भौतिक विकासको गति अझै बढाऊ

कर्णाली भन्ने वित्तिकै भौगोलिक विकटता, भौतिक विकासमा कमजोर र आर्थिक रुपमा पिछडिएको क्षेत्र भन्ने गरिन्छ । हुन पनि आजसम्मको अवस्था हेर्दा कर्णालीले भौतिक विकासमा फड्को मार्न सकेको छैन ।

भर्खरै विकासको लयमा अगाडि बढ्दै गरेको छ । मानिसहरुमा सामाजिक चेतना बढ्दै छ । राज्यको स्रोत र साधन दुर्गममा बल्ल पुग्न थालेको छ । स्थानीय र प्रदेश सरकारले विकास र समृद्धिको आश तल्लो तहसम्म लैजान थालेका छन् । यद्यपी कर्णालीबासीका चाहना र अपेक्षाहरु धेरै छन् । तर पनि सरकार र राजनीतिक नेतृत्वले अझै गर्नुपर्ने धेरै छ ।

अहिलेकै अवस्थामा चित्ति बुझाउनुपर्ने र सुस्ताउनुपर्ने अवस्था छैन । यसकारण पनि भएका कमजोरीहरुलाई सुधार गर्दै, रचनात्मक आलोचनाबाट पाठ सिक्दै नयाँ योजना र उत्साहका साथ विकासको यात्रामा अगाडि बढ्नुपर्ने हुन्छ । कर्णाली प्रदेश सरकारले मंगलबार मात्र वितेको आर्थिक वर्षको समिक्षा गरेको छ । समिक्षाबाट सरकारले भौतिक विकासमा प्रगति भएको निस्कर्ष निकालेको छ ।

गएको आर्थिक वर्षमा प्रदेश सरकारले बजेट खर्चमा भएको सुधार, सडक निर्माण र कालोपत्रे तथा दलित समुदायका लागि घर बनाएको विषयलाई मुख्य उपलब्धि मानेको छ । यस्तै कोरोना महामारी नियन्त्रण र स्वास्थ्य पूर्वाधारमा पनि प्रगति भएको सरकारी दाबी छ । अघिल्ला वर्षहरुको तुलनामा गएको आर्थिक वर्षमा पक्कै केही सुधार भएका छन् ।

तर त्यतिलाई नै पूर्ण उपलब्धि मान्न सकिने अवस्था छैन । किनकी कर्णाली र अन्य प्रदेशको अवस्था एकै प्रकारको छैन । कर्णालीमा भौतिक विकासको गति बढाउन र प्रगति हासिल गर्न धेरै प्रयासहरु गर्नुपर्ने हुन्छ । किनकी यहाँको आर्थिक, भौतिक र सामाजिक अवस्था बलियो छैन । यसका लागि पनि यहाँ धेरै मेहनत र लगानी गर्नुपर्ने छ । तर केही मात्रामा काम हुँदैमा त्यसलाई नै उपलब्धि ठान्ने हो भने यसले आगामी बाटो तय गर्न सक्दैन । आगामी यात्रा तीव्र बनाउन पनि अहिलेको भन्दा गति अरु बढाउनुपर्ने हुन्छ ।

त्यसकारण प्रदेश सरकारले विगतमा भएका कमजोरीहरु सुधार गर्नु पर्दछ । आवश्यक मात्रामा कर्मचारी र कानुनको व्यवस्थापन गर्नु पर्दछ । त्यतिमात्र होइन, बजेट कार्यान्वयनको पाटोलाई थप प्रभावकारी बनाउनु पर्दछ । विकास तर्फको बजेटलाई समयमै अख्तियारी दिएर काम थाल्नेतर्फ सरकारको ध्यान जाओस् । अहिले वर्षभरी लगाएर केही किलोमिटर सडक कालोपत्रे हुँदैमा त्यसलाई नै ठूलो उपलब्धि ठान्ने हो भने कर्णालीमा धेरै किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ ।

धेरै बस्तीहरुलाई सडकमा जोड्नु छ । धेरै भवन निर्माण गर्नुछ । गाउँमा खानेपानी र सिँचाइ सुविधा उपलब्ध गराउन धेरै मेहनत गर्नुपर्ने हुन्छ । यसकारण प्रदेश सरकारले कर्णालीको विकास र समृद्धिका लागि अहिलेको भन्दा विकास निर्माणको गतिलाई अरु बढाउनु पर्दछ । अझ प्रदेश सरकार मातहतका निकायहरु शसक्त र प्रभावकारी रुपमा अग्रसर हुनु पर्दछ ।

तपाईको प्रतिक्रिया