डाक्टर बन्ने लक्ष्य थियो तर कृषि प्राविधिक बने

मानिसले जीवनमा सफल हुन धेरै संघर्ष गर्नुपर्ने हुन्छ । लामो संघर्षबाट नै मानिसले आफ्नो जीवनलाई सहज बनाउन सक्छन् । जीवनलाई सहज बनाउन मानिसले सही बाटो पहिल्याएर लक्ष्य लिएर मेहेनत गर्छन् । त्यस्तै संघर्ष गरेका व्यक्ती हुन् विमलप्रसाद कोइराला । उनले आफ्नो जीवनमा धेरै संघर्ष गरेका छन् । वीरेन्द्रनगर १२ निवासी उनै कोइरालासँग आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

 

विमलप्रसाद कोइराला
कृषि प्राविधिक, कृषि क्षेत्र विकास कार्यक्रम

बाल्यकालमा चन्चले

बुवा पुण्यप्रसाद कोइराला र आमा मनकुमारी कोइरालाको कोखबाट विस २०४४ साल माघ ६ गते दैलेखको नारायण नगरपालिकामा विमल कोइरालाको जन्मभयो । उनी घरको माइलो छोरा हुन् । उनका पाँच भाईवहिनी थिए ।

उनको बाल्यकाल मध्यम खालको थियो । त्यसरी नै वित्यो । उनको बुवा मालपोत कार्यालयमा काम गर्थे । धेरै भाईवहिनी भएका कारण बुवाको जागिरले घर खर्च टार्न मात्रै पुग्थ्यो । उनीहरुको जग्गा जमिन पनि कम थियो । उनले सानैमा विद्यालय जाने साथीहरुसँग खेल्ने र बचेको समय घरको काममा सघाउँथे ।

उनी सानैदेखि विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा पनि भाग लिन्थे । उनी सधै प्रथम हुन्थे । चन्चले स्वभावका उनलाई सबैले माया भने गर्थे । उनले कक्षा पाँचसम्म बाल भैरव प्राविमा पढेका हुन् । उनले कक्षा ६ देखि भने त्रिभुवन उच्च माध्यमिक विद्यालय दैलेखमा पढे ।

जब एसएलसीमा फेल भए…

२०५९ सालमा उनले एसएलसी दिए । तर उनी फेल भए । उनले नपढ्ने भन्दै भारत गएर काम गर्ने भनेर घरबाट हिँडे । उनी नेपालगञ्ज पुगे । त्यहाँ केही आफन्तहरुले भारत जानुभन्दा काठमाडौं जान सुझाए । उनका आफन्त काठमाडौंमा पनि थिए ।

उनी त्यहीबाट काठमाडौंतिर हानिए । उनी काठमाडौं गएर एउटा होटेलमा काम गर्न थाले । होटेलमा काम गरेका उनलाई होटल म्यानेजर बन्न अफर आयो । अनि उनी होटेलको म्यानेजरमा जाने भनेर सबै तयारी भयो । उनले होटेलको सबै काम जानेका पनि थिए । तर उनको एसएलसी पास नभएकै कारण त्यो पदमा योग्य भएनन् । र उनलाई पढाइको महत्व बल्ल थाहा पाए ।

अनि प्राविधिक शिक्षामा जोडिए

उनी काठमाडौंको काम छोडेर फेरी गाउँमा आए । अनि पढाइमा निरन्तरता दिन थाले । उनले चार बर्षपछि फेरी एसएलसी दिए । उनी २०६३ सालमा त्रिभुवन माविबाट एसएलसी पास भए । उनका सबैतिरका ढोका खुल्ला भयो । उनी प्लस टुमा भर्ना भए ।


भने उता कृषि जेटिए पढ्नका लागि कर्णाली प्राविधिक शिक्षालयमा पनि भर्ना गरे । दुबै तिरको पढाइलाई सँगसँगै लगेका उनले यता एभरेष्ट क्लव दैलेखमा पनि काम पाए । उनले प्राविधिक शिक्षा र प्लस टु सँगै गरे । अहिले उनि मध्यपश्चिम विश्वविद्यालयमा उच्च शिक्षा पढीरहेका छन् ।

अधुरै रहेको डाक्टर बन्ने लक्ष्य

उनी सानोमा डाक्टर बन्ने लक्ष्य लिएर पढि रहेका थिए । घरको आर्थिक अवस्था र बाटो देखाउने मान्छे नहुँदा उनले त्यो लक्ष्य प्राप्त गर्न सकेनन् । उनी विभिन्न बाल क्लवमा नेतृत्व गर्नेदेखि विभिन्न सामाजिक क्षेत्रमा समेत लागेका थिए । उनलाई गाउँमा मेहनती भएकाले सबैले राम्रो मानिस बन्ने बताउँथे ।

सानैबाट सामाजिक क्षेत्रमा रुची राख्ने उनले डाक्टर बन्ने लक्षय पुरा नभएपछि उनी त्यही सामाजिक क्षेत्रकै बाटो समाएर अगाडी बढे । उनी विभिन्न संघसंस्था हुँदै अहिले नेपाल सरकारको कृषि क्षेत्र विकास कार्यक्रममा कार्यरत छन् ।

जीवनमा संघर्ष

सानैदेखि मेहनती र संघर्षशिल उनले सफलता प्राप्त गर्न जीवनमा धेरै संघर्ष गर्नुपर्यो । उनले ब्रेक गरिएको पढाइलाई निरन्तरता दिएपश्चात विभिन्न सामाजिक क्षेत्र र घरको जिम्मेवारी पुरा गर्नुपर्ने थियो । उनले २०६७ सालमा बिवाह गरेपछि अझै धेरै संघर्ष गर्नुपर्यो ।

बिवाह पश्चात उनी बसाईसराई गरेर सुर्खेत झरे । उनका छोराछोरी जन्मिए । एकातिर छोराछोरीको स्याहार गर्नुपर्ने, अर्कोतिर घर चलाउनुपर्ने अवस्था थियो भने पढाइलाई र जागिरलाई पनि सँगैसँगै लैजानुपर्ने अवस्था थियो । उनको श्रीमती पनि यी सबै कुरामा उनलाई धेरै साथ दिन्थिन् । उनी संघर्षबाट कहिले पनि पछाडी हटेनन् ।

आफ्नो करियर बनाउनुपर्छ भन्ने लक्ष्यका साथ अगाडी बढ्ने क्रममा उनले धेरै बाधा अड्चन भोग्नुपर्यो । उनको लामो संघर्षपछि उनले आफ्नो लक्ष्यलाई सफलतामा लिन सके । उनको श्रीमती पनि इन्सुरेन्समा काम गर्छिन् ।

उनीहरुले अहिले आफ्ना छोराछोरीलाई राम्रो विद्यालयमा पढाएका छन् । उनी भन्छन्, मैले यती लामो संघर्ष र परिवारको साथ नपाएको भए सकभर सफल हुन सक्थिन होला । उनले जीवनलाई सहज र सफल बनाउन संघर्ष गर्नुपर्ने बताउछन् ।

आगामी योजना

लामो संघर्षपछि सफलता प्राप्त गरेका उनले अझै धेरै काम गर्नुपर्ने योजना बनाएका छन् । उनको पहिलो योजना भनेको उच्च शिक्षा हासिल गर्ने रहेको छ । भने उनको दोश्रो योजना भनेको आफुले सानैमा बोकेको डाक्टर बन्ने लक्ष्य पुरा नभए पनि आफ्ना छोराछोरीलाई डाक्टर बनाउने योजना बनाएका छन् ।

साथै उनी सामाजिक क्षेत्रमा कार्यरत भएको हुँदा विषेशगरी कृषि क्षेत्रमा आधुनिकरणबाट धेरै युवाहरुलाई स्वरोजगार बनाउनेगरी अभियान चलाउने योजनामा छन् । त्यही अन्तरगत उनले अहिले आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार