विश्वविद्यालयको साख गुम्न नदिऔं

कर्णालीको एकमात्र विश्वविद्यालय मध्यपश्चिम विश्वविद्यालय सामान्य अवस्थामा स्थापना भएको होइन । यसको स्थापनाका लागि यस क्षेत्रका नागरिकले धेरै दुख गरे । लामो त्याग र संघर्षको प्रतिफल सुर्खेतमा यो विश्वविद्यालय स्थापना गर्न तत्कालिन सरकार तयार भएको थियो ।

कर्णालीमा विश्वविद्यालय स्थापना गर्न सम्भव छैन भन्ने सिंहदरबारको सोचलाई यहाँका नागरिकले आफ्नो छाक काटेर भए पनि आर्थिक स्रोत जुटाए । स्थानीयको एकएक रुपैयाँ र पसिनाको उपलब्धि हो यो विश्वविद्यालय । यसकारण यो विश्वविद्यालयलाई अन्य विश्वविद्यालय जस्तो सामान्य लिनु हुँदैन । संघर्षको उपलब्धि भएकाले पनि यो विश्वविद्यालयको आफ्नै इतिहास छ ।

तर पनि स्थापनाकाल यता हालसम्मका गतिविधि हेर्दा विश्वविद्यालयमा राम्रा संकेत भने देखिएका छैनन् । नेतृत्व गरिरहेका पदाधिकारी, शिक्षा दिने प्राध्यापकका संगठन र पढ्ने विद्यार्थीका आफ्नै स्वार्थ हावी भएका छन् । जसले स्थापनाकालदेखि नै आन्दोलन, तालाबन्दी, हड्ताल र विरोध यो विश्वविद्यालयको पहिचान र पर्याबाची जस्तै पुगेका छन् । यो यस क्षेत्रको शैक्षिक गुणस्तरका लागि राम्रो पक्ष होइन ।

पछिल्लो समय विश्वविद्यालय पुनः एकपटक विवादमा फसेको छ । विद्यार्थी संगठनहरुले विभिन्न माग राखेर आन्दोलन जारी राखेका छन् । समयमै त्यसको सुनसवाइ नहुँदा विद्यार्थीले विश्वविद्यालयका सबै कार्यालयमा तालावन्दी गरेका छन् । यही कारण कतिपय परिक्षा नै स्थगित भएका छन् ।

एक हिसावले भन्दा विश्वविद्यालयमा अब तोकिएका परिक्षाहरु सुचारु हुने वा नहुने अन्यौल देखिएको छ । यद्यपी विश्वविद्यालय प्रशासनले भने परिक्षा नरोकिने बताएको छ । हालै जागिरबाट बर्खास्त प्राध्यापकको पक्षमा पनि आवाज उठ्न थालेका छन् । विश्वविद्यालयमा असन्तुष्टि तीव्र छ । तर तिनको सुनुवाइ गर्ने सवालमा विश्वविद्यालय प्रशासनले हल्का रुपमा लिएको देखिन्छ । यद्यपी विश्वविद्यालयले हाल देखिएका समस्या समाधानका लागि भन्दै उच्च स्तरीय समिति गठन गरेको छ । उक्त समितिले पनि काम गर्न सकेको देखिदैन ।

बरु यो समितिप्रति आन्दोलनरत विद्यार्थीहरुले असन्तुष्टि कायमै राखेका छन् । विश्वविद्यालय प्रशासनले जायज मागहरुको सुनुवाइ गर्नै पर्दछ । विद्यार्थी र प्राध्यापकहरुले उठाएका मागहरु सबै गलत पनि छैनन् । तर आन्दोलन वा असन्तुष्टिहरुलाई दबाउन खोज्दा त्यसले समस्या समाधान भन्दा पनि बढाउँछ । जायज मागहरु सम्बोधन गर्दा विश्वविद्यालयको गति पनि अगाडि बढ्न सक्छ ।

यसकारण नेतृत्वले आफ्नो दभ्म र अहंकार त्यागेर समस्याको निकास खोज्नु पर्दछ । समस्यालाई सामान्य रुपमा लिए अवस्था अरु बिग्रन सक्छ । त्यस्तै माग राख्ने नाममा गलत माग अगाडि सारेर विश्वविद्यालयलाई बन्धक बनाउने काम पनि गर्नु हुँदैन । आन्दोलनमा नाममा भइरहेका कतिपय गतिविधि र शैलीहरु अराजक खालका छन् ।

पदाधिकारीहरुलाई दुव्यर्वहार गर्ने, विश्वविद्यालयको भौतिक सम्पतिमा नोक्सान गर्ने र परिक्षा नै संचालन हुन नदिने खालका काम रोक्नु पर्दछ । कर्णालीका नागरिकले सहज रुपमा शिक्षा पाउने एकमात्र विश्वविद्यालयको साख गुम्ने खालका गतिविधि तत्काल रोक्न आवश्यक छ । यसतर्फ सबै पक्ष संयम र जिम्मेवार बनौं ।

तपाईको प्रतिक्रिया