निरन्तरको मेहनतले मुखियादेखि अधिकृतसम्म

कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेतका अधिकृत हुन् लालबहादुर खत्री । २०४७ सालमा निजामति क्षेत्रमा प्रवेश गरेका उनले साढे एक दशक गाविस सचिवको जिम्मेवारी निभाए । मुखिया पदबाट निजामति क्षेत्रमा होमिएका उनी अधिकृत छैटौंसम्म पुग्न सफल भएका छन् । ३१ वर्ष निजामति क्षेत्रमा विताई सकेका उनले मालपोत कार्यालय, गाविस सचिव, यातायात कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेरसमेत सेवा गरिसकेका छन् । प्रस्तुत छ, हाल कर्णाली प्रदेश लोकसेवा आयोगमा कार्यरत उनै खत्रीको जीवन भोगाई र निजामति क्षेत्रको अनुभवमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

 


लालबहादुर खत्री
अधिकृत छैटौं, कर्णाली प्रदेश लोकसेवा आयोग, सुर्खेत

बाल्यकालमा मेलापात

बुवा स्वर्गिय जंगबहादुर र आमा झुपा खत्रीका कान्छो छोरा हुन् लालबहादुर खत्री । २०२३ साल जेठ ५ गते दैलेखको भगवतीमाई गाउँपालिका–४ तुर्सुमा उनको जन्म भएको हो । कृषक परिवार जन्मिएका उनको बाल्यकाल मेलापात गर्दै वित्यो । गाउँमै स्कूल थियो । तर परिवारमा पढाइको महत्व थाहा थिएन ।

‘म त पाँच बर्षकै उमेरमा भंैसी गोठालो जान थालेको हुँ’ उनी भन्छन्, ‘बाल्यकाल मेलापात गर्दै वित्यो, १० बर्षको हुँदासम्म स्कुल जान पाइँन ।’ विहान घाँसदाउरा र दिउँसो कहिले भैंसी गोठालो त कहिले बाख्रा गोठाले गर्दै बाल्यकाल वित्यो । बाल्यकालदेखि गर्दै आएको मेलापात २०५५ सालसम्म छुटेन ।

गोठालाबाट भागेर स्कुल पुग्दा…

लालबहादुरको घरभन्दा पाँच मिनेटको दुरीमा थियो तत्कालीन भगवति नेपाल राष्ट्रिय प्राथमिक विद्यालय । नजिकै स्कुल भए पनि १० बर्ष हुँदासम्म उनले स्कुलमा पाइला टेक्न पाएका थिएनन् ।

आफूसँगैका साथीहरु स्कुल गएको देख्दा उनलाई पनि जाऔँ–जाऔँ लाग्थ्यो । तर आमाबुवाले भैंसी गोठालो पठाइदिन्थे । एकदिन त मन थाम्नै सकेनन् । भैसी गोठालो गएका उनी त्यहीँबाट स्कुल पुगे । घरमा बुवाआमाले छोराले पढ्न गएको थाहा पाए । केही समय गाली गरे । रिसाए ।

‘तँ पनि स्कुल पढ्न जान्छस् ? बुवाले रिसको झोकमा सोधिहाले । ‘जान्छु’ सहजै उत्तर फर्काए । छोराको पढ्ने इच्छा बुझेर त्यसपछि भने बुवाले स्कुल भर्ना गरिदिए । अनि नियमित स्कुल जाने मौका पाए । ‘म भैंसी गोठाला जाँदा भागेर स्कूल पढ्न गएको थिएँ’ उनी भन्छन्, ‘स्कूल गएको थाहा पाएपछि बुवाले स्कुल भर्ना गरिदिनुभयो, त्यसपछि नियमति पढ्न गएँ ।’

१० बर्षको उमेरपछि उनले कखरा सिक्न थालेका हुन् । २०३३ सालदेखि तत्कालीन भगवति नेपाल राष्ट्रिय प्राथमिक विद्यालय (हालको मावि) बाट उनले कखरा चिने । कक्षा ३ सम्मको पढाइ सोही स्कूलबाट पुरा गरे । कक्षा ३ देखि ७ सम्म तत्कालीन कालिका (निमावि) डौरीमन्धरमा पढे । त्यसपछिको पढाइ जाजरकोटबाट पुरा गरे ।

जनप्रिय माध्यमिक विद्यालय दसेरामा कक्षा ८ देखि एसएलसीसम्मको पढे । कक्षा ८ देखि उनी दैलेख सदरमुकाम पुगेर पढ्न चाहन्थे । तर साथीभाइहरु दशेरा पुगेपछि उनी पनि उत्तै लागे । ३०४३ सालमा जाजरकोटको खलंगा सेन्टरबाट एसएलसी परीक्षा उत्तिर्ण गरे । भेरी ज्ञानोदय क्याम्पस जाजरकोटबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका उनले त्यसपछि भने पढ्ने अवसर पाएनन् । जागिर, घरपरिवार जिम्मेवारीले घेरिए । पारिवारिक जिम्मेवारी र व्यवस्तता बढेपछि माथिल्लो तहसम्म पढ्न पाएनन् ।

त्यो पाँचसय तलव

एसएलसी पुरा भएपछि लालबहादुरले गाउँ फर्किए । गाउँमा पुगेर पाँचसय रुपैयाँको जागिर सुरु गरे । आफू पढेकै स्कुलमा शिक्षक भए । एक बर्षपछि तलव बढेर ६ सय ७५ रुपैयाँ पुग्यो । भगवति नेरा प्राविमा उनीले करिव तीन बर्ष शिक्षण गरे । शिक्षकबाट विदा हुँदा तलव नौसय रुपैयाँ पुगेको थियो ।

तर स्थायी रोजगारीका निजामति क्षेत्रमा आए । निजामतिमा क्षेत्रमा आउने उनलाई भाइ (मामाको छोरा खड्कबहादुर थापा) ले धेरै सहयोग गरे । लोकसेवा आयोगको फर्म भर्नेदेखि तयारीका लागि कितावसमेत पठाउने काम गरे । ‘शिक्षण पेशा राम्रो नै लाग्थ्यो, तर स्थायी रोजगारीको लागि निजामति क्षेत्रमा आएँ’ उनी भन्छन्, ‘यो क्षेत्रमा आउन भाईले खुब सहयोग ग¥यो, उसले लोकसेवाको फर्म लगाउने र किताव पठाइदिने गरिदिन्थ्योे ।’

भाइकै सहयोग र प्रेरणाका कारण निजामति क्षेत्रमा आउन सफल भएको उनको भनाइ छ । २०४७ सालमा शिक्षण पेशा छोडेका उनी निजामित क्षेत्रमा आएका हुन् । पढाइमा सानैदेखि अब्बल उनलाई निजामति क्षेत्रमा आउन धेरै संघर्ष गर्नु परेन । करिव साढे दुई महिनाको तयारीपछि निजामति क्षेत्रमा सफल भए ।

मुखियादेखि अधिकृतसम्म

लालबहादुरले निजामति क्षेत्रमा अनुसाशित कर्मचारीको परिचय बनाएका छन् । मुखिया हुँदै अधिकृत छैटौं तहसम्म पुग्दा उनले अप्रिय क्षण भोग्नु परेको छैन । २०४७ साल साउन २१ गतेदेखि निजामति क्षेत्रमा प्रवेश गरेका उनले ३१ बर्ष लामो अनुभव बटुली सकेका छन् ।

मालमोत कार्यालय जाजरकोटबाट उनले निजामतिको जागिर सुरु गरेका हुन् । सुरुको दिन उनका लागि निकै उत्साहपूर्ण थियो । ‘पहिलो दिन दर्ता चलानी फाँटमा खटिएको थिएँ’ उनी भन्छन्, ‘जागिरको पहिलो दिन निकै उत्साहपूर्ण थियो ।’ करिव तीन बर्षपछि २०५१ सालमा मालपोत कार्यालय बर्दिया सरुवा भए ।

२०५३ सालमा मालपोत कार्यालय सुर्खेतमा फर्किए । त्यसपछि स्तरबृद्धि नायव सुब्बा भए । २०५७ साल असोज ६ गतेदेखि दैलेखको जगनाथ गाविसको सचिव जिम्मेवारी लिए । जगनाथमा झण्डै चार विताए । २०६१ कात्र्तिक १ गतेदेखि ६७ मंसिर १ गतेसम्म सुर्खेतको दहचौर गाविसको सचिव भएर ।

०७१ मंसिर ३० गतेसम्म सुर्खेतकै कुनाथरी गाविसको सचिव भए । २०७१ पौष १ गतेदेखि ०७२ सम्म यातायात व्यवस्था कार्यालय भेरी नेपालगञ्जमा पुगेर सेवा गरे । करिव पाँच महिनापछि २०७२ बैशाख १ गतेदेखि २०७५ जेठ २४ गतेसम्म तत्कालीन क्षेत्रिय प्रशासन कार्यालयमा फर्किए । संघीयताको कार्यान्वयसँगै तत्कालीन क्षेत्रीय प्रशासनमा मुख्यमन्त्री कार्यालयमा बस्यो ।

त्यसपछि उनी पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमै रहेर सेवा गरे । २०७५ जेठदेखि ०७८ बैशाख ३ गतेसम्म उनी सोही कार्यालयमा रहेर सेवामा खटिए । प्रदेश लोकसेवा आयोगको गठनसँगै हालसम्म उनी प्रदेश लोकसेवा आयोगमा कार्यरत छन् ।

बुढापाकालाई सेवा गर्न पाउँदा आनन्द

लालबहादुर करिव १४ बर्ष गाविस सचिव भए । जनप्रतिनिधि नभएको अवस्थामा कर्मचारी र जनप्रतिनिधि दुबैको जिम्मेवारी निभाए । गाविस सचिव हुँदा प्रत्येक्ष रुपमा नागरिकसँग जोडिएर काम गर्ने अवसर पाए । उबेला अन्य सेवाग्राहीभन्दा बृद्धआमाबुवालाई सेवा गर्न पाउँदा उनी आफूलाई भाग्यमानी ठान्थे ।

‘गाविस सचिव हुँदा कर्मचारी मात्रै भएन्, समयले जनप्रतिनिधिको जिम्मेवारी पनि निभाउनु प¥यो’ उनी भन्छन्, ‘तेतिबेला घरघरमा पुगेर बृद्धभत्ता दिन पाउँदा आनन्द मिल्थ्यो ।’ गाविस सचिव हुँदा सरसफाइ अभियान, पूर्ण खोप तथा पूर्ण साक्षरता अभियान सञ्चालन गरेर सामाजिक रुपमान्तरणमा योगदान पु¥याएको उनको तर्क छ ।

तत्कालीन दहचौर गाविस सचिव हुँदा उनले दहचौरलाई मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पहिलो खुल्ला दिशामुक्त गाविसको रुपमा घोषणा गर्न सफल भएका थिए । कुनाथरी फर्किएपछि कुनाथरीलाई पनि सुर्खेतको १८ गाविस खुल्ला दिशामुक्त गाविस बनाए । गाविस सचिव हुँदा विकास निर्माण र सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पु¥याएको उनको तर्क छ ।

तपाईको प्रतिक्रिया