राष्ट्रसेवक

जन्मभूमीमै सेवा गर्न उनी दुर्गममै फर्किए

भौगोलिक विकटता र सेवा सुविधाको अभावका कारण दुर्गम क्षेत्र कर्मचारीको रोजाईमा पर्दैन । विकासले बामे सर्दै गरेको कर्णालीका अधिकांश क्षेत्रमा सहज स्वास्थ्य उपचार, यातायात र सञ्चार जस्ता आधारभूत आवश्यकताहरु पुगेका छैनन् । यही भौगोलिक विकटता र सेवा सुविधाको अभावका कारण दुर्गम बस्तीमा कर्मचारी जान रुचाउँदैनन् । दुर्गममा हुर्केका कतिपय कर्मचारी पनि दुर्गम क्षेत्रमा सेवा गर्न रुचाउँदैनन् । सुविधा र उज्जवल भविष्य खोज्दै शहरी क्षेत्रमै बस्छन् । तर जाजरकोटको जुजीचाँदे गाउँपालिका–६ मयकका दिपककुमार शाहीले भने जन्मभूमिलाई नै कार्यथलो बनाएका छन् । प्रस्तुत छ, हाल जुनीचाँदे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालदै आएका उनै शाहीको जीवन भोगाइ र निजामति क्षेत्रको अनुभवमा केन्द्रित रहेर गरिएकाे कुराकानीको सम्पादित अंश :

दिपककुमार शाही
प्रमुख प्रशासकीय अधिकृत, जुनीचाँदे गाउँपालिका जाजरकोट

सुखद् बाल्यकाल

दिपक बुवा पहलमान र आमा विष्णुदेवी शाहीका कान्छा छोरा हुन् । २०३९ साल बैशाख १५ गते जाजरकोटको जुनीचाँदे–६ मैकमा उनको जन्म भएको हो । दुर्गम बस्तीमा जन्मिए पनि बाल्यकाल भने सुखद् छ । मध्यम परिवारमा हुर्किएका उनले अभावहरु झेल्नु परेन । ‘दुर्गममा हुर्किए, तर कहिले पनि अभावहरु भोग्नु परेन’ उनी सुनाउँछन््, ‘सानैदेखि बुवाआमाले सबै आवश्यकता पुरा गरिदिनु हुन्थ्यो ।’

सानोछँदा मेलापात गरे पनि दुःख कष्ट वेहोर्नु नपरेको उनको तर्क छ । पेशाले उनका बुवा शिक्षक थिए । यहीकारण दिपकले कहिल्यै पनि आर्थिक अभाव झल्नु परेन । ‘बुवा शिक्षक र आमाले खेतिपाति धान्नु हुन्थ्यो’ उनी भन्छन्, ‘घाउँदाउरा र खेतिपाति त गर्नै पथ्र्यो, तर दुःखकष्ट थिएन ।’

पढाइमा असफल भएनन्

दिपकले गाउँकै स्कुलबाट कखरा सिके । तत्कालीन भानुभक्त हिमालय प्राथमिक विद्यालयबाट कक्षा ५ सम्मको पढाइ पुरा गरे । शिवपुरी माध्यमिक विद्यालय गर्खाकोटबाट कक्षा ६ देखि १० सम्म अध्ययन गरे ।

२०५५ साल एसएलसी उत्तिर्ण गरेका उनले सुर्खेत क्याम्पस (शिक्षा) बाट प्रविणता प्रमाणपत्र तह, सानोठिमी क्याम्पस भक्तपुरबाट स्नातक र त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस किर्तिपुरबाट स्नातकोत्तर तह पुरा गरे । पढाइमा उनी मध्यम विद्यार्थी हुन् । तर असफल भने कहिल्यै भएनन् । बुवा शिक्षक भएका कारण पनि परिवारले पढाइको महत्व बुझेका थिए । सानेदेखि घरमा पढ्ने वातावरण थियो । अप्ठेराहरु बुवाले समाधान गरिदिन्थे ।

जग बलियो भएकै कारण दिपकले पढाइमा कहिल्यै पनि असफलता भोग्नु परेन । गाउँकै विद्यालयबाट कखरा सिकेका उनले अंग्रेजी विषयमा स्नातकोत्तर गरे । कुनै समय अंग्रेजी विषयको माग निकै राम्रो थियो । सामुदायिक वा बोर्डिङ स्कुल दुबैमा अंग्रेजी शिक्षकको माग थियो । यहीकारण दिपकले शिक्षा संकायमा अंग्रेजी विषय लिएर अध्ययन गरेका हुन् । पढाइका अलवा उनले भलिबल र ब्याटमेन्टिन जस्ता अतिरिक्त क्रियाकलमा रुचि राख्थे ।

यसरी आए निजामतिमा

दिपक राम्रो शिक्षक बनेर समाजको सेवा गर्न चाहन्थे । दुर्गम बसेर विद्यार्थीहरुलाई पढाउन रुचि राख्थे । करिव ६ बर्ष शिक्षण पेशा पनि गरे । नलगाड नगरपालिकाको भानुभक्त माध्यमिक विद्यालय लहँमा २०६२ सालदेखि ०६८ सालसम्म अध्यापन गरे । शिक्षण पेशाबाट आम्दानी राम्रो हुन्थ्यो ।

विद्यार्थी र अभिभावकले गर्ने मानसम्मानको कमी थिएन । तर स्थायी जागिरको ग्यारेन्टी थिएन । स्थायित्वको लागि शिक्षक सेवा आयोगको तयारी गरे । गाउँमै पढाउँदै आयोगको तयारी गरे । दुइ पटकसम्म असफल भए । तर हिम्मत हारेनन् । निरन्तरको मेहनतले सफलता हात प¥यो ।

अन्ततः २०६८ सालमा निजामति क्षेत्रमा जोडिए । जुन समय जीवनको सबैभन्दा खुशीको क्षण थियो । लाेक सेवा आयोगमा सफल भएपछि जिल्ला शिक्षा कार्यालय जाजरकोट उनको पहिलो कर्मथलो बन्यो । स्थायी रोजगारीका लागि प्राविधिक सहायकबाट निजामति क्षेत्रमा प्रवेश गरेका उनले २०७५ सालमा विद्यालय निरीक्षकमा सफल भए । हाल उनी जुनिचाँदे गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् ।

अनि आफ्नै गाउँ बन्यो कर्मथलो

दिपकमा सानैदेखि आफ्नो जन्मूमिप्रति अथाह मोह थियो । ठूलो भएपछि गाउँको सेवा गर्नुपर्छ मान्यता राख्थे । समय र परिस्थितिले उनले सोचे जस्तो थिएन । रोजगारीका सिलसिलामा धेरै समय गाउँभन्दा बाहिर बसे । कर्मचारी समायोजन हुँदा अधिकांश कर्मचारीले दुर्गम क्षेत्रमा जान चाहेनन् ।

सेवा सुविधाको खोजीमा सबै कर्मचारी शहरी बस्न रुचाउँथे । तर दिपक भने संघीयताले दिएको त्यही अवसरलाई प्रयोग गर्दै गाउँमा फर्किए । ‘गाउँपालिकामा कार्यकारी नबस्दा सधै अभाव हुन्यो, दुर्गम भनेर प्राय कर्मचारी बस्नै चाहदैनन्’ उनी भन्छन्, ‘म त जन्मभूमिको सेवा गर्नकै लागि रोजेरै गाउँमा आएको हुँ ।’ समयले साथ दिएसम्म जुनीचाँदेमा बसेर गाउँको विकास निर्माणलाई सहयोग गर्ने उनको योजना छ ।

तपाईको प्रतिक्रिया