‘विद्यार्थी राजनीति गर्दागर्दै निजामतिमा नाम निस्कियो’

सुर्खेतको लेकवेशी नगरपालिकाका सूचना अधिकारी एवम् जिन्सी शाखाको प्रमुखमा कार्यरत छन् केशरबहादुर डांगी । कर्मचारी भए पनि उनले जनप्रतिनिधिको भूमिमा पनि निभाउने मौका पाए । २०७४ अघि मुलुकको राजनीतिक परिस्थितिका कारण लामो समयसम्म स्थानीय तहमा जनप्रतिनिधि चुनिएनन् । झण्डै २० बर्ष स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा कर्मचारीले नै जनप्रतिनिधिको भूमिका निर्वाह गरे । २०४८ सालमा निजामति क्षेत्रमा प्रवशे गरेका डांगीले पनि जनप्रतिनिधिको भूमिका निर्वाह गर्न पाए । गाविस सचिवको रुपमा कार्यरत हुँदा खुल्ला दिशामुक्त क्षेत्र, पूर्णखोपयुक्त तथा पूर्णसरसफाइ जस्ता समाज रुपान्तरणको अभियानहरुको नेतृत्व गरे । प्रस्तुत छ, उनै डांगीको निजामति क्षेत्रको अनुभव र जीवन भोगाइमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश :

 

केशरबहादुर डांगी
सुचना अधिकारी, लेकवेशी नगरपालिका, सुर्खेत

पढाइभन्दा मेलापात प्यारो

केशरबहादुर डांगी किसान परिवारमा जन्मिए । घासँदाउरा र मेलापात गर्दै बाल्यकाल विताए । २०२७ साल असार मंसिर ३ गते बुवा जयबहादुर र आमा पवित्रादेवीको कोखबाट सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भालुखोलामा उनको जन्म भएको हो ।

‘ऊबेला पढाइको महत्व थाहा नै थिएन, स्कुल समयबाहेक खेतीपातीमै व्यवस्थ हुन्थेँ’ उनी भन्छन्, ‘कृषकको छोरा भएर होला त्योबेला खेतीपाती नै प्यारो लाग्थ्यो ।’ पढाइको महत्व बुझे पनि राम्रा विद्यालयमा गएर पढ्नसक्ने अवस्था थिएन ।

जेठो छोरा भएका कारण बाआमालाई सघाउनु उनको मुख्य जिम्मेवारी थियोे । ‘खेतीपाती लगाउने बेला त स्कुल जाने फुर्सद पनि हुन्थेन’ उनी भन्छन्, ‘ऊबेला त किसानको छोरालाइ पढाइभन्दा मेलापात नै प्यारो थियो ।’

सानैमा स्कुल जाँदा…

२०३४ सालतिर सानैमा बालबालिकालाई विद्यालय पठाउने चलन थिएन । गाउँघरको अप्ठेरो बाटोका कारण ठूलो भएपछि मात्रै अभिभावकले छोराछोरीलाई स्कुल पठाउँथे । अधिकांशले ८/१० बर्ष भएपछि मात्रै पढाइ सुरु गर्थे ।

तर केशर भने सानै उमेरमा पढ्न पाए । गाउँकै स्कुलबाट कखरा चिने । तर सानो भएकै कारण साथीभाईबाट हेपिनु प¥यो । कक्षाका साथीभन्दा सानो भएका कारण भलिबल, फुटबल जस्ता प्रतियोगितामा भाग लिन पाएनन् ।

‘म त कक्षामा सबैभन्दा सानो थिएँ’ उनी सुनाउँछन्, ‘त फुच्चेले के बल खेल्छस् भन्थे, सानो भएकै कारण खेलकुद्मा भाग लिन पाउँथिन ।’ सानो भएकै कारण कहिलेकाँही सँगैका साथीहरुले पनि हेप्ने गर्थे । तर पढाइमा अब्बल भएका कारण बादविवाद र हाँजिरी जवाफ प्रतियोगितामा भने सहभागी हुन पाउँथे ।

जागिरले पढाइ छुट्यो

केशरले गाउँकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालयबाट कखरा चिने । त्यहाँबाट कक्षा ३ सम्मको पढाइ पुरा गरे । जनसेवा माध्यमिक विद्यालय सहारेमा कक्षा ४ देखि १० सम्मको पढाइ सके ।


२०४५ सालमा एसएलसी उत्र्तीणपछि तत्काली वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट उच्च शिक्षा सुरु गरे । अध्ययनका हिसावले शिक्षा क्याम्पस (सुर्खेत) बाट स्नातकसम्मको मात्रै अध्ययन पुरा गरेका छन् । जागिरका कारण उनले स्नातकोत्तर गर्न पाएनन् । ‘इन्टर पढ्दापढ्दै जागिर खानुप¥यो’ उनी भन्छन्, ‘जागिरका कारण माथिल्लो तहसम्म पढ्न सकिएन ।’

ख्यालख्यालमै जागिर

वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा पढ्दा केशर विद्यार्थी राजनीति गर्थे । उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन पाँचौंको जिल्ला सचिव र क्याम्पस इकाइ कमिटीको अध्यक्ष थिए । राजनीति गरे पनि उनी पढाइमा अब्बल थिए ।

माध्यमिक तहसम्म कहिले प्रथम, दोस्रो र तेस्रो हुन्थे । त्यही पढाइले उनलाई निजामति क्षेत्रमा प्रवेश गरायो । ‘जागिर खानुपर्छ भनेर तयारी त गरेकै थिइँन’ उनी भन्छन्, ‘कस्तो हुँदो रैछ भनेर परीक्षा दिएको, ख्याल–ख्यालमै नाम निस्कियो ।’ वीरेन्द्रनगरमा बसेर उच्च शिक्षासँगै राजनीति सिक्ने उनको रहर थियो । तर स्थायी जागिरमा पास भएपछि राजनीति छोडेर जागिर गर्न दैलेख पुगे ।

२०४८ साल मंसिर २८ गतेदेखि औपचारिक रुपममा निजामति क्षेत्रमा प्रवेश गरे । करिव पाँच बर्ष जिल्ला सिंचाइ कार्यालय दैलेखमा प्राविधिक सहायक पदमा रहेर सेवा गरे । २०५३ साल माघ २३ गतेदेखि जिल्ला विकास समिति दैलेखमा रहेर गाविस सचिवको रुपमा भूमिका निर्वाह गरे । २०६४ सालमा नायव सुम्बा पदमा बडुवा भए । सुर्खेत झरेपछि तत्कालीन हरिहरपुर, सहारे, पाम्का, लेखफर्सा, दहचौर, धारापानी लगायतका गाविसमा गाविस सचिव भएर सेवा गरे ।

उबेला स्थानीय निकायहरु जनप्रतिनिधिबिहीन थिए । जसका कारण उनले कर्मचारीले भएर पनि जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने मौका पाए । गाविस सचिव हुँदा खुल्ला दिशामुक्त क्षेत्र, पूर्ण खोप युक्त तथा पूर्ण सरसफाई जस्ता समाज रुपान्तरणको अभियानहरु सुरु चलाए ।

संघीयताको कार्यान्वयनसँगै २०७४ सालमा उनी अधिकृतमा बढुवा भएका छन् । हालः लेकवेशी नगरपालिका सूचना अधिकारी एवम् जिन्सी शाखा प्रमुख छन् । जुन पदमा रहेर काम गरे पनि समाज सेवालाई नै उनी आफ्नो धर्म ठान्छन् । ‘कर्मचारी पेशा त त जीउने आधार हो’ उनी भन्छन्, ‘जुन क्षेत्रमा रहेर पनि समाज सेवा गर्नु मेरो धर्म हो ।’

समाज सेवाकै लागि विद्यार्थी कालमा राजनीतिमा लागेको उनको तर्क छ । निजामति कर्मचारी हुँदा पनि पेशागत हकहितका पक्षमा उभिए । नेपाल निजामति कर्मचारी संगठन जिल्ला समिति सुर्खेतका अध्यक्षसमेत भइसकेका उनी हाल पेशागत महासंघ सुर्खेतका अध्यक्ष पनि हुन् ।

तलब बुझेर दिल्ली घुम्न गए

२०४८ सालमा कर्मचारी हुँदा केशरको तलव एक हजार एकसय मात्रै थियो । उबेला त्यही तलव पनि निकै ठूलो मानिन्थ्यो । अहिलेको जस्तो बजार महंगी थिएन । अध्ययन-भ्रमणमा रुचि राख्ने केशर पहिलो तलव बुझेर भारतको नयाँ दिल्ली घुम्न गए । ‘दिल्ली ठूलो शहर छ भन्ने सुनेको थिएँ, कस्तो होला भन्ने कौतुहलता जागिरहन्थ्यो’ उनी भन्छन्, ‘कौतुहलता मेटाउन जागिरको पहिलो तलव बुझेर दिल्ली घुम्न गएको थिएँ ।’

सानैमा उनले दल्ली ठूला शहर छ भन्ने सुनेका थिए । रोजीरोटीका लागि भारत जाने साथीभाई दिल्ली शहरको निकै चर्चा गर्थे । तर घुम्नलािई पैसा थिएन । यही कारण जागिरको पहिलो तलव बुझेर उनी दिल्ली घुम्न गएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार