अन्तर्वार्ता

जो बुवाको सिको गर्दै राजनीतिमा लागिन्

राजनीतिबारे चासो नहुने नेपाली कमै छन् । त्यसमा पनि राजनीति गर्नेहरु धेरै छन् । आज समाजका हरेक अंगमा राजनीति घुसेको छ । तर पनि राजनीति गर्नु भने सजिलो छैन । त्यसमा पनि महिलाहरुलाई झन् चुनौतीपूर्ण नै छ । घरपरिवार, आफन्त र समाजभित्र रहेका विभिन्न चुनौतीहरु छिचोल्दै महिलाहरु पछिल्लो समय राजनीतिमा आफ्नो स्थान बनाउन सफल बनेका छन् । अझ स्थानीय तहमा त महिलाहरुको सहभागिता उत्साहजनक नै छ । महिलाहरुले पनि राजनीतिमा सहभागि भएर सेवा गर्न सक्छन् भन्ने उदारण हिजोआज धेरै छन् । यस्तै एउटा उदाहरण बन्न सफल व्यक्ति हुुन् टिकाकुमारी गुरुङ्ग । उनी हाल वीरेन्द्रनगर नगरकार्यापालिकाको सदस्यको रुपमा कार्यरत छन् । आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले उनै गुरुङ्गसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

टिकाकुमारी गुरुङ्ग
कार्यपालिका सदस्य, वीरेन्द्रनगर नगरपालिका

सुखद् बाल्यकाल

बुवा जितबहादुर गुरुङ्ग र आमा ठगिसरा गुरुङ्गको कोखबाट विस २०३६ साल माघ २० गते सुर्खेतको लेकवेशी वडा नं. ६ मा टिकाकुमारी गुरुङ्गको जन्म भएको हो । मध्यम परिवारमा जन्मिएकी उनको बाल्यकाल सुखैमा वित्यो ।

सानो कक्षा गाउँमै पढेकी उनले पढाइलाई धेरै ध्यान दिन्थिन् । त्यतिबेला छोरीलाई पढाउनुहुन्न भन्ने मानिसहरुको सोच हुन्थ्यो । तर उनको बुवाले पढाउनुपर्छ भन्थे । बुवाकै जोडबल र टिकाको इच्छाले उनले पढाइलाई निरन्तरता दिन पाइन् । उनका पाँच बहिनी र चार भाई थिए ।

उनको बुवा त्यतीबेलाको गाउँको प्रधान थिए । त्यसैले पनि होला छोराछोरीहरुलाई पढाउनुपर्छ भन्ने सोच राख्थे । उनले घरको काम गरेर एक घण्टा हिँडेर स्कुलमा पढिन् । उनले २०५४ सालमा सरस्वती माविबाट एसएलसी पास गरिन् ।

ब्रेक भएको पढाइलाई निरन्तरता

२०५८ सालमा उनको बिवाह भयो । बिवाहपछि भने उनले पढाइलाई ब्रेक गर्नुपर्यो । उनको श्रीमान् भारतिय सेनामा कार्यरत थिए । घरको सबै जिम्मेवारी आएपछि उनले केही समय पढाइलाई ब्रेक गर्नुपर्यो । उनका छोराछोरी पनि जन्मिए ।

उनीहरुको स्याहार र घरको जिम्मेवारी सम्हाल्दा पढाइलाई निरन्तरता दिन नपाएकी उनको पढ्ने इच्छा भने मरेको थिएन । उनको श्रीमान्ले अब पढ्न नसकिने बताउँथे । केही समयको पढाइको ब्रेकपछि उनले श्रीमान्को सल्लाहविना प्लस टु मा नाम लेखाइन् । घरको जिम्मेवारीसँगै पढाइलाई निरन्तरता दिन थालिन् । उनले प्लस टु २०७० सालमा गरिन् ।

अनि उनले व्याचलर पनि पढ्नेगरी शिक्षा क्याम्पसमा भर्ना गरिन् । त्यतीबेलासम्म उनको श्रीमान्लाई यो कुरा थाहा थिएन । एकदिन उनको श्रीमान् छुट्टीमा आएको बेला उनले व्याचलर पढ्ने गरेका थाहा पाएपछि टिकाको पढ्ने इच्छा बुझेर पढाइमा प्रेरेरित गरे । उनले व्याचलर पनि सकिन् । उनको बिचारमा इच्छा र मेहेनत भए पढाइलाई उमेर नछेक्ने रहेछ ।

बुवाकै सिको गरिन्

उनका बुवा त्यतीबेलाको गाउँका प्रधान थिए । गाउँका हरेक समस्या समाधानको लागि उनको बुवालाई बोलाइन्थ्यो । जुनसुकै बैठक भए पनि उनको बुवाको नेतृत्वमा हुने गथ्र्यो । गाउँका सबै मानिसहरुले उनको बुवाको तारिफ गर्थे ।

यो सबै देखेर टिकालाई पनि राजनीतिबाट समाजसेवा गर्छु भन्ने लाग्न थाल्यो । राजनीतिमै लागेर पछाडी पारिएका समुदायलाई अगाडी ल्याउछु भन्ने इच्छा प्रकट भयो । उनले त्यही लक्ष्य लिएर सानैदेखि बुवाको सिको गर्थिन् । उनको परिवार गाउँका अन्य परिवारभन्दा सम्पन्न पनि थियो । उनलाई विपन्नवर्ग र महिलाहरुको अवस्था देखेर सुधार गर्नुपर्छ भन्ने सोच बनाइन् । अनि अगाडी बढिन् ।

अनि राजनीतिमा प्रवेश

टिका विभिन्न समितिहरुमा गएर नागरिकहरुको हकहितको लागि काम गर्न थालिन् । विद्यालय व्यवस्थापन समितिबाट शुरु भएको उनको समाजसेवाको यात्रा सुर्खेत उपत्यका खानेपानी समितिको मुल समितिको सदस्य हुँदै वडा नागरिक मञ्चको दुई पटक संयोजक भइन् ।

यसले उनलाई अझै निखारता ल्याउन सहज भयो । उनले समाजका हरेक समस्याहरुलाई समाधान गर्न विभिन्न निकायहरुसँग समन्वय गर्ने, नागरिकका समस्या समाधानका लागि अग्रस हुने लगायतका कार्य गर्दै आइन् । २०७४ सालमा स्थानीय निर्वाचनको घोषणा भयो । गाउँको नेतृत्व गर्नेहरु मात्र नभएर गाउँका अन्य स्थानीयले पनि निर्वाचनमा लड्नुपर्ने भन्दै अगाडी सारे ।

स्थानीय निर्वाचनमा वीरेन्द्रनगर वडा नम्बर ४ को महिला सदस्यमा भारी मतले निर्वाचित भएकी उनलाई वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिका सदस्यमासमेत निर्वाचित गरियो । उनी अहिले नगरपालिकाको कार्यपालिका सदस्य भएर पछाडी पारिएका महिला, दलित जनजाती र विपन्न परिवारको हकहितको लागि विभिन्न योजना निर्माणमासमेत सक्रिय सहभागी हुने गरेकी छन् ।

जीवनमा संघर्ष

माइतीमा हुँदा त्यती दुख नगरेकी टिकाले आर्थिक समस्या भोग्नु नपरे पनि अन्य काममा भने धेरै संघर्ष गर्नुपर्यो । उनका श्रीमान् भारतिय सेनामा कार्यरत भएका कारण उनले घरको आर्थिक समस्या त भोग्नु परेन । तर घरको जिम्मेवारी भने सबै पुरा गर्नुपर्ने उनको काँधमा थियो ।

एकातिर छोराछोरीको स्याहार सुसार गर्नुपर्ने, अर्कोतिर पढाईलाई निरन्तरता दिनुपर्ने थियो । सामाजिक क्षेत्रमा पनि उनी सक्रिय भएर लागेकी थिइन् । सानोमा दुखको केही अनुभुती नभए पनि धेरै संघर्ष गरिन् । तर संघर्षबाट उनि कहिले पछाडी हटिनन् । जीवनमा संघर्षमय नबनाए सफल हुन नसकिने उनको भनाइ छ । अहिले उनी सन्तुष्ट छन् ।

आगामी योजना

उनको भावी योजना भनेको समाजसेवा गर्ने नै हो । अझै पनि समाजमा विभेदको अवस्था कायमै छ । उनीहरुलाई माथी उठाउन लाग्ने उनको योजना छ । सम्पन्न सम्पनमै बाचिरहेका छन भने विपन्नको अवस्था कहिले सुधार नहुने किन हो ?

यसको समाधानमा उनि अगाडी बढ्न चाहन्छिन् । राजनीतिक चेतना नहुँदा महिलाहरु पछाडी रहेको उनको बुझाई छ । महिलाहरुलाई चेतनशिल बनाएर समानतामुलक समाजको परिकल्पना उनको छ । यो सामाजिक व्यवहारमा लागु गर्ने उनको भावी योजना छ ।

तपाईको प्रतिक्रिया