उज्यालो अभियान

कर्णालीमा भौगोलिक रुपमा विकट छ । तर पनि यहाँ सम्भावनाहरुको खानी छ । यहाँको प्राकृतिक स्रोत र जलस्रोतलाई मात्र सदुपयोग गर्न सकेमा कर्णालीलाई आत्मनिर्भर बनाउन सकिन्छ । तर सुनको सिरानी राखेर नुनको खोजीमा भनेजस्तै छ कर्णालीको वर्तमान अवस्था । कर्णालीमा अहिले पनि रोग, भोक र अभाव छ ।

भौतिक पूर्वाधारको विकासले गति लिन सकेको छैन । अशिक्षा र सामाजिक कुरितिहरु उस्तै छन् । तर पनि समाज रुपान्तरण गर्दै सिंगो प्रदेशलाई नै समृद्ध बनाउने सपना कर्णालीले देखेको छ । विशेषगरी देश प्रादेशिक संरचनामा गएपछि कर्णालीमा केही सपनाहरु व्यूँतिएका छन् । स्थानीय र प्रदेश सरकारले नागरिकमा आश जगाएका छन् ।

दुर्गम गाउँमा पनि भौतिक विकास र सुविधाहरुको खोजी हुन थालेको छ । कर्णालीबासीलाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने प्रयास भइरहेको छ । जलस्रोतमा धनी भए पनि यहाँको पानी खेर गइरहेको छ । तर नागरिकहरु विजुलीको अभावमा दियालो र टुक्कीकै भरमा रात विताउन बाध्य छन् । सरकारी तथ्याकं अनुसार कर्णालीमा १८ हजार मेघावाट विद्युत उत्पादन गर्ने क्षमता छ ।

तर हाल यहाँका ७३ प्रतिशत नागरिक विद्युतको पहुँचमा छैनन् । अर्थात अधिकांश नागरिक अँध्यारोमै छन् । हुनेले सोलार र वैकल्पिक उर्जा प्रयोग गरिरहेका छन् । तर आर्थिक अवस्था भएका परिवार अहिले पनि अँध्यारोमै बस्न बाध्य छन् । प्रदेशका पाँच जिल्लामा त विद्युतको केन्द्रीय लाइन पुगेकै छैन । अन्य जिल्लामा पनि सदरमुकाम बाहिरका नागरिक टुक्कीकै भरमा छन् ।

यस्तो अवस्थामा कर्णालीबासीलाई उज्यालो दिन प्रदेश सरकारले कर्णाली उज्यालो कार्यक्रम संचालन गरेको छ । साथै स्थानीय तहहरुले पनि विद्युतीकरणलाई प्राथमिकता दिएका छन् । सरकारले लगानी गर्न थालेपछि दुर्गम गाउँहरु पनि उज्याला हुन थालेका छन् । त्यतिमात्र होइन, बर्षौंदेखि अलपत्र परेका आयोजनाहरु पनि संचालनमा आउन थालेका छन् । यसले गाउँमा पुन उज्यालो किरण छाउन लागेको छ । उज्यालोसँगै दुर्गम बस्तीहरु आर्थिक उपार्जनमा जुटेका छन् । विकास र समृद्धिका अन्य ढोकाहरु पनि खुलेका छन् ।

विकास निरन्तर चल्ने प्रक्रिया हो । तर नागरिकको चाहना पनि विकास चाँडै उपभोग गर्न पाइयोस् भन्ने हुन्छ । यसकारण पनि कर्णालीलाई अँध्यारोमुक्त बनाउने यो भने प्रदेश सर स्थानीय सरकारले संयुक्त रुपमा काम गर्नु पर्दछ । सँगै लगानी गरेर आयोजनाहरु संचालन हुने वातावरण निर्माण गर्नु पर्दछ । यहाँको अपार जलस्रोतको उपभोग गर्दै विद्युत उत्पादन गर्नका लागि निजी क्षेत्र र विदेशी लगानी पनि आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने हुन्छ ।

यसले कर्णालीमा जलविद्युत उतपादनमा लगानी बढ्नेछ । विद्युत उतपादन भएको खण्डमा यहाँका नागरिकको जीवनस्तरमा सुधार आउनुका साथै विद्युत निर्यात गरेर प्रदेशलाई नै आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकिनेछ । यसकारण प्रदेश सरकार र स्थानीय सरकारले अन्य विकासका पूर्वाधारसँगै यहाँ जलविद्युतमा लगानी बढाउनु आवश्यक छ । यसो भएमा मात्र कर्णालीलाई उज्यालो बनाउने अभियान सफल हुनेछ ।

तपाईको प्रतिक्रिया