अन्तर्वार्ता

‘रोकिएको बजेट एक साताभित्र ल्याउँछौं’

नियमानुसार असार १० गतेभित्र स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने हुन्छ । र त्यो नीति तथा कार्यक्रम असार २५ गतेभित्र पास गरेर साउन १ गतेबाट त कार्यान्वयन नै गर्नु पर्दछ । तर कर्णालीका केही स्थानीय तहहरुले भने अझै आफ्नो नीति तथा कार्यक्रम र बजेट ल्याउन सकिरहेका छैनन् । सल्यानको वनगाडकुपिण्डे नगरपालिकाले पनि नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । बजेट ल्याउन नसक्नुको कारण के हो ? अघिल्लो आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था कस्तो रह्यो ? जनताका आवश्यकता पुरा गर्न के काम भइरहेको छ ? लगायतका विषयमा सल्यानको वनगाडकुपिण्डे नगरपालिकाका मेयर गोविन्दकुमार पुनसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

 

गोविन्दकुमार पुन
मेयर, वनगाडकुपिण्डे नगरपालिका, सल्यान

हिजोआज के गर्दै हुनुहुन्छ ?

नगरपालिकाको आगामी योजना निर्माण र जनताका अन्य आवश्यकता पुरा गर्ने काममा म व्यस्त छु ।

त्यतिमात्र नभएर राजनीतिक सरगर्मीकै कारण म अहिले त्यता पनि केन्द्रीत छु । किनकी म नेकपा एमालेको सल्यान जिल्ला अध्यक्ष भएको हुँदा पनि पार्टीको काममा पनि केन्द्रीत छु ।

आजसम्म बजेट किन ल्याउन नसक्नुभएको की ?

तपाईँले सही विषय उठाउनुभयो । हो हामीले असार १० गतेसम्म नगरसभामा बजेट पेश गर्नुपथ्र्यो । तर प्रमुख प्रशासकीय अधिकृतका कारण हामीले बजेट ल्याउन सकेका छैनौं । विडम्बना भन्नुपर्छ, उहाँचाँही यस्तो बेलामा पनि पालिकाको काममा नआएर भाग्नु भएको छ ।

हामीले करार कर्मचारीलाई तलव दिनुपर्छभन्दा उहाँले दिन मिल्दैन भन्नुभयो । अघिल्लो आर्थिक बर्षका ठुलाठुला केही काम पनि उहाँले टेन्डर गर्न मान्नु भएन । यसले गर्दा समस्या भयो । अहिले पनि बजेट ल्याउने सन्दर्भमा उहाँ नै नहुँदा समस्या भइरहेको छ ।

हामीले करार कर्मचारीहरु लामो समयसम्म काम गरेका छन् । उनीहरुलाई तलब दिनुपर्छ भन्यौँ । उहाँले भोलि अख्तियारले समात्छ भनेर मान्नु भएन । अनि कर्मचारी र जनप्रतिनिधिबिचमा द्वन्द्व सृजना भयो । प्रमुख प्रशासकीय अधिकृत काठमाडौं गएको आउनुभएको छैन ।

अब बजेट कसरी ल्याउनुहुन्छ त ?

मैले प्रमुख प्रशासकीय अधिकृतलाई यसरी पालिकाको सबै काम अस्तव्यस्त बनाएर बाहिर नबस्नुहोस् । चाँडो हाजिर हुनुहोस् भनेको छु । उहाँ यदी यो साउन १५ भित्र कार्यालयमा हाजिर हुनुभएन भने हामी निमित्त प्रशासकीय अधिकृतमार्फत भए पनि बजेट ल्याउँछाैं ।

यसरी काममा असहयोग गर्न त कसैलाई छुट छैन । अर्को कुरा जनताका समस्या एकातिर छन्, ति समस्या समाधानको लागि हामी निर्वाचित भएर आएको हो नी । त्यसैले जोसुकै मानिसहरु पनि नीति नियमअनुसार आफ्नो जिम्मेवारी पुरा गर्नेगरी लाग्नुपर्छ ।

गत आर्थिक बर्षको बजेट कार्यान्वयन कस्तो भयो ?

मैले अघि भनेजस्तै कर्मचारीकै कारण हाम्रा थुप्रै योजना कार्यान्वयन हुन सकेनन् । भौतिक संरचना निर्माणका लागि ६ करोडभन्दा धेरै बजेट थियो । त्यसको कार्यान्वयनका लागि टेन्डर प्रक्रियामा नै प्रमुख प्रशासकीय अधिकृतले लिनु भएन ।

नगरपालिका भित्रको १५ शैयाको अस्पताल निर्माणको लागि काम अगाडी बढाउनुहोस्भन्दा पनि मान्नु भएन । त्यसपछि मुख्यमन्त्री र प्रधानमन्त्री रोजगार कार्यक्रमका विषयमा काम अगाडी नबढेपछि जनप्रतिनिधि र कर्मचारीबिचमा त्यहाँबाट विवाद शुरु भयो ।

ति काम लगायतका भुमी सम्बन्धीका काम कार्यान्वय पनि हुन सकेनन् । तर पालिकाको सबै बजेट भने कार्यान्वयनमा गएको छ ।

यो बर्षको बजेट कार्यान्वन समयमै सक्ने के छ तयारी ?

नयाँ आर्थिक बर्षको बजेट साउन १५ भित्रै ल्याउँछौ । प्रमुख प्रशासकीय अधिकृत आउनुहुन्छ । यदी आउनु भएन भने पनि हामी बजेट त ल्याउँछौ नै ।

साउनभित्र सबै विषयगतको बैठक नै बसेर कार्यान्यन तीव्र गर्नेगरी हामी अगाडी बढ्छांै । कार्यान्वयनमा सही रुपले अगाडी बढ्छाैं ।

बेरोजगारी समस्या समाधान गर्न कस्ता कार्यक्रम छन् ?

हामीले शुरुका बर्षहरुदेखि नै बेरोजगार समस्या समाधान गर्नुपर्छ भनेर लागेका छौं । गत बर्ष मैले भनिहाले जनप्रतिनिधि र कर्मचारीको विवादका कारण मुख्यमन्त्री तथा प्रधानमन्त्री रोजगार कार्यक्रमहरु अगाडी बढ्न सकेनन् ।

जसले धेरै मानिसहरुले रोजगारी पाउनबाट बञ्चित भए । यो आर्थिक बर्षमा यी कार्यक्रमलाई सहजसँग अगाडी बढाइने छ । तर प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमको रकम नै अहिले हाम्रो पालिकामा आएको छैन । यो गत बर्षकै नतिजा हो । हामीले रोजगार संयोजकलाई बजेट ल्याउनका लागि काठमाडौं पठाउन लागेका छौं ।

यस्तै अब पालिकाबाट विषेशगरी कृषि, पशुपालन र अन्य विकास निर्माणमा युवाहरुलाई सहभागिता बनाई स्वरोजगारमुखी कार्यक्रम संचालन गर्छौ । हाम्रो सोच भनेको युवाहरुलाई उत्पादन र विकाससँग जो्ड्ने हो । रोजगारी, विकास र उत्पादनलाई सँगै अगाडी बढाउँछ ।

तपाइँ निर्वाचित भएको चार वर्षमा के काम गर्नुभयो ?

हामी निर्वाचित हुँदै गर्दा पहिलो बर्ष त सिकाईमा नै वित्यो । त्यसपछि बर्षहरुबाट हामीले विकास निर्माणका काममा ध्यान केन्द्रीत गर्यौ । हामी आउँदा नगरपालिकाका सबै वडामा सडक सञ्जाल पुगेको थिएन ।

ति सबै वडामा सडक सञ्जाल पुर्याएका छाैं । विद्युतिकरणमा पनि हामी अगाडी बढि सकेको अवस्था छ । त्यसैगरी बनगाडकुपिण्डे नगरपालिकामा खानेपानीको चरम समस्या थियो ।

त्यो समस्या समाधानको लागि हामीले वृहत लिफ्टिङ खानेपानी आयोजनामार्फत अधिकांश जनताका घरमा धारा पुर्याएका छौं । अहिले १४ ठाउँमा स्वास्थ्यचौकीहरु स्थापना गरिएको छ । जनताको स्वास्थ्यमा पहुँच पुगेको छ । त्यसैगरी शिक्षा, रोजगारी लगायतका क्षेत्रमा पनि हामीले धेरै काम गरेका छाैं ।

 

तपाईको प्रतिक्रिया