नेपालमा भारत र चीनको खेल

सुनिल गौतम । नेपालसँग नजिकिन भारत र चीनबीच रणनीतिक प्रतिस्पर्धा देखिन्छ । दुवै देशले नेपालमा लगानी र प्रभाव विस्तार गर्ने होड गरेका छन् । चीनले नेपालमा ‘बेल्ट एन्ड रोड इनिसिएटिव’ मार्फत लगानी गरेको छ ।

बेइजिङले नेपाललाई ‘चीनप्रति लक्षित’ अन्तर्राष्ट्रिय शक्तिविरुद्ध सुरक्षा कवचको रुपमा प्रयोग गर्न खोजेको देखिन्छ भने नयाँ दिल्लीको लागि यस क्षेत्रको सुरक्षा तथा प्रभाव बनाईराख्न नेपालको स्थान महत्वपूर्ण छ । दुवै देश नेपालमा आफू अनुकूलको नेतृत्व स्थापित गर्न प्रयासरत देखिन्छन् । यसैले जब नेपालमा राजनीतिक अस्थिरता सुरु हुन्छ अनि नेपालको आन्तरिक राजनीतिमा चीन र भारतको सक्रियता बढेको हुन्छ ।

एक्काइसौं शताब्दीको दोस्रो दशकामा विश्व राजनीतिमा देखिएको ‘कट्टर राष्ट्रवाद’को लहरको प्रभाव नेपालमा पनि देखियो । तीन वर्ष पहिले केपी ओलीको नेतृत्वमा नेकपाले भारत विरोधी राष्ट्रवादको भावना उकासेर चुनाव जित्यो । त्यसलाई बेइजिङको रणनीतिक जित र भारतको हारको रूपमा विश्लेषण गरियो । त्यसपछि नेपालमा भारत विरोधी शक्तिहरुको सक्रियता बढेको छ ।

पाकिस्तानका तत्कालीन प्रधानमन्त्री शाहिद खाकानले नेपालको भ्रमण गरे । उनी नेकपाको कार्यकालमा जाने पहिला विदेशी सरकार प्रमुख थिए । यसले भारतलाई अझ झस्कायो । त्यसपछि सेप्टेम्बर २०१९ मा चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का नेता र अन्तर्राष्ट्रिय सम्पर्क विभागका प्रमुख “सीसीपी र नेकपाको विचारमा आधारित वैचारिक छलफल“ मा भाग लिन नेपालको भ्रमण गरे । नतिजा स्वरूप, दुवै पक्षले अनुभव आदानप्रदान गर्न संयुक्त कार्यक्रम बनाउन सहमति गरे ।

चीनले राजतन्त्र समाप्त भएपछि नेपालमा विश्वसनीय राजनीतिक शक्ति खोजी रहेको थियो । यसको लागि नेकपा उपयुक्त ठहरियो । दुई पार्टीबीच बढ्दो निकटताले भारतीय संस्थापनलाई चिन्तित तुल्यायो । नेपालमा चिनियाँ प्रभाव बढ्दै थियो । सन् २०१९मा सी जिनपिङले नेपाल भ्रमण गरे । भ्रमणका क्रममा २० वटा सम्झौतामा हस्ताक्षर भएको थियो । उनले नेपालमा “जो कोही चीनलाई विभाजित गर्न खोज्छ उसलाई धुलोपीठो पारिनेछ“ भनेर चेतावनी दिएका थिए ।

नेपाल भूमिबाट यस्तो धम्कीपूर्ण चेतावनी दिनुको तात्पर्य नेपालको समर्थन भारतलाईभन्दा बढी चीनलाई भएको देखाउने हुनसक्छ । नेपालले चीनसँग सुपुर्दगी सन्धि गरेको छैन । चीनको धारणा नेपालले सुपुर्दगी सन्धिमा हस्ताक्षर गरे नेपालबाट हुने चीन विरोधी गतिविधिलाई नियन्त्रण गर्न सजिलो हुने देखिन्छ । नेपालमा दस हजारभन्दा अधिक तिब्बती शरणार्थी रहेको अनुमान छ । उनीहरुलार्ई तिब्बत फर्काएर नियन्त्रणमा राख्ने चाहना चीनको देखिन्छ ।

तर, पश्चिमी देशहरुले नेपाललाई चीनसँग सुपुर्दगी सन्धिमा हस्ताक्षर नगर्न दबाब दिइरहेका छन् । उता चीन नेपालमा अमेरिकी सहायता परियोजना एमसीसी लागू नहोस् भन्ने चाहन्छ । एमसीसी अमेरिकाको इन्डोप्यासिफिक रणनीति अन्तर्गतको आयोजना भएकोे यसको मुख्य उद्देश्य नेपालमार्फत चीनमा दबाब उत्पन्न गर्ने हो भन्ने चीनले ठानेको हुनुपर्छ । चीनले नेकपासँग नजिकिने क्रममा अरु राजनीतिक पार्टीहरुसँग चीनले दूरी बढाएको देखिन्छ ।

चीनको सरकारी पत्रिका ‘ग्लोबल टाइम्स’ले लेखेको थियो, नेपाली कांग्रेसका नेताले भारत र अन्य विदेशी सेनाको लहैलहैमा हुम्ला जिल्लामा चीनले नेपाली भूमिमा अतिक्रमण गरेको आरोप लगाएका छन् । यस्तो आरोपबाट नेपाली कांग्रेसका नेताहरू चीनसँग क्षुब्ध भएका थिए । ओलीले भने भारतविरुद्ध धेरै विषयमा अपरिपक्व कुरा भनेर भारतलाई उक्साउने काम गरे ।


सत्तारुढ भारतीय जनता पार्टीको राजनीतिक आधारभूमि मानिएको रामको जन्म भारतको अयोध्यामा नभएर नेपालको ठोरीस्थित अयोध्यामा भएको प्रचारवाजीमा ओली आफैँ उत्रे । उनले सार्वजनिक रुपमै भारतको राष्ट्रिय प्रतीक ‘सिंह’ को उपहास गरे । कोभिडको एउटा प्रकारलाई ‘भारतीय भाइरस’ भन्दै त्यो चिनियाँभन्दा बढी घातक भएको दाबी गरे । प्रधानमंत्रीको पदमा रहेको व्यक्तिले बिनाप्रमाण यस्तो बोल्नुहुँदैन थियो ।

केपी ओलीले यी सबै चीनको इसारामा बोलेको अनुमान भारतले गरेको देखियो । आजसम्म नेपालका प्रधानमन्त्रीस्तरको कसैले यसरी अकूटनीतिक शैलीमा भारतलाई ठाढोे गाली गरेका थिएनन् । केपी ओलीको पतन हुनुमा ओली स्वयंका क्रियाकलापका साथै भारतको असन्तुष्टि पनि कारक हुनसक्ने देखिन्छ । नेपालमा नेकपाको एकता गराउन र सरकार बनाउन पनि चीनले भूमिका महत्त्वपूर्ण थियो । नेकपाको सरकार गठनपछि चीनको प्रभाव र हस्तक्षेप पनि नेपालमा बढेको थियो ।

चीनको हस्तक्षेप र प्रभाव बढ्नु भारतका लागि खतराको सन्देश थियो । चीनको सरकारी सञ्चार माध्यमले,“नयाँ दिल्लीले चीनमा आक्रमण गर्न सोच बनायो भने नेपाल र पाकिस्तानले पनि चीनका साथमा भारतविरुद्द युद्ध गर्न सक्नेछन“ सम्म लेखेको थियो । नेपालका अधिकारीहरुले यसको प्रतिवाद गरेनन् । यसले भारतलाई झन सशंकित बनायो । भारतले यस्ता क्रियाकलाप आफ्नो रणनीतिक कमजोरीबाट उत्पन्न भएको बुझेको देखिन्छ ।

यसको प्रतिवादमा नयाँ दिल्लीले भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवने, विदेश सचिव हर्षवर्धन श्रृंगला र अनुसन्धान तथा विश्लेषण शाखा (रअ) का प्रमुख सामन्तकुमार गोयललगायतका उच्च अधिकारीहरूलाई नेपाल पठायो । नेपालमा रणनीतिक हस्तक्षेपका लागि चीनभन्दा भारतलाइ धेरै सहज थियो । पहिलो चीनी कूटनीतिज्ञहरुसँग भाषाको समस्या छ, दोस्रो, नेपालका सबैजसो नेताहरुको दीक्षा भारतबाटै भएको हो ।

राजनीतिक स्वार्थका लागि भारतको जति विरोध गरे पनि आन्तरिक रुपमा सबै नेताहरुको झुकाव भारतप्रति नै देखिन्छ । भारतको कूटनीतिक दबाब बढ्न थालेपछि ओलीले सत्ता बचाउन गाह्रो देखेर भारतसँग नजिकिन पुगे । उनी भाजपाका नेताजस्तै धार्मिक कट्टरपन्थमा गए । उनले काठमाडौंको पशुपतिनाथ मन्दिरमा सुनको जलाहारी राख्ने निर्णय गरे । भारत सरकारको निकट मानिने भारतीय टेलिभिजन जी न्यूजलाई दिएको अन्तर्वार्तामा हिन्दू संस्कृतिका प्रसंगहरुको बढाइचढाइ व्याख्या गरेका थिए ।

यो २१ आंै शताब्दीको राजनीति भने विदेशीको सहयोगले मात्र चल्दैन । सत्ता चलाउन पार्टीमा राम्रो व्यवस्थापन गर्नुपर्छ, शक्ति सन्तुलन हुनुपर्छ, जनमुखी काम गर्नुपर्छ । तर, ओली कहिले भारते कार्ड त कहिले चीन कार्ड खेलेर सत्ता टिकाउने प्रयास गर्दा असफल भए । ओलीले देशमा भारत र चीनबीच रणनीतिक ध्रुवीकरणको बीजारोपण गरे । भारत नेपालमा कट्टरपन्थी शक्तिहरुको समर्थनमा देखिन्छ तथा चीन कम्युनिस्टहरुको निकट मानिन्छ । तर यो ध्रुवीकरणले देशलाई अस्थिरतातर्फ धकेल्छ ।

भारतले नेपालको राजनीतिक परिवर्तनमा सहयोग गरे पनि स्थिरताका लागि भने सकारात्मक सहयोग गरेको देखिँदैन । भारतले नेपालमा राजनीतिक अस्थिरता कायम राखेर आफ्नो प्रभाव बनाइराख्न खोजेको देखिन्छ । दुवै छिमेकीले नेपालमा लोकतन्त्रको संस्थागत विकासभन्दा दलगत गुटबाजीमा मद्दत गरेको देखिन्छ । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देशको रूपमा भारतले लोकतंत्रका भावना र सिद्धान्तहरूलाई मात्र समर्थन गरेको भए स्थिर राजनीतिक संस्कृतिको विकास गर्न योगदान पुग्थ्यो । स्थिर र प्रजातान्त्रिक नेपाल नै चीन र भारतको पनि अनुकूल हुन्छ । (बाह्रखरीबाट)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार