अन्तर्वार्ता

स्कुल पढ्दा जोडिएको पिरती

विद्यालयमा पढ्दा धेरै साथी हुन्छन् । तर विस्तारै उच्च शिक्षासम्म पुग्दा धेरै साथीहरु छुट्छन् । अधिकांशको प्रेममा पर्ने र आकर्षित हुने उमेर पनि विद्यालय तहमा पढ्दै गर्दा हो । एकले अर्कोलाई जानेर वा नजानेर प्रेम गर्दछन् धेरैले । विद्यालय तहमा पढ्दै गर्दा मन पराउनेहरुले प्रेम प्रस्ताव पनि गर्छन् । एकअर्काको बनेर जीउने कसम पनि खान्छन् । पढ्दापढ्दै गरिएको प्रेमलाई धेरैले विहेमा रुपान्तरण गर्दछन् । साथीबाट जीवन साथी बन्न पुग्दछन् । यस्तै मध्ये क्तबहादुर बस्नेत र अमृता विसीको जोडी पनि एक हो । जसले आफ्नो विद्यालयमा पढ्दै गर्दाको प्रेमलाई विहेमा रुपान्तरण गरे । प्रस्तुत छ, यो जोडिसँग गरिएको कुराकानीको सम्पादित अंश :

विद्यालयमा पढ्दा चिनजान

भक्तबहादुर बस्नेत र अमृता विसीको चिनजान सानैदेखि थियो । उनीहरु ८ कक्षादेखि सँगै पढेका हुन् । २०४२ सालमा आदर्श मावि मेहेली सुर्खेतमा उनीहरु सँगै पढेका हुन् । उनीहरु एक अर्कमा परिचित नै थिए ।

उनीहरु एकअर्कामा साथीको रुपमा व्यवहार गर्थे ।  दुबै जनाले विद्यालयमा सिकेका कुरा घरमा फर्किदै गर्दा आदानप्रदान गर्थे । विद्यालय जाँदा र आउँदा उनीहरु सँगै हिँड्थे । त्यही क्रममा भक्तले अमृतालाई मन पराइसकेका थिए । उनी अमृताप्रति आकर्षित थिए ।

उनले प्रेम प्रस्ताव राख्न धेरै प्रयास गरे । तर अमृताले त्यो प्रस्ताव अस्विकार गर्छिन् की भनेर उनले प्रस्ताव राख्न सकेका थिएनन् । उतिबेला अहिलेको जस्तो टेलिफोन सुविधा पनि थिएन । अनि भक्तले एकदिन प्रेमपत्र लेखे । उनले पनि त्यो प्रस्तावलाई सहजै स्वीकार गरिन् ।

रुखको छहारीमा बिहेको प्रस्ताव

एकदिन विद्यालय समय सकिएर घर फर्कदै गर्दा उनीहरु रुखको छहारीमा बसे । त्यही छहारीमा बसेको बेला भक्तले बिवाहको प्रस्ताव राखे । अमृताले बिवाह गर्न राजी भएको तर भविश्यलाई राम्रो बनाउने आधार तय गरेर मात्र बिवाह गर्ने भनिन् । दुबै जना बिवाह गर्ने सहमतीमा पुगे । बिवाहको सहमतिपछि उनीहरुले विद्यालयमा एक अर्कालाई निगरानी गर्न थाले । पढाइलाई पनि एकअर्काले चासो दिन थाले ।

दुबै जना बिवाह अगाडी नै जागिरे भइसकेका थिए । जागिरे भएका उनीहरुले आफ्नो घरमा पनि बिवाह गर्न सहमत भइसकेको बताए । घरपरिवारले पनि उनीहरुको प्रस्तावलाई सहजै स्वीकार गरेका थिए । बिवाह गर्ने सहमती भएको दुई बर्षपछि २०५० बैशाख २ गते बिवाह गरे ।

बिवाह गर्दा भक्तको उमेर २३ बर्ष थियो भने अमृताको उमेर २४ बर्ष थियो । त्यतीबेला नै परिपक्क उमेरमा बिवाह गरेको भए पनि अमृतालाई पराई घरमा बिवाह गरेर जाँदा केही असहज महसुस त भएको थियो । तर भक्त र उनको परिवारको मायाँले उनी विस्तारै घुलमिल हुँदै गइन् ।

बिवाहपछिको संघर्ष

उनीहरु दुबै जना बिवाह अगाडी नै जागिरे भइसकेकाले आर्थिक अभाव र घर खर्चको लागि र्संघर्ष गर्नु परेन । तर जीवनमा संघर्ष भने धेरै गर्नुपर्यो । परिवार सामान्य स्थितिमा थियोे । भक्तको बुवाले कृषि कर्म गर्थे । बिवाहपछि भक्त र अमृताको काँधमा ठुलो जिम्मेवारी थियो ।

ठुलो परिवारका भक्तलाई घरको सबै जिम्मेवारी थियो । भाइबहिनीहरुलाई पढाउनुपर्ने एकातिर थियो भने छोराछोरीको स्याहारसुसारसँगै आफ्नो शिक्षण पेशा गर्नुपर्ने अर्कोतिर थियो । दबुै जना शिक्षक भएकाले घरको सबै जिम्मेवारी पुरा गरी विद्यालय पढाउन जानुपर्ने हुन्थ्यो ।

संघर्षलाई राम्रोसँग बुझेका उनीहरुले आफ्नो पढाइ, शिक्षण पेशा र घरको जिम्मेवारीलाई सँगै अगाडी बढाए । उनीहरु अहिले सन्तुष्ट छन् । भक्त मालिका मावि गुराँस ८ को प्रधानाध्यापक छन् भने अमृता महालक्ष्मी प्रावि गुराँस ७ को प्रधानाध्यापक छन् ।

उनीहरु पढाइमा लगाव र संघर्ष नगरेको भए अहिले यो अवस्थामा आउन नसकिने बताउछन् । उनीहरु संघर्ष गरे सफलता प्राप्त गर्न सकिने बताउँछन् । त्यसको लागि दुबै जनाको विश्वास पनि हुनुपर्ने उनीहरुको भनाइ छ ।

कस्तो थियो बाल्यकाल ?

बुवा सहविर बस्नेत र आमा कलसी बस्नेत कोखबाट २०२७ साल असोज २६ गते दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ खनारामा भक्तबहादुर जन्मिएका हुन् । उनी घरको माइलो छोरा हुन् । उनको ९ भाइबहिनी छन् ।

उनको बाल्यकाल साथीहरुसँग खेल्दै र पढ्दै वित्यो । सामान्य कृषकको परिवारमा जन्मिएका उनले बिहान साँझ घरको काम पनि गर्नुपथ्र्यो । गम्भिर स्वभावका उनले बाल्यकालमा दुखसुख दुबै गरेर विताए । उनले ३ कक्षासम्म कालिका मावि गर्चामा पढे भने ४ कक्षादेखि १० कक्षासम्म भने आदर्श मावी मेहेलीमा पढेका भक्तले २०४५ सालमा एसएलसी पास गरेका हुन् । भने उनले एमएडस सम्मको उच्च शिक्षा हासिल गरेका छन् ।

बुवा भिमबहादुर बुढा र आमा मैसरा बुढाको कोखबाट २०२६ माघ १० गते दैलेखकै गुराँस गाउँपालिका वडा नम्बर ६ को जोरेबाँझमा अमृता जन्मिएकी हुन् । चन्चले र मेहनती स्वभावका उनको बाल्यकाल पनि सामान्य नै वित्यो । साँझ बिहान घरको काम गर्दै विद्यालय जाने, साथीसँग खेल्ने लगायतका काम गरेर उनको बाल्यकाल वित्यो । उनी पनि घरको कान्छि छोरी हुन् ।

उनका पाँच भाईबहिनी छन् । कक्षा ७ सम्म उनले गाउँकै जयजनता मावीमा पढिन भने कक्षा ८ भने आदर्श मावी मेहेलीमा पढेकी उनले त्यसपछिको पढाइ भने पदमोदर पब्लिक माविमा दाङमा पढेकी हुन् । उनले २०४६ सालमा एसएलसी पास गरेकी हुन् भने उनले उच्च शिक्षा शिक्षा क्याम्पसबाट गरेकी छन् ।

सल्लाह र सहकार्य

यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । र काम बाँडफाड गरेर अगाडी बढाउने गर्दछन् । उनीहरुको योजना जहिले पनि समझदारीमा हुने गर्दछन् ।

ठुलो निर्णय गर्दा दुबै जनाले व्यापक छलफल गर्छन् धेरैजसो समयमा खाना बनाउनसमेत सहकार्यमै गर्छन् । दुबै जना शिक्षक तालिमदेखि विभिन्न ठाउँ घुम्न सँगै जान्छन् ।

नयाँ ठाउँमा घुमाउन पनि लैजान्छन् । उनीहरुबिचमा सामाजिक र राजनीतिक रुपमा बहस पनि हुने गर्दछ । उनीहरु एकअर्काको बानीलाई धेरै मन पराउँछन् । समाजमा हुने विभिन्न समस्यामा अमृताले लिने अग्रसरता भक्तलाई मनपर्छ । सरल र भद्र स्वभावका भक्तको बानी अमृतालाई मन पर्छ ।

उनीहरु जुनसुकै काम गर्दा पनि सल्लाह र साझेदारीमा गर्छन् । यसरी एकआपसमा छलफल र सल्लाहमा काम गर्दा सम्बन्ध टिक्ने उनीहरुको बुझाइ छ । यसले मायालाई बढाउन मद्दत गर्ने उनीहरु बताउँछन् । सम्बन्ध टिकाइ रहन एकअर्कामा विश्वासको वातावरण हुनुपर्ने उनीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया