कार्यदलको १० बुँदे सहमति एमाले केन्द्रीय कमिटीमा वितरण

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा वितरण गरिएको छ। अध्यक्ष केपी शर्मा ओली र कार्यदलको १० नेताको हस्ताक्षरसहित बैठकमा सहमतिको प्रस्ताव वितरण गरिएको हो।

अध्यक्ष ओली र कार्यदलका १० नेताको हस्ताक्षरसहितको प्रस्ताव बैठकमा वितरण गरिएको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए। सहमति पत्रमा वरिष्ठ नेता माधव नेपालले भने हस्ताक्षर गरेका छैनन्।

कार्यदलका तर्फबाट बैठकमा बोल्दै नेता सुवास नेम्वाङले सहमति कार्यान्वयनमा जोड दिएका थिए।

यसअघि केन्द्रीय कमिटीको १४ औं बैठक भनी बोलाइए पनि उक्त बैठकलाई दशौं बैठकमा परिणत गरिएको छ। माधव नेपाल समूहको मागअनुसार नै दशौं बैठकमा परिणत गरिएको बताइएको छ। नेकपा माओवादी केन्द्रसँग एकताअघि एमालेको नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो।

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त रहेका थिए।

एमालेको जारी बैठकमा कार्यदलले तयार गरेको १० बुँदे सहमतिको प्रस्ताव, सर्वोच्च अदालतको फैसला, अनुशासन विपरीत काम गर्नेसँग स्पष्टीकरणलगायतका बिषयमा छलफल भइरहेको छ। हिजोको बैठकले वरिष्ठ नेता नेपालसहित २२ सांसदलाई कारबाही गर्ने तयारीको लागि स्पष्टीकरण सोधेको थियो।

तपाईको प्रतिक्रिया