एउटै संस्थामा काम गर्दागर्दै माया बस्यो

प्रेम गर्छु भनेर हुने होइन । यो त मन र भावना मिलेपछि हुने हो । व्यक्तिका आनीबानी र व्यवहारका कारण पनि मानिसहरु एक आपसमा आकर्षित हुन्छन् । त्यसमा पनि अधिकांशको जोडी सँगै काम गर्दा, एउटै अफिसमा जागिरे हुँदा र भेटघाटले नै जुर्ने गर्दछ । सामाजिक संस्थामा काम गर्दैगर्दा सुर्खेतका टेकराज आचार्य र दैलेखकी मिना थापाको चिनजान भयो । काम गर्दै जाँदा एकले अर्कोलाई मन पराउन थाले । प्रेम गहिरो बन्दै गएपछि विहे नै गरे । प्रस्तुत छ, यो जोडिसँग गरिएको कुराकानीको सम्पादित अंश :

संस्थामा काम गर्दा चिनजान

टेकराज आचार्य र मिना थापा एउटै क्षेत्रमा काम गर्थे । गैरसरकारी संस्थामा काम गर्ने उनीहरुको जागिरकै शिलशिलामा चिनजान भयो । सँगै फिल्डमा जाने, एकअर्कामा सिकाइ आदानप्रदान गर्थे ।

उनीहरु एकअर्कामा साथीको रुपमा व्यवहार गर्थे । टेकराज काम गर्नकै लागि दैलेख गएका थिए । कुराकानी भए पनि धेरै भावनात्मक कुरा भने हुदैन्थ्यो । २०६५ साल बैशाख १ गते नयाँ बर्षको दिनमा टेकराजले घरमा आउने विदा पाएनन् ।

संस्थामा सँगै काम गर्ने साथी भएकाले पनि मिनाले टेकराजलाई आफ्नै घरमा बोलाइन् । टेकराज मिनाको घरमा गए । उनको घरमा पुग्दा टेकराजलाई प्रेमको भाव झल्किरहेको थियो । त्यसदिन खाना खाएर उनी त्यहाँबाट फर्किए ।

मनमनै मन पराउँथे

करिब एक वर्ष सामाजिक संस्थामा सँगै काम गरेका उनीहरुबिचमा एक अर्काको बानी व्यवहार जान्ने र बुझ्ने मौका राम्रोसँग मिल्यो । टेकराजले मिनाका हरेक व्यवहारलाई नजिकबाट नियाल्न थाले । उनका सबै व्यवहार राम्रो मान्थे ।

दुबैले जागिरको काममा सघाउँथे । मिनालाई टेकराजले मन पराएका थिए । तर भन्न सकेका थिएनन् । मिनाले पनि टेकराजलाई साह्रै माया गर्थिन् । तर दुबै जनाले मनको कुराम मनमै राखेका थिए । एकदिन सँगै फिल्डमा निस्कने क्रममा टेकराजले सोचेका थिए, आज त मन पराएको कुरा व्यक्त गर्छु भनेर ।

मिनालाई बिवाहको प्रस्ताव गरे । उनले सहजै स्वीकार गरिन् । अनि उनीहरुबिचमा प्रेम सम्बन्ध गहिरो हुँदै गयो । उनीहरुले आफ्नो परिवारमा पनि आफुहरुको सम्बन्धको बारेमा भनि सकेका थिए । घरपरिवारले पनि स्वीकार गरिसकेका थिए । त्यहीक्रममा उनीहरु बिवाह गर्ने निर्णयमा पुगे । उनीहरुले २०६६ साल असोज ९ गते प्रेमबिवाह गरे ।

संघर्षमा सन्तुष्ट

उनीहरु दुवैजना एउटै संस्थामा संलग्न थिए । दैलेखको नयाँबजारमा डेराको बसाइ थियो । दुबै जना जागिरे थिए । टेकराजले अर्काे संस्थामा काम गर्ने अवसर पाएपछि सुर्खेत आउनुपर्यो । भर्खर बिवाह गरेका उनीहरु छुट्एिर बस्नुपर्ने भयो ।

उनीहरुको पहिलो सन्तान छोरी हिमानीको जन्मभयो । फेरी दैलेखमै गएर टेकराजले जागिर सुरु गरे । घरपरिवारको जिम्मेवारी थाम्नुपर्ने एकातिर थियो, छोराछोरीको हेरबिचार गर्नुपर्ने अर्कोतिर । संस्थाको जागिरका क्रममा धेरै टाढाको गाउँमा जानुपथ्र्यो ।


साना छोराछोरीलाई एक्लै छोडेर । उनीहरुले धेरै संघर्ष र मेहेनत गरे । बिबाह भएको करिब १२ बर्ष भयो । जीवनमा आईपर्ने सबैखाले सुख दुखलाई सँगै सामना गरेका उनीहरु अहिले सन्तुष्ट छन् । संघर्ष र मेहेनतले नै जीवनलाई सार्थक बनाउन सकिने उनिहरुको बुझाइ छ ।

कस्तो थियो बाल्यकाल ?

बुवा नवराज आचार्य र आमा कृष्णदेवी अचार्यको कोखबाट विस २०४१ असार २० गते सुर्खेतको रामघाटमा जन्मिएका टेकराजको बाल्यकाल सामान्य नै वित्यो । उनी घरको जेठो छोरा हुन् । उनको बुवा बाहिर कमाउन जान्थे ।

घरको काम गरेर उनी विद्यालयमा पढ्न जान्थे । उनी मिलनसार थिए । गाउँमा उनलाई असाध्यै अध्ययनशिल र मेहनती भनेर भन्ने गर्थे । गम्भिर स्वभावका उनी सबै काम गर्न जानेका थिए । टेकराजले माध्यमिक तहसम्म शिक्षा शिखर मावि रामघाटमा पढे । स्नातकोत्तर शिक्षा क्याम्पसबाट २०७२ मा गरे ।

यता बुवा कुलबहादुर थापा र आमा सोमदेवी थापाको कोखबाट २०४५ माघ २६ गते दैलेखको नारायण नगरपालिकामा मिनाको जन्म भएको हो । उनको बाल्यकाल भने दाङ, बाँके बर्दिया र जाजरकोटमा वित्यो । उनको बुवा प्रहरीमा जागिरे थिए ।

घरको एउटा मात्र छोरी भएकाले सवैको माया पाएकी उनको स्वभाव बाल्यकालदेखी नै लगनशिल, मिलनसार र सिर्जनशिल थिइन् । उनले २०४६ सालमा एसएलसी पास गरेकी हुन् भने उच्च शिक्षा शिक्षा क्याम्पसबाट गरेकी छन् ।

सल्लाह र सहकार्य

यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । र काम बाँडफाड गरेर अगाडी बढाउने गर्दछन् ।

उनीहरुको योजना जहिले पनि समझदारीमा हुने गर्दछन् ।  सानो सानो कुराहरु जस्तै कुन कपडा लगाउने, के पकाउने, अफिसियल काममा कसले कसलाई सहयोग गर्ने, छोराछोरीलाई कसरी समय दिने, लगायत फिल्डबाट आउदा मनपर्ने खानेकुरा बनाउने र शारिरीक तथा मानसिक रुपमा भएका अस्वस्थतालाई कसरी समाधान गर्ने कुरामासमेत योजना बनाई साथ दिनेसम्मको सहकार्य गर्छन् ।

ठुलो निर्णय गर्दा दुबै जनाले व्यापक छलफल गर्छन् । धेरैजसो समयमा खाना बनाउनसमेत सहकार्यमै गर्छन् । सँगै घुम्न जानु उनीहरुका लागि दैनिकी जस्तै हो । धेरै जस्तो बिहानको खाना टेकराजले पकाउछन् । नयाँ ठाउँमा घुम्न पनि जान्छन् ।

टेकराजलाई मिनाको सहयोगी र सिर्जनशिल बानी मनपर्छ । मिनालाई सबैको कुरा सुन्ने, सबै एकल निर्णय नगर्ने तथा सकेसम्म सबैलाई सहयोग गर्न मरिमेट्ने टेकराजको बानी मनपर्छ । सम्बन्ध टिकाइ रहन एकअर्कामा विश्वासको वातावरण हुनुपर्ने उनीहरुको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार