अन्तर्वार्ता

विहेपछि मात्र दुई जनाबिच बोलचाल

विहे गर्नलाई आपसमा प्रेम हुनुपर्छ भन्ने छैन । अर्थात लामो प्रेम सम्बन्धमा रहेर मात्र विहे हुन्छ भन्ने छैन । कतिपय सम्बन्धहरु यस्ता हुन्छन्, जहाँ चिनजान र बोलचाल नभएरै विहे हुन्छन् । परिवारको सहमति र आर्शिवाद पाउँदा विहेपछि पनि माया र प्रेम गहिरो हुन्छ । यस्ता धेरै जोडी छन्, जसले विहेपछि मात्र बोलचाल र मायाको कथा सुरु गरेका छन् । यस्तै मध्येको एक जोडी हो, ईश्वर श्रेष्ठ र सुनिता श्रेष्ठको जोडी । जसको बोलचाल विहेपछि मात्र भयो । प्रस्तुत छ, यो जोडिसँग गरिएको कुराकानीको सम्पादित अंश :

दिदीमार्फत चिनजान

ईश्वर श्रेष्ठ र सुनिता श्रेष्ठ एकअर्कामा अपरिचित थिए । ईश्वर सुर्खेतका र सुनिता दैलेखकी । उनीहरु बिचमा कुनै चिनजान नै थिएन । सुनिताको गाउँमा ईश्वरको दिदीको बिवाह भएको थियो । अनि दिदीको सासुले सुनिता र ईश्वरको बिवाह गराउन चाहान्थिन् । यो कुरा उनले ईश्वरको घरमा पनि भनेकी थिइन् । यही माध्यममार्फत चिनजानको प्रारम्भ भयो ।

अनि चल्यो विहेको कुरा

दुबै जनाले एकअर्काको बारेमा अरुमार्फत सुनेका मात्र थिए । प्रत्यक्ष देखेका भने थिएनन् । ईश्वरको दिदीले सुर्खेत आएर आफ्नो गाउँमा केटी भएको र उनै सुनितासँग बिवाह गराइदिने प्रस्ताव राखिन् । ईश्वरको माईला भाईले बिवाह गरिसकेका थिए । त्यही भएर पनि होला ईश्वरको बिवाह गर्न घरमा पनि हतारो थियो ।

अनि बिवाहको प्रस्ताव लिएर ईश्वरको घरबाट सुनिताको घरमा जाने निधो भयो । सुनिता उनको ठुली आमासँग बस्थिन् । ईश्वरको लागि बिवाह गरिदिने प्रस्ताव सुनिताको घरमा लिएपछि सुनिताको घर परिवारले पनि स्वीकार गरे । बिवाह गरिदिने पक्का भयो । माग्ने काम भयो ।

मगनी भएको एक हप्तामा बिहे

मगनी भएर बिवाह गर्ने पक्का भएको एक हप्तापछि नै यो जोडी २०५९ साल भदौ ३ गते बिवाह बन्धनमा बाँधियो । घरपरिवारले नै बिवाह गरिदिएका यो जोडीको देखादेख भएपनि कुराकानी एकपटक पनि भएको थिएन । बिवाह गर्दा ईश्वर २४ बर्षका थिए भने सुनिता १६ बर्षकी थिइन् ।

ठुलीआमाको घरमा हुर्केकी सुनितालाई बिवाह गरेर आउँदा केही अफ्ठेरो लागेको थियो । उनी उमेरले पनि परिपक्क भइनसकेकी केटी थिइन् । घरमा जिम्मेवार भएर आउँदा उनलाई केही नरमाईलो अनुभव भइरहेको थियो । तर उनलाई घरपरिवारका सबै सदस्यले माया गर्न थालेपछि उनी विस्तारै घुलमिल हुन थालिन् ।

घरको काम गर्न पनि सिकिन् । विस्तारै उनी बानी पर्न थालिन् । शुरुमा आफुले केही थाहा नपाएको तर सबैको सहयोग पाएपछि आफु बानि परेको उनी अहिले सम्झिदै भन्छिन् ।

बिहेपछि मात्रै माया

यो जोडीको बिवाहपछि मात्र बोलचाल भएको हो । बिवाह भएको दुई दिनपछि बिहानको चिया ईश्वरले बनाए । अनि उनले चिया लिएर सुनितालाई दिए । त्यहीबेला यो जोडीको पहिलो कराकानी सुरु भयो । ईश्वरले सुनितालाई शुरुमा बोलाएका हुन् ।

उनले भने, चिया लेउ । सुनिताले हातमा चिया लिदै भनिन, ‘चिया म बनाउने थिएँ, हजुरले आफै किन दुख गर्नुभयो ?’ ईश्वरलाई त्यतीबेला बल्ल आफ्नो जीवनसाथी भएको अनुभूति भयो । विस्तारै उनीहरु एकअर्कामा घुलमिल र परिचित हुँदै गए । ईश्वरले सुनितालाई धेरै माया गर्न थाले । सुनितालाई घरपरिवारले पनि धेरै माया गर्थे । र सहयोगसँगै धेरै कुरा सिकाउँथे । उनीहरु हरेक काममा सहयोगी भएर काम गर्न थाले ।

संघर्षले सफलता

घरपरिवारमा अन्य कुनै अभाव नभए पनि उनीहरु दुवैजना कुनै सरकारी जागिरमा थिएनन् । ईश्वरले प्राइभेट सेक्टरमा काम गर्थे । उनले धेरै दुख र मेहेनत गर्थे । सुनिता पनि जुनसुकै काममा पनि मेहेनत गर्थिन् । दुबैजना घरको कामसँगै बाहिरको काम पनि सहकार्यमा मेहेनतका साथ गर्दथे ।

उनीहरुको छोराहरु पनि जन्मिए । छोराहरुको स्याहार सुसार, घरको अन्य जिम्मेवारी धेरै उनीहरुको काँधमा थियो । घरको जेठो छोरा भएर पनि होला धेरै जिम्मेवारी लिनु परेको । उनीहरु संघर्षमै रमाउँदै गए । सबै समस्यालाई समाधान गर्दै गए । ईश्वर सुभेच्छा सहमिल उद्योगमा काम गर्न थाले । त्यसपछि उनीहरुको जीवन सहज बन्दै गयो ।

अहिले ईश्वर त्यही उद्योगमा कार्यरत छन् । उनि त्यहाँको म्यानेजमेन्टको पाटोलाई समाल्ने गर्छन् । सुनिता घरको सबै जिम्मेवारी समाहालेकी छन् । उनीहरु लामो संघर्षपछि अहिले सन्तुष्ट छन् । छोराहरुलाई राम्रो विद्यालयमा पढाएका छन् ।

कस्तो थियो बाल्यकाल ?

बुवा सिन्धुराज श्रेष्ठ र आमा कृष्णदेवी श्रेष्ठको कोखबाट विस २०३५ साल असार २१ गते बाँकेको नेपालगञ्जमा ईश्वरको जन्म भयो । उनको बाल्यकाल भने सुर्खेतमा वित्यो । उनी घरको जेठो छोरा हुन् । उनका दुई दिदी र तीन भाइहरु छन् । उनले सानो कक्षा शिव मावि लाटिकाइलीमा पढेका हुन् ।

सानैदेखि मेहनती र उनको बाल्यकाल साथीहरुसँग खेल्दै, घरमा आमा बुवालाई सघाउदै वित्यो । गम्भिर स्वभावका उनी सबै काम गर्न जानेका थिए । उनले जनमावि सुर्खेतबाट २०५२ सालमा एसएलसी पास गरेका हुन् ।

यस्तै बुवा प्रेमबहादुर गुरुङ्ख र आमा ज्ञानु श्रेष्ठ गुरुङ्खको कोखबाट २०४३ मंसिर १२ गते दैलेखको नारायण नगरपालिकामा सुनिताको जन्म भएको हो । उनको बाल्यकाल पनि दैलेखमै वित्यो । उनि पनि मेहेनती र गम्भिर स्वभावकी थिइन् । उनले सानो कक्षा पनि दैलेखमै पढेकी हुन् । उनका ६ भाइबहिनी रहेका छन् । सबैलाई सहयोग गर्ने उनलाई गाउँमा सबैले माया गर्थे ।

सल्लाह र सहकार्य

यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । र काम बाँडफाड गरेर अगाडी बढाउने गर्दछन् । उनीहरुको योजना जहिले पनि समझदारीमा हुने गर्दछन् । सानो कुराहरु पनि उनीहरुको बिचमा सल्लाह र सहकार्यमा काम गर्छन् ।

सँगै घुम्न जानु उनीहरुका रुचिको विषय हो । घरको काम पनि बाँडफाड गरेर गर्ने गरेका उनिहरु सफल जोडी हुन् । सम्बन्ध टिकाइ रहन एकअर्कामा विश्वासको वातावरण हुनुपर्ने उनीहरुको भनाइ छ । शंका उपशंका गर्दा सम्बन्धमा खटपट हुने उनीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया