घुँयत्राे : हैन यो काँग्रेसलाई नी किन परिपरि १३ गते सरकार बनाउने बाध्यता पर्या हो के !

हैन यो काँग्रेसलाई नी किन परिपरि १३ गते सरकार बनाउने बाध्यता पर्या हो के । जल्लाई यो १३ गते पटक्कै शुभ्दैन, त्यसैलाई झन् भइनभई अदालतले नी १३ गते सरकार बनाउन अर्डर गरेछि नमान्नु पनि कसरी ? २०१५ सालाँ काँग्रेसको दुई तिहाईको सरकार हुँदा नी विपी कोईरालाले १३ ऐ गते शपथ गर्नुभाथ्यो रे । परिणामतः राजा महेन्द्रले उनको सरकार नै अपदस्त गरिदिए ।

त्यसपछिका हरेक अवस्थाँनी काँग्रेसले जानीनजानी, टेरिनटेरी १३ गते सरकार बनाउँदा कहिल्यै सरकार पूरा समय चलेन । यसकै कारणले पार्टीमा अनेकन घटना भए । तर नेताहरुको घैँटाँ घाम लागेन । १३ अंक अशुभ हो । यो दिन कुनै पनि राम्रो कामको शुरुवात गर्नु हुन्न । शुरु गरे पनि त्यो कामले पूर्णता पाउन्न भन्ने थाहा पाउँदापाउँदै पनि काँग्रेसीहरु त्यसैदिन काम गर्न रुचाउँछन र अन्ततः धोका खान्छन् ।

यो पटक देउवा प्रधानमन्त्री हुँदा त झन् सरकार लामो समय चल्छ भन्नेमा धेरै विश्वस्त छैनन् । त्यसै त सरकारले विश्वासको मत लिने प्रसस्त संख्या आँफूसित छैन । एमाले र मधेसी दलले टेको नलाएसम्म सरकार अडिने ठाउँ छैन । सरकार बनेकै भोलिपल्ट घटेका २ वटा घटना, गच्छदारको धरौटी रिहाई र अफताव आलमका कार्यकर्ताले जिल्लामा मच्चाएको आतंकले ओली प्रवृत्ति निम्तिएको भन्दै देउवा सरकारमाथि उठेको प्रश्नले पनि यो सरकार पनि त्यति गतिलरी चल्ला जस्तो देखिएन ।

प्रधानमन्त्री देउवा र उनका मन्त्री तथा सल्लाहकारले विगतको जस्तो गल्ति पटक्कै नगर्ने र जनताप्रतिको उत्तरदायित्व सम्झिएर पटक्कै निजि स्वार्थका काम नगरि भष्टाचारीलाई तह लाउँदै र विकास निर्माणको जिम्मेवारी लिएकाहरुले तोकेको समयमा जिम्मेवारीपूरा नगरे उनीहरुलाई छुट दिनुको सट्टा तत्काल कारबाही गरेर अघि बढन सके यो सरकार जनताका लागि हितकर ठहर्न सक्छ ।

आउने चुनावमा पनि जनताले यही सरकारका मान्छेलाई खोजीखोजी मत हाल्न सक्दछन् । हैन सत्तामा गएछि काँग्रेसीहरुले पनि आफ्नो पुरानोरुप देखाउँदै जाने हो भने जति पटक सरकार आए पनि र एउटै मान्छे जति पटक प्रधानमन्त्री भए पनि हुनेवाला केही छैन । सतिको श्राप परेको मुलुक नेपाल भनेर नेपाल र नेपालीको कहिल्यै उन्नति नभएझैँ यो १३ को अंकले काँग्रेसलाई कैल्यै उन्नति हुन दिनेछैन ।

त्यसैले त्योतिषीको भनाइ र साइतमा हिन्ने देउबाले अशुभ अंकका रुपमा लिइने १३ लाई अबका दिनमा सरकारले गर्ने राम्रा कामको थालनी १३ गते गर्ने छैनन् । भिरबाट खस्ने गाईलाई रामराम भन्ने हो, काँध हाल्न सकिन्न हैन र ! जयहोस् देउवाजीको ।

वेदर्षि

तपाईको प्रतिक्रिया