घरको कान्छो छोरा हुन् । उनको बाल्यकाल अत्यन्तै सुखद थियो । परिवारको प्यारो भएकै कारण होला स्वभाव चन्चले र हक्कि थियो ।

अहिले पनि उनी अन्यायकोविरुद्ध डटेर लड्ने गर्दछन् । सानोमा घर नजिकै स्कुल मालिका माविमा अध्ययन गरेका उनले साथीहरुसँग खेल्ने र रमाइलो गर्ने गरेर बाल्यकाल विताए । उनले एसएलसी पास गाउँकै माविबाट गरे । त्यसपछि कर्णाली प्राविधिक शिक्षालय जुम्लामा दुई बर्ष सिएमए पढे । उनलाई जागिर खानुपर्ने घरमा भन्थे । तर उनले समाज सेवाको बाटो रोजे ।

यता बुवा अजुक्ते जैसी र आमा रामसरा शर्माको कोखबाट २०४२ कात्तिक २९ गते सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नम्बर ३ मा जन्मिएकी नानकला शर्माको पनि बाल्यकाल सामान्य र सुखमै वित्यो । घरको कान्छी छोरी उनका चार भाइबहिनी थिए । उनी सरल र सालिन स्वभावकी छन् । सानोमा गाउँकै विद्यालयमा पढेकी उनले १० कक्षासम्म मात्र पढेकी छन् । बैबाहिक जीवनमा बाधिएपछि उनको पढाइमा बे्रक लागेको हो ।

सल्लाह र सहकार्य

यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । र काम बाँडफाड गरेर अगाडी बढाउने गर्दछन् । उनीहरुको योजना जहिले पनि समझदारीमा हुने गर्दछन् । सानो सानो कुराहरु पनि सरसल्लाह गरेर काम गर्छन् ।

दुवैजना हरेक काम गर्दा एक अर्काको सहकार्य र सहयोगविना कुनै काम गर्दैनन् । डोरप्रसादले कहिलेकाँही रमाइलो ठाउँहरुमा घुमाउन पनि लैजान्छन् । घरको खाना बनाउने कुरामा पनि उनले साथ दिन्छन् ।

धेरैजसो सामाजिक काममा व्यस्त हुने भएकाले पनि डोरप्रसादले फुर्सद मिलाएर आपसी सल्लाहमा काम गर्न मन पराउँछन् । नानकलाको जस्तोसुकै परिस्थितिमा पनि हँसिलो मुहार लगाउने बानी डोरप्रसादलाई मनपर्छ । हक्की र निडर स्वभाव भएका डोरप्रसादको बानी नानकलालाई मनपर्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार